लघुवित्त क्षेत्रमा बहुबैंकिङको नियन्त्रण

बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोतजस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरूको विश्लेषणपश्चात् कर्जाको सदुपयोग सुनिश्चित हुनेगरी धितोको सही मूल्यांकन गरी धितोले खामेसम्मको कर्जा प्रदान गर्छन् । लघुवित्त संस्थाले सेवाग्राहीलाई विनाधितो सामूहिक जमानीमा कर्जा प्रदान गर्ने भएकाले एक वा त्योभन्दा बढी लघुवित्त संस्थाबाट तोकिएको सीमाभित्र रहेर कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ । यसरी एक वा त्योभन्दा बढी लघुवित्त संस्थाबाट तोकिएको सीमाभन्दा बढी कर्जाको करार गर्ने प्रक्रियालाई बहुबैंकिङ भनिन्छ । पछिल्लो समय लघुवित्त क्षेत्रमा सदस्यलाई प्रदान गरेको कर्जाको साँवा/ब्याज भुक्तानी तालिकाअनुसार असुली हुन नसक्दा लघुवित्त संस्थामा खराब कर्जाको अंश र खराब ऋणीको संख्या बढ्दै गएको छ । वित्तीय मध्यस्थताको कार्य गर्ने लघुवित्त संस्थामा यस्तो अवस्था बढ्दै गयो भने वित्तीय कारोबार सहज तवरले सञ्चालन हुन सक्दैन । यसरी खराब कर्जाको अंश र खराब ऋणीको संख्या बढ्दै जानुमा यस क्षेत्रमा बढ्दै गएको बहुबैंकिङ कारोबारले ठूलो भूमिका खेलेको पाइन्छ । त्यसैले बहुबैंकिङ कारोबारलाई समयमा नै नियन्त्रण गर्न सकिएन भने लघुवित्त संस्था जोखिममा पर्नसक्ने र सदस्य ऋणग्रस्त हुँदै जाने अवस्था सृजना हुन सक्छ । बहुबैंकिङ कारोबारलाई नियन्त्रण गर्न नियामक, लघुवित्त संस्था र सेवाग्राही सबैले आआफ्ना तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले २०७५ सालमा लघुवित्त संस्थाले प्रदान गरेको कर्जाको प्रभावकारिता सम्बन्धमा गरेको अध्ययनले लघुवित्त संस्थाले प्रदान गर्ने कर्जाको आकार सानो भएकाले ऋणी सदस्यलाई व्यवसाय सञ्चालन गर्न रकम अपुग भई ऋणी सदस्यले एकभन्दा बढी लघुवित्त संस्थासँग कर्जा लिन बाध्य भएको निष्कर्ष निकाल्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत एकभन्दा बढी लघुवित्त संस्थाले तोकिएको सीमाभित्र रहेर कर्जा प्रदान गर्न पाउने र यसरी प्रदान गरिएको कर्जालाई बहुबैंकिङको परिभाषाभित्र नसमेटिने गरी साविकको नीतिगत व्यवस्थालाई परिवर्तन गर्‍यो । यसरी नियामकीय निकायबाट बहुबैंकिङको परिभाषालाई फराकिलो पारेर कर्जाको सीमा वृद्धि गर्दा पनि बहुबैंकिङ कारोबारमा भने नियन्त्रण हुनुको सट्टा वृद्धि भएको देखिन्छ । एउटै ऋणीले २० ओटा लघुवित्त संस्थाबाट सीमाभन्दा बढी कर्जा लिएको पाइएको छ । लघुवित्त संस्थाले सेवाग्राहीलाई कर्जा प्रदान गर्नुपूर्व कर्जाको सही विश्लेषण गर्नुपर्छ । कर्जा सूचना केन्द्रबाट कर्जा माग गर्ने सदस्यको कर्जा सूचना संकलन गरी निजले अन्य लघुवित्त संस्थाबाट तोकिएको सीमाभन्दा बढी कर्जा लिए/नलिएको यकीन गरेर तोकिएको सीमा ननाघ्ने गरी कर्जा प्रदान गर्नुपर्छ । त्यसैगरी कर्जा माग गर्ने सदस्यको घरदैलो र परियोजनास्थल गई परिवारका सदस्य तथा छिमेकीलाई भेटी सदस्यको बानीबेहोरा, आर्थिक अनुशासन, अन्य लघुवित्त संस्थाबाट कर्जा लिए/नलिएकोलगायत विषयमा जानकारी लिनुपर्छ । संस्थामा आबद्ध भएका सदस्यलाई वित्तीय साक्षरतासम्बन्धी तालिमको माध्यमबाट आफ्नो आवश्यकता र क्षमताभन्दा बढी कर्जा नलिने र कर्जाको