काठमाडौं । आरविवि म्युचुअल फण्ड (RBB Mutual Fund)अन्तर्गत सञ्चालन हुने आरविवि म्युचुअल फण्ड २ को इकाई आजदेखि विक्रीमा आएको छ । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ ।
प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रूपमा विक्री गर्न लागिएको हो ।
यो इकाई निष्कासन बन्द छिटोमा वैशाख २१ गतेसम्म हुनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख ३१ गतेसम्म लम्बिनेछ । न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधानहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ ।
योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्ष अवधिपश्चात् योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । यो इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पूरा गर्नेछ ।