जीवन बीमा पोलिसीका ग्राहकले पाउँदै आएको बोनस लगानीको सामान्य सिद्धान्त विपरीत रहेको देखिन्छ । फरक फरक अवधिको पोलिसीमा पनि बीमितले प्रायः समान बोनस पाउने गरेका छन् । सामान्यतया लामो समयको लगानीमा जोखीम धेरै ग्रहण गर्नुपर्ने भएकाले लगानीकर्ताले पाउने प्रतिफलको दर पनि स्वाभाविक रूपमा बढी हुनुपर्छ । बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई पनि यस कुरामा सहमत छन् । सिद्धान्ततः अहिले जीवन बीमामा चलेका बोनसको आधार गलत भएको केसी र भट्टराई स्वीकार्छन् ।
बोनस निर्धारणका सम्बन्धमा बीमा ऐनमा पनि स्पष्ट व्यवस्था छैन । त्यसैले कम्पनीले आफ्नो हिसाबले बोनस निर्धारण गर्दै आउनुमा नियामक निकाय बीमा समितिको नीति नै कमजोर देखिन्छ ।
समितिले नै केका आधारमा बोनस निर्धारण गर्ने भन्ने स्पष्ट प्रावधान राख्नुपर्ने नेपाल लाइफका भट्टराईको धारणा छ ।
अहिले प्रायः नेपाली जीवन बीमा कम्पनीले दिइरहेका फ्ल्याट बोनस लामो समयको पोलिसी खरिद गर्ने ग्राहकका लागि अन्याय भएको नाम उल्लेख नगर्ने शर्तमा एक बीमा कम्पनीका उच्च अधिकारी बताउँछन् । यसरी लामो अवधिको पोलिसीबाट आउने पैसा सित्तैमा लगाउन पाएजत्तिकै हुने भएकाले बीमा अवधिको आधारमा बोनस निर्धारण गर्नेतर्फ कम्पनीहरूले ध्यान नदिएको उनको आरोप छ ।
संसारबा प्रायः सबै मुलुकमा पोलिसीको म्याच्युरिटीका आधार बीममा बोनस निर्धारण हुने गरेको छ । छिमेकी मुलुक भारतमै पनि यो अन्तर्राष्ट्रिय मान्यताका आधारमा बोनस दर निर्धारण गर्ने गरिएको छ ।
वर्ष ५, अंक ४५, २०६७, असार २६– साउन २