पूर्णरूपले सदुपयोग गरी निर्धारित समयमा कर्जाको साँवाब्याज भुक्तानी गर्नेलगायत आधारभूत तहको वित्तीय ज्ञान प्रदान गर्नुपर्छ । मुलुकमा वित्तीय पहुँचको माध्यमबाट लक्षित वर्गलाई स्वरोजगार बनाई गरीबी निवारण गर्ने उद्देश्यले लघुवित्त संस्थाको अवधारणालाई मुलुकले अवलम्बन गरेपश्चात् छोटो समयमा सयभन्दा बढी लघुवित्त संस्थाले इजजातपत्र प्राप्त गरे । छोटो समयमा भएको संख्यात्मक वृद्धिले लघुवित्त संस्थाहरूबीच बढ्दै गएको अस्वस्थ्य प्रतिस्पर्धा र आक्रामक रूपमा शाखा विस्तार गरेका कारण एउटै भौगोलिक क्षेत्रमा धेरै लघुवित्त संस्थाको उपस्थिति भयो र एउटै ऋणीलाई धेरै लघुवित्त संस्थाले सीमाभन्दा बढी कर्जा सहजै प्रदान गर्न थाले । त्यसैगरी बढी नाफा कमाउने होडबाजीसँगै संस्थाले कर्मचारीलाई कर्जाको लक्ष्य तोक्ने प्रवृत्ति बढ्दै गयो । फलस्वरूप लघुवित्तको मर्म र उद्देश्य तथा नीतिगत व्यवस्थाको अनुपालनालाई बेवास्ता गर्दै कर्जा विस्तार गर्ने क्रम बढ्यो । त्यसैले नियामकले आगामी दिनमा साना धेरै लघुवित्त संस्थालाई मर्जर/प्राप्ति गरी थोरै सबल लघुवित्त संस्थाको धेरै शाखामार्फत लघुवित्त सेवा प्रवाह गर्ने र प्रभावकारी नियमन गर्ने व्यवस्था गर्नुपर्छ । त्यसैगरी सेवाग्राहीले आफ्नो क्षमता र आवश्यकता अनुसार तोकिएको सीमासम्मको कर्जा लिई सो कर्जाको सदुपयोग गरी निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ । वित्तीय संस्थामा कर्जा लिने र दिने दुवै पक्ष इमानदार र जिम्मेवार हुनुपर्छ । यसका लागि दुवै पक्षले नीतिगत व्यवस्थाको पूर्ण पालना गर्नुपर्छ । लघुवित्त संस्थाले आफ्ना ऋणी सदस्यलाई यस्ता नीतिगत व्यवस्थाको जानकारी गराउनुपर्छ । यी दुई पक्षमध्ये कुनै एक पक्षले नीतिगत व्यवस्थाको पालना नगरेमा सिँगै वित्तीय क्षेत्रमा नै समस्या उत्पन्न हुन्छ । कर्जासम्बन्धी यस्ता विषय हाम्रो व्यक्तिगत जीवनमा समेत लागू हुने गर्छ । दैनिक जीविकोपार्जनका लागि अनौपचारिक क्षेत्रबाट लिइएका कर्जा पनि निर्धारित समय र शर्तमा चुक्ता गर्नुपर्छ र यसो गर्न सकिएन भने खराब ऋणीमा परिणत हुनुपर्ने र शर्तानुसार कारबाहीको दायरामा आउनुपर्ने विषय सर्वसाधारण सबैलाई जानकारी भएकै हो । त्यसैले सदस्यले क्षमता र आवश्यकताभन्दा बढी कर्जा लिई कर्जाको सदुपयोग नगर्ने र समयमा कर्जाको साँवाब्याज चुक्ता गर्न नसकेपछि लघुवित्त संस्थाले जबरजस्ती कर्जा दिएकाले कर्जा तिर्न नसकेको भन्ने कुरामा विश्वास गर्ने आधार देखिँदैन । अत: लघुवित्त क्षेत्रमा पछिल्लो समय बढ्दै गएको बहुबैंकिङ कारोबार र त्यसका कारण उत्पन्न खराब कर्जा र खराब ऋणीको तथ्यांक बढ्दै जानुमा नियामक, लघुवित्त वित्तीय संस्था र ग्राहक सदस्य सबै पक्ष जिम्मेवार हुन नसकेको देखिन्छ ।   बैंक तथा वित्तीय संस्थाहरू सर्वसाधारण जनताको पैसाले चल्ने संस्था भएकाले यी संस्थाबाट कर्जा लिई समयमा नै कर्जाको साँवाब्याज भुक्तानी नगर्नु जनताको पैसामाथि नै खेलबाड गर्नु हो । त्यसैले लघुवित्त क्षेत्रमा बढ्दै गएको बहुबैंकिङ कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्नका लागि यस क्षेत्रका तिनै तह जिम्मेवार भएर अघि बढ्नुपर्ने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार हुन् ।

