काठमाडौं । सानिमा बैंकले ‘सानिमा दीर्घायु तलब बचत खाता’अन्तर्गत रू. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला भुमिका आलेको दुर्घटनामा मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रू. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । बैंकको कुमारीपाटी शाखाका प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेको बताइएको छ ।
बैंकले दीर्घायु बचत तलब खाताअन्तर्गत रू. १० लाखको दुर्घटना बीमा, रू. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रू. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको रू. ५० हजारसम्मको औषधि उपचार बीमा, रू. ५० हजारको आवधिक जीवन बीमा र रू. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ ।