चितवन (अस) । यसअघि स्मार्ट कार्ड लाइसेन्स नवीकरण गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय चितवनले पेपरकार्ड लाइसेन्स नवीकरण सेवा सुरु गरेको छ ।
कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा कार्यालय प्रमुख विनोद पौडेलले स्मार्टकार्ड लाइसेन्स नवीकरण प्रभावकारी भएकाले पेपरकार्ड लाइसेन्स नवीकरण सेवा सुरु गरिएको बताए ।
उनका अनुसार सेवाग्राहीले अनलाइन सेवामार्फत ई–टोकन प्रणालीअनुसार सेवाको समय निश्चित गर्न सक्नेछन् । सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्य र भीडभाड नहोस् भन्ने उद्देश्यले अनलाइनमार्फत सम्पूर्ण सेवा सुरु गरिने उनको भनाइ छ । कार्यालयमा नवीकरण गर्ने सेवाग्राहीको लाइसेन्स सम्बन्धित प्रदेशको या स्थायी बसोबास बागमती प्रदेश वा सम्बन्धित जिल्लाको हुनुपर्नेछ ।
यसका लागि ई–टोकन लिइसकेपछि ईटोकन नम्बरको क्यूआर कोड, सक्कल र फोटोकपीसहितको चालक अनुमतिपत्र, सक्कल नागरिकता र प्रतिलिपि नागरिकता चाहिनेछ । नागरिकताको ठेगाना र चालक अनुमतिपत्र बागमती प्रदेशबाट जारी नभए बसाइँसराइको प्रमाणपत्रको साथ नवीकरण गर्न सकिने पौडेलले बताए ।