सम्बन्धित सामग्री

लघुवित्त क्षेत्रमा आगामी मौद्रिक नीतिका अपेक्षा

लघुवित्तीय सेवा अब अभियानमुखी छैन । तर, अझै पनि कतिपयले यसलाई अभियानमुखी अवधारणाबाटै परिचालन गर्नुपर्छ भन्ने मानसिकता बोकेका छन् । उसैगरी, कतिपयले यो सरकारको गरीबी निवारणको कार्यक्रम हो, त्यसैले यसबाट लिएको कर्जा तिर्नु पर्दैन, मिनाहा हुन्छ भन्दै विगत वर्षदेखि नै लघुवित्तीय सेवाप्रति समाजमा नकारात्मक भावना र भ्रामक प्रचार गर्दै हिँडेका पनि छन् । कर्जा नतिर्ने भन्दै लघुवित्त पीडित संघर्ष समितिका नाममा देशव्यापी सडक आन्दोलनसमेत भइरहेको छ । यसले गर्दा यतिबेला लघुवित्तीय संस्थाहरूको एनपीए लेभल खस्कन थालेको छ । विनाधितो लगानी गर्ने संस्थाहरूका लागि यो गम्भीर चिन्ताको विषय हो ।  बितेको ३ दशकमा विपन्न वर्गमा सेवा विस्तार, वित्तीय पहुँच, बैंकिङ चेतनाको विकास, लघुकर्जा लगानी तथा लघुबचत संकलन, प्रत्यक्ष तथा परोक्ष रोजगारी, लघुवित्तीय क्षेत्रमा जनशक्ति विकास, महिला सशक्तीकरण, सामाजिक तथा जनस्वास्थ चेतनामा आएको विकास र निजीक्षेत्रको पूँजी परिचालनलगायत पूँजी बजारमा देखिएको यसप्रतिको आकर्षण आदि समग्र पक्षलाई हेर्दा भने लघुवित्तीय क्षेत्रमा उल्लेख्य प्रगति भएको मान्न सकिन्छ । तथापि, यसबाट विपन्न वर्गको सामाजिक र आर्थिक पक्षमा भएको प्रभावको वस्तुगत र बृहद् अध्ययन अनुसन्धान नभएकाले गरीबी निवारणमा लघुवित्तीय सेवा विस्तारको केकस्तो भूमिका रह्यो ? भन्नलाई हामीसित अनुसन्धानगत तथ्यको अभाव भने रहेको छ । यसले गर्दा विगत वर्षदेखि नै यस क्षेत्रमाथि हुँदै आएको अनेकौं नकारात्मक प्रहारलगायत सडक आन्दोलनदेखि ऋण नतिर्ने अभियानसमेत हुँदा र सदन तात्नेसम्मको कार्य हुँदा पनि हामीले अहिलेसम्म तथ्यगत कुराहरू प्रस्तुत गर्न सकिरहेका छैनौं । यसैले आगामी मौद्रिक नीतिले यो क्षेत्रको बृहत् अनुसन्धान गर्ने कार्यनीति ल्याउन जरुरी देखिएको छ । यस कार्यका लागि केन्द्रीय बैंक नै अगाडि आउनुपर्छ ।  मल्टिपल फाइनान्सिङ, दोहोरो तेहोरो कर्जा र एकअर्काले सदस्यहरू तानातान गर्ने प्रवृत्तिलगायत यो सेवामा आधारभूत अनुशासनकै पालना नगरिएका कारण अहिले लघुवित्तीय सेवा सबैको आलोचनाको तारो भएको हो । हाल मल्टिपल फाइनान्सिङलगायत दोहोरो तेहोरो कर्जा प्रवाहमा रोक लगाउने काम केही भएको देखिए पनि हालसम्म लगानी भइसकेको कर्जालाई कसरी असुल गर्ने भन्ने गम्भीर समस्या पनि देखिएकाले त्यसको निराकरणका लागि आगामी मौद्रिक नीतिले कुनै एक लघुवित्तीय संस्थालाई अगुवा वित्तीय संस्था बनाएर ‘फेज्डआउट’का माध्यमले पुरानो कर्जा असुली गर्ने नीति लिनुपर्छ र नयाँ कर्जा प्रवाहका लागि एक सेवाग्राही एक लघुवित्तीय संस्थाको नीतिलाई अनिवार्य गरिनुपर्छ । साथै, हाल विनाधितो कर्जाको उपल्लो सीमा ५ लाख अधिक देखिएको छ । वर्तमान अवस्थामा वित्तीय संस्थाहरू थप असुरक्षित हुँदै गएकाले यस्तो सीमालाई कम गरिनु व्यावहारिक हुने देखिएको छ । यसैले यो सीमालाई १ लाखमा सीमित गर्नु उचित हुन्छ ।  हाल लघुवित्तीय संस्थाहरूको नियमन अन्य वित्तीय संस्थाकै हाराहारीको सोचबाट अघि बढिरहेको अनुभूत भएकाले नियमनकारी निकायले यो अवधारणाबाट बाहिर निस्केर लघुवित्त क्षेत्रलाई सामाजिक बैंकिङको अवधारणाबाट नियमन गर्ने सोच ल्याउनुपर्छ । अबको मौद्रिक नीतिले लघुवित्तीय सेवालाई अभियानमुखी अवधारणाबाट बाहिर ल्याएर दिगो, भरपर्दो र विपन्नमैत्री एवम् उत्पादनमुखी लघुवित्तीय सेवामा परिणत गर्ने वातावरण बनाउनुपर्छ । करीब ६० लाख सदस्यमध्ये अझै आधाजतिले कुनै कर्जा लिएका छैनन् । तिनलाई कर्जा दिने कुराका अतिरिक्त पहिलेका सेवाग्राहीहरूलाई साना तथा मझौला परियोजनामा कर्जा विस्तार गरी उत्पादनशील प्रयोजनमा अबको लघुवित्तीय संस्थाहरूको लगानी केन्द्रित गर्ने कार्यनीति ल्याउनु जरुरी छ । अन्य प्रकारका वित्तीय संस्थाहरूलाई उद्योगमा लगानी गर्न प्रोत्साहित गर्ने रणनीति लिई लघुवित्तीय संस्थाहरूको ग्रामीण क्षेत्रसम्मको विद्यमान शाखा सञ्जाललाई दृष्टिगत गर्दा लघुउद्यमजस्ता क्षेत्रमा तिनका वर्तमान ऋणीहरूलाई प्रोत्साहित गरेर लाने नीति आउनु आवश्यक छ । यसका लागि आवश्यक पर्ने स्रोतको दिगो र स्थायी व्यवस्थापन अर्को चुनौती रहिरहेकाले अब विद्यमान विपन्न वर्ग कर्जा व्यवस्थाको दीर्घकालीन र स्थायी विकल्प खोज्नेतर्फ पनि आगामी मौद्रिक नीति अग्रसर रहनुपर्छ ।  