जेठ २३, काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली संकलन गर्न लागेको हो ।
आयोगले मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने पनि बताएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाइने छ । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले बताएको छ । संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावाली संकलन गर्न लागेको हो ।
आयोगले निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानूनी व्यवस्था भएकाले असार १ गतेदेखि नै नामावली संकलन गर्न लागेको हो । स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए ।
आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो साता निर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ सम्म मात्रै हुने आयोगले बताएको छ । प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर २१ मा पहिलो चरणको निर्वाचन भएको थियो ।