हाल लघुवित्तीय संस्थाहरूको नियमन अन्य वित्तीय संस्थाकै हाराहारीको सोचबाट अघि बढिरहेको अनुभूत भएकाले नियमनकारी निकायले यो अवधारणाबाट बाहिर निस्केर लघुवित्त क्षेत्रलाई सामाजिक बैंकिङको अवधारणाबाट नियमन गर्ने सोच ल्याउनुपर्छ । किनभने लघुवित्तको विकल्प वाणिज्य बैंकिङ वा मीटरब्याजी कर्जा होइन, लघुवित्त नै हो । यो क्षेत्रलाई प्रतिस्पर्धी र बजार संयन्त्रबाटै नियन्त्रण हुनेगरी नियमन गरिनुपर्छ भने ब्याज दरको हालको उपल्लो सीमाको साटो स्प्रेड दरकै माध्यमबाट नियमन गरिनु उचित हुन्छ ।  लघुवित्तीय क्षेत्रका लागि आवश्यक पर्ने स्रोतको स्थायी व्यवस्थापनलगायत लघुवित्तीय सेवा गरीबी निवारणका लागि नै हो भनेर सरकारले यो क्षेत्रमा लागेकाहरूलाई सघाउने ठाउँ प्रशस्तै भए पनि सरकारबाट अहिलेसम्म पनि देखिने कुनै काम भएको छैन । जेजति भएको छ त्यो केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) बाटै भएको छ । लघुवित्तीय क्षेत्रमा भएको हालसम्मको यो उपलब्धि केन्द्रीय बैंकको सकारात्मक, प्रवर्द्धनात्मक र नियामकीय नीतिकै परिणति हो । यो क्षेत्रमा निजीक्षेत्रको उत्साहजनक लगानी भएकै कारण हाल यो क्षेत्रले वित्तीय क्षेत्रमै फड्को मारेको कुरालाई पनि बेवास्ता गर्न मिल्दैन । गरीबी निवारणका लागि निकै नै प्रभावकारी र उपलब्धिमूलक मानिएको, लघुवित्त क्षेत्रको विकल्प खोज्नेमा भन्दा पनि अहिलेसम्मको अनुभवबाट पाठ सिकेर यो क्षेत्रमा लागेका संस्थाहरूलाई कसरी सबल बनाउने भन्ने चिन्ताचाहिँ आगामी मौद्रिक नीतिको हुनुपर्छ । खासगरेर, लघुवित्तीय क्षेत्रमा हाल देखिएको कर्जा नतिर्ने एकथरीको अभियान, सदनमा यो क्षेत्र भनेकै नवसामन्तका रूपमा विकसित भइरहेको भन्ने अर्को दिग्भ्रम र लघुवित्तीय संस्थाहरू असुरक्षित हुँदै गइरहेको विद्यमानका अनेकौं परिघटनालाई चिर्न पनि केन्द्रीय बैंकको आधिकारिक धारणा आगामी मौद्रिक नीतिमार्फत आउनुपर्छ । हाल केन्द्रीय बैंकले लघुवित्तीय संस्थाहरूको उपल्लो दरको लाभांशमा नियन्त्रण गरिएको विषय कम्पनी विकासका सन्दर्भमा न्यायिक भन्न सकिँदैन । तथापि, यो कडी लघुवित्तीय संस्थाहरूप्रतिको विद्यमान आमधारणा र जनगुनासो मथ्थर गर्ने कुनै उपाय भएको भए पनि आगामी दिनमा यस्तो लाभांश कम्पनीकै पूँजी वृद्धिपट्टि लगाउने नीति अवलम्बन गरिनुचाहिँ वैज्ञानिक हुन्छ । वर्तमान सन्दर्भमा थोक कर्जाप्रदायक लघुवित्तीय संस्थाहरूको औचित्य खासै देखिएन । तिनले कर्जाको लागतमा दोहोरो लागत मात्र बढाएका छन् । हालसम्मको कारोबार हेर्दा तिनले सबै लघुवित्तीय संस्थाहरूको स्रोतको ग्यारेन्टी गर्नसक्ने संस्थाका रूपमा आफूलाई विकसित गर्न सकेको देखिएन । यसैले ती संस्थालाई अन्यसरह खुद्रा लघुवित्तीय सेवा प्रवाह गर्ने संस्थामै परिणत गर्ने वा अन्य वैकल्पिक विरेचनको सम्बोधन आवश्यक देखिन्छ ।  हालको लघुवित्तीय संस्थाहरूको संख्या अधिक नै हो । अब केन्द्रीय बैंकले थप संस्थाहरूको इजाजत दिने काम आगामी केही दशकका लागि बन्दै गर्नुपर्छ भने हाल भएका ६४ ओटा संस्थाहरूलाई ३० को संख्यामा सीमित गरी तिनलाई पूँजीगत रूपले बलियो बनाउनेगरी नीतिगत व्यवस्था गर्नुपर्छ । यसका लागि विद्यमान सरकारी नीति एफपीओलगायत बार्गेन पर्चेजका विषयमा बाधक र निराशाजनक रहेकाले केन्द्रीय बैंकले आफ्नो मर्जर नीतिलाई पनि थप स्पष्ट पार्नु जरुरी भइसकेको छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

७५ प्रतिशत ऋण दिएर १०० प्रतिशत सावाँ–ब्याज असुल्छन् लघुवित्त

५ फागुन, काठमाडौं । लघुवित्त संस्थाले आफ्नो उद्देश्यबाट विचलित भई नाफा केन्द्रित मात्रै हुँदा लघुवित्त कार्यक्रम माथि नै प्रश्न उठेको छ । छिमेकी बंगलादेशमा प्रोफेसर मोहम्मद युनुसले लघुवित्त क्षेत्रमा गरेको रूपान्तरणकारी कामका लागि नोबेल शान्ति पुरस्कार पाएका थिए । उनले लघुवित्त कार्यक्रममार्फत गरिबी निवारण गरी रोजगारी सिर्जनामा पुर्‍याएको योगदानस्वरुप उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मान गरिएको […]

बहुबैंकिङले लघुवित्त क्षेत्रमा निम्त्याएको समस्या

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको एकल ग्राहक कर्जा सीमाको अधीनमा रही लघुवित्त वित्तीय संस्थाले सदस्यलाई लघुकर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ । सीमाभन्दा बढी कर्जा प्रदान गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि एक वा त्योभन्दा बढी लघुवित्त वित्तीय संस्थाले एउटै सदस्यलाई तोकिएको सीमाभन्दा बढी कर्जा प्रदान गर्ने क्रम पछिल्लो समय बढ्दै गएको पाइन्छ । सदस्यलाई विनाधितो सामूहिक जमानीमा प्रदान गर्ने कर्जाको सीमा निर्धारण नगर्ने हो भने सदस्यले आफ्नो आवश्यकता र क्षमताभन्दा बढी कर्जा लिने र कर्जा भुक्तानी गर्न नसक्दा सदस्यहरू ऋणग्रस्त हुँदै जाने र संस्थामा खराब कर्जाको जोखिम बढ्दै जाने भएकाले यस्तो नीतिगत व्यवस्था गरिएको हो । तत्कालका लागि बहुबैंकिङ कारोबारका माध्यमबाट लघुवित्त वित्तीय संस्थाको नाफा देखाउन सकिने भए पनि दीर्घकालका लागि हितकर देखिँदैन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले सामूहिक जमानी र स्वीकारयोग्य धितो लिई सदस्यलाई प्रदान गर्नसक्ने कर्जाको छुट्टाछुट्टै सीमा कायम गरेको छ । यसका साथै, समूहमा आबद्ध भएको सदस्यलाई एउटा संस्थाबाट एकै अवधिमा समूह जमानी कर्जा र धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ । यसरी लघुवित्त वित्तीय संस्थाले एक वा एकभन्दा बढी संस्थाबाट तोकिएको सीमाभन्दा बढी लिएको कर्जालाई बहुबैंकिङअन्तर्गत राख्ने गरिन्छ । यस्तो कर्जा प्रदान गर्नुअघि संस्थाले कर्जा सूचना केन्द्रबाट कर्जा सूचना लिई बहुबैंकिङ गरे/नगरेको यकीन गरी एकल कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकले २०७५ मा संघीय संरचनामा लघुवित्त सेवाको पहुँच तथा संरचनासम्बन्धी अध्ययन गरेको थियो । त्योभन्दा अघि सदस्यले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्तिलाई बहुबैंकिङ तथा दोहोरोपनाको रूपमा परिभाषा गरिएको थियो । उक्त अध्ययनले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने सदस्यको संख्या २ तिहाइभन्दा बढी रहेको निष्कर्ष निकाल्यो । लघुवित्त वित्तीय संस्थाले सदस्यलाई प्रदान गर्ने कर्जाको अधिकतम सीमा नेपाल राष्ट्र बैंकले निर्धारण गर्ने भए पनि लघुवित्त वित्तीय संस्थाको कर्जा नीतिमा सदस्यलाई प्रदान गर्ने कर्जाको रकम न्यून हुने भएकाले एउटा मात्र संस्थाबाट लिएको कर्जाले आयमूलक व्यवसाय सञ्चालन गर्न पूँजी अपुग हुने भएकाले एकल ग्राहक कर्जा सीमासम्बन्धी विद्यमान व्यवस्था परिमार्जन गर्नुपर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुग्यो । त्यहीअनुरूप आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिले एउटा ऋणी सदस्यले एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट एकल ग्राहक कर्जा सीमासम्मको रकम कर्जा लिनसक्ने र उक्तसीमा नाघेको कर्जालाई मात्र बहुबैंकिङअन्तर्गत राख्ने नीतिगत व्यवस्था गरेकोे हो । एकल ग्राहक कर्जा सीमा नाघ्ने गरी प्रदान गरिएको कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने हुन्छ । यही व्यवस्थाअनुरूप सदस्यले आबद्ध भएको संस्थाहरूबाट नीतिगत रूपमा सीमासम्मको कर्जा प्राप्त गर्दै आएका छन् । तराई, राजमार्ग वरपर, शहरोन्मुख ग्रामीण क्षेत्रलगायत क्षेत्रमा लघुवित्त वित्तीय संस्थाको शाखा विस्तार उल्लेख्य भएको र पहाडी तथा हिमाली क्षेत्रमा तुलनात्मक रूपमा कम विस्तार भएको वर्तमान समयमा लघुवित्तीय सेवा कुल जनसंख्याको २० प्रतिशतले प्राप्त गरेको तथ्यांक सार्वजनिक हुनुले लघुवित्त वित्त वित्तीय संस्थामा बहुबैंकिङको अवस्था उल्लेख्य रहेको देखिन्छ । छोटो समयमा धेरै लघुवित्त वित्तीय संस्थाले इजाजतपत्रप्राप्त गरेसँगै संस्थाहरू नाफामा केन्द्रित भएकाले कर्मचारीलाई कर्जाको लक्ष्य तोक्ने र उक्त लक्ष्य प्राप्तितर्फ संस्था र कर्मचारी केन्द्रित हुँदा कर्जा लगानी पूर्वसदस्यको घर तथा परियोजनाको विश्लेषण गर्दै सदस्यको आर्थिक तथा सामाजिक पक्षको विस्तृत विश्लेषण गरी जोखिम न्यूनीकरण गर्ने कार्य प्रभावकारी बन्न सकेन । वित्तीय सचेतनाको अभाव र सहज तरीकाले कर्जा प्राप्त गर्न सकिने भएकाले सदस्यहरू आफ्नो ऋण वहन क्षमता र आवश्यकताभन्दा बढी कर्जा लिन लालायित हुने र लक्ष्य प्राप्तिका लागि कर्मचारीले नीतिगत व्यवस्थाको पालना नगरी अधिक कर्जा प्रवाह गर्दा सदस्यहरूमा ऋणग्रस्तता वृद्धि हुने र संस्थामा खराब कर्जाको जोखिम बढ्दै गएको देखिन्छ । सदस्यको आवश्यकता, क्षमता र एकल ग्राहक कर्जा सीमासम्बन्धी व्यवस्थाको पालना नगरी लघुवित्त वित्तीय संस्थाले बहुबैंकिङ कारोबार गरेका कारण सदस्यमा कर्जाको अधिक भार पर्न गई समयमा नै कर्जाको साँवा ब्याज असुलीमा कठिनाइ उत्पन्न हुने गरेको र कर्जा असुलीका लागि कर्जा हरितीकरण गर्ने गलत अभ्यासको शुरुआत भएको पाइन्छ । यसरी कर्जा असुलीका लागि नयाँ कर्जा सृजना गर्ने अभ्यासले ऋणी सदस्य दीर्घकालसम्म ऋणमुक्त हुन नसक्ने र संस्थामा असल कर्जाको अंश उल्लेख्य देखिए पनि वास्तविक रूपमा कर्जा असुलीको जोखिम भइरहन्छ । त्यसैले तत्कालका लागि बहुबैंकिङ कारोबारका माध्यमबाट लघुवित्त वित्तीय संस्थाको नाफा देखाउन सकिने भए पनि दीर्घकालका लागि हितकर देखिँदैन । यसले गर्दा लक्षित वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन नसक्ने भएकाले लघुवित्तीय सेवामार्फत गरीबी निवारण कार्य प्रभावकारी बन्न सक्दैन । गरीबी निवारणको सहयोगी बन्दै आएको लघुवित्त क्षेत्रले कुल जनसंख्याको २० प्रतिशतलाई समेटेको र आबद्ध भएकामध्ये ५६ प्रतिशत वा कुल जनसंख्याको ११ प्रतिशत जनतालाई लघुकर्जा प्रदान गरेको भए पनि पहाडी र हिमाली क्षेत्रमा आवश्यकतानुसार सेवा विस्तार गर्न सकेको छैन । त्यसैगरी तराई क्षेत्रमा रहेका कतिपय लक्षित वर्ग मीटरब्याजीबाट पीडित रहँदै आएका छन् । यस्तो अवस्थामा एकातिर सीमित क्षेत्रका सीमित वर्गले बहुबैंकिङको कारोबार गरिरहेका छन् भने बाँकी क्षेत्रका लक्षित वर्गले लघुवित्तीय सेवाप्राप्तिबाट पूर्ण रूपले वञ्चित रहनुपर्ने अवस्था रहेको छ । सीमित क्षेत्र र सदस्यमा बहुबैंकिङ कारोबार गर्दा तथ्यांकमा लघुकर्जाको विस्तार उल्लेख्य रूपमा भएको देखिए पनि वास्तविक रूपमा समानुपातिक तरीकाले सबै क्षेत्र र लक्षित वर्ग लाभान्वित हुन नसक्ने भएकाले लघुवित्त क्षेत्रमा बहुबैंकिङ कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्छ । यसका लागि कर्जा माग गर्ने सदस्यको कर्जासम्बन्धी सूचना लिने कार्यलाई प्रभावकारी तवरले कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ । लेखक लघुवित्त क्षेत्रसँग सम्बद्ध व्यक्ति हुन् ।

चर्को ब्याज लिने लघुवित्त संस्था विरूद्ध सेवाग्राही आन्दोलित

कैलाली । कैलालीमा लघुवित्त संस्थाले चर्को ब्याज असुलेको भन्दै सेवाग्राही आन्दोलित भएका छन् । ऋणको चर्को ब्याज तिर्न नसकेर उठिवास हुने अवस्था आएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । साेही संस्थाहरुले गरिरहेको काम कारवाहीका बारेमा नियमन निकायका साथै स्थानीय तहहरुले समेत बेवास्ता गरेकाे सेवाग्राहीकाे तर्क छ । कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रमा रहेका लघुवित्त तथा वित्तीय […]

कैलालीमा लघुवित्त संस्थाविरुद्ध ऋणीहरु आन्दोलित, चर्को ब्याज असुलेको आरोप

२२ मंसिर, धनगढी । कैलालीमा लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध ऋणीहरु आन्दोलित भएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले चर्को ब्याज असुलेर दुःख दिएको उनीहरुको आरोप छ । गौरीगंगा नगरपालिका क्षेत्रमा सक्रिय भएका लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी रुपमा १८ प्रतिशतसम्म ब्याज असुल्न थालेको ऋणीहरुको आरोप छ । नगरपालिकाका सबै वडामा हस्ताक्षर संकलन गर्दै लघुवित्त संस्थाको खारेजीको माग पनि […]

लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यअनुसार लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्ग अवधारणाअनुरुप दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गरिने भएको छ ।बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिने शुक्रबार सार्वजानिक गरिएको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा उल्लेख छ ।लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पुँजीकोष बर

लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जा

नेपाल राष्ट्र बैंकले हालसालै लघुवित्त वित्तीय संस्थाहरूको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस विवरणमा लघुवित्त वित्तीय संस्थाहरूको शेयरपूँजी, विभिन्न कोषहरू, विपन्नवर्ग सापटी, संकलित बचत, प्रवाहित कर्जा र त्यसबापतको सम्भावित नोक्सानी व्यवस्था, निष्क्रिय कर्जा, लगानी आदिलाई समेटेको छ । यस त्रैमासदेखि लघुवित्त वित्तीय संस्थाहरूको आधार दरलाई पनि प्रकाशित वित्तीय विवरणमा समेट्न शुरू गरेको छ । उपर्युक्त विवरणले लघुवित्त वित्तीय संस्थाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिन सकिने भएकाले लघुवित्त क्षेत्रसँग सरोकार राख्ने, अध्ययनकर्ता, बैंक तथा वित्तीय संस्थाहरू, लक्षित वर्ग, दोस्रो बजारमा शेयर कारोबार गर्ने वर्ग लाभान्वित हुने देखिन्छ । यस लेखमा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । भाखा नाघेको ३० दिन, ६० दिन, ९० दिन, १२० दिन, २४० दिन र ३६० दिनपछि कर्जा असुली हुने सम्भावना क्रमशः ९५ प्रतिशत, ८९ प्रतिशत, ८० प्रतिशत, ७० प्रतिशत, ५० प्रतिशत र १० वा शून्य प्रतिशत रहन्छ । लघुवित्त संस्थाको २०७८ असार मसान्तको तुलनामा पुस मसान्तमा लगानीमा रहिरहेको कर्जा १८ दशमलव ४३ प्रतिशतले वृद्धि भई रू. ३७६ अर्ब पुगेको र त्यसमध्ये रू. ११.४ अर्ब निष्क्रिय कर्जा रहेको छ । विगतको तुलनामा लघुवित्त वित्तीय संस्थामा रहेको निष्क्रिय कर्जाको अंश क्रमशः घट्दै आएको देखिन्छ । प्राप्त विवरणअनुसार लघुवित्त क्षेत्रको निष्क्रिय कर्जाको अंश २०७७ पुस, २०७८ असार र २०७८ पुस मसान्तमा क्रमशः ४ दशमलव २० प्रतिशत, २ दशमलव ९७ प्रतिशत र २ दशमलव ९४ प्रतिशत रहेको देखिन्छ । संस्थागत रूपमा हेर्ने हो भने शीघ्र सुधारात्मक कारबाहीमा परेको एउटा संस्थाबाहेक ६ ओटाको निष्क्रिय कर्जाको अंश ५ प्रतिशतभन्दा माथि र अन्यको त्योभन्दा कम रहेको देखिन्छ भने लघुवित्त क्षेत्रमा रहेको निष्क्रिय कर्जाको अंश हेर्दा न्यूनतम शून्यदेखि उच्चतम ८ दशमलव ५९ प्रतिशतसम्म रहेको देखिन्छ । सामान्यतया बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कर्जाको अंश ५ प्रतिशतभन्दा कम रहनुलाई सन्तोषजनक मान्ने गरिन्छ । कोभिडका कारण व्यापारव्यवसाय राम्रोसँग सञ्चालन हुन नसकेको, कोरोना भाइरसले मुलुक बन्दाबन्दीको अवस्थामा रहँदा अनौपचारिक क्षेत्रमा रोजगारीको अवसर अत्यन्त न्यून भएको र धेरैले रोजगारी गुमाउनुुपरेको, ग्रामीण अर्थतन्त्रको मुख्य आधार बनेको विप्रेषणको आप्रवाह घट्दै गएको, दिनप्रतिदिन बढ्दै गएको महँगीले सर्वसाधारणको दैनिकी कष्टकर हुँदै गएको लगायतका कारणले पछिल्लो समय गरिब र न्यून आय भएका वर्ग तुलनात्मक रूपमा बढी प्रभावित भएका छन् । यस प्रकारको प्रतिकूल अवस्थामा पनि लघुवित्त वित्तीय संस्थामा विगतका सामान्य अवस्थामा भन्दा कर्जा असुलीमा सुधार आई निष्क्रिय कर्जाको अंश न्यून हुँदै जानु समग्र लघुवित्त क्षेत्रको लागि सकारात्मक अवस्था हो । अर्को शब्दमा भन्नुपर्दा, लघुवित्त क्षेत्रमा रहेको निष्क्रिय कर्जासम्बन्धी उक्त तथ्यांकले लक्षित वर्गको आर्थिक अवस्थामा सुधार आएको र वित्तीय चेतनास्तरमा वृद्धि भई आफूले लिएको कर्जा समयमा नै चुक्ता गर्ने बानीको विकास भएको देखाउँछ । लघुवित्त क्षेत्रमा कर्जा असुलीका लागि नियामकीय निर्देशन र संस्था आफैले पनि नीतिगत व्यवस्था तर्जुमा गरी लागू गरिएको हुन्छ । सैद्धान्तिक रूपमा लघुवित्त क्षेत्रमा ऋणी सदस्यले कर्जाको माध्यमबाट आयमूलक व्यवसाय सञ्चालन गरी त्यसबाट आर्जित आम्दानीले कर्जाको साँवा तथा ब्याज समयमा नै भुक्तानी गर्ने गर्छन् । यसका साथै, आफू र परिवार सदस्यको ज्यालामजदूरीबाट प्राप्त आम्दानी, विप्रेषणलगायत स्रोत पनि कर्जा भुक्तानीको लागि प्रयोग भएको पाइन्छ । यति हुँदाहुँदै पनि प्रवाह गरिएको कर्जा निर्धारित समयमा असुली हुन नसकी निष्क्रिय कर्जामा परिणत हुने गर्दछ । त्यसो त लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जाको शुद्धताप्रति बेलाबेलामा प्रश्न उठ्ने गरेको पाइन्छ । लघुवित्त वित्तीय संस्थाले कर्जा असुलीका लागि सीमाभन्दा बढी कर्जा प्रदान गर्ने, एउटै ऋणी एकभन्दा बढी संस्थाहरूमा आबद्ध भई कर्जा तिर्ने प्रयोजनको लागि सीमाभन्दा बढी कर्जा उपभोग गर्ने, कर्जालाई समयावधि अघि नै नवीकरण गरिदिने, ब्याजमात्र चुक्ता गर्न मिल्ने कर्जालाई प्राथमिकता दिने, सदस्यको नियमित बचतमा जम्मा भएको मौज्दातबाट कर्जा असुली गर्ने, सदस्यले साहू महाजन, छरछिमेक तथा साथीभाइजस्ता परम्परागत स्रोतसँग सापटी लिई कर्जा चुक्ता गर्ने, अधिक ताकेता र धर्ना गरी ऋणी सदस्यको पशुपक्षी तथा अन्य सम्पत्ति बेचबिखन गरेर कर्जा असुली गर्ने, पुरानो कर्जा तिर्न नयाँ कर्जा सृजना गर्नेलगायत वैकल्पिक उपायहरू प्रयोग गर्ने गरेको विषय बेला बेलामा सार्वजनिक हुने गरेको पाइन्छ । तोकिएको समयमा कर्जा असुल हुन नसकेमा निष्क्रिय कर्जाको अंश बढ्दै जाने र वित्तीय दृष्टिकोणबाट संस्था कमजोर भई संकटमा फस्न सक्ने अवस्था आउन सक्छ । त्यसैले तोकिएको समयमा असुली गर्नसक्ने गरी कर्जा प्रवाह गर्नुलाई बुद्धिमानी कार्य मानिने भएकाले कर्जा लगानी गर्ने समयमा नै यसतर्फ ध्यान दिनुपर्ने हुन्छ । तोकिएको समयमा कर्जा असुल हुन सकेन भने असुलीका दिनहरू जति जति पछि पर्दै जान्छन् त्यतिनै कर्जा असुली हुने सम्भावना पनि न्यून हुँदै जाने अवस्था रहन्छ । यस सम्बन्धमा विश्व ऋण परिषद्का अनुसार भाखा नाघेको दिन ३० दिन, ६० दिन, ९० दिन, १२० दिन, २४० दिन र ३६० दिनपछि कर्जा असुली हुने सम्भावना क्रमशः ९५ प्रतिशत, ८९ प्रतिशत, ८० प्रतिशत, ७० प्रतिशत, ५० प्रतिशत र १० वा शून्य प्रतिशत रहन्छ भन्ने निष्कर्ष सान्दर्भिक देखिन्छ । त्यसैले भाखा नाघेको कर्जा असुली गर्न समयमा नै ताकेतापत्र, जमानी, सदस्य तथा समूह पदाधिकारीसँगको निरन्तर भेटघाट र उनीहरूको गुनासो सुन्ने लगायतका कार्यहरू गर्नु उपयुक्त हुन्छ । लघुवित्त संस्थाको मुख्य कार्य वित्तीय पहुँचको माध्यमबाट स्वरोजगारीलाई महत्त्व दिने भएकाले कर्जामा सहजता र सेवाग्राहीको पहँुचलाई सर्वसुलभ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । हैसियत र आवश्यकताभन्दा बढी प्रवाह भएको कर्जाले सदस्यको अनावश्यक खर्च गर्ने बानीको विकास गराउने र समयमा नै कर्जाको असुलीमा समस्या आई संस्थामा निष्क्रिय कर्जा वृद्धि हुन जान्छ । त्यसैले लघुवित्त क्षेत्रको दिगो र गुणस्तरीय प्रवद्र्धनका लागि कर्जा प्रदान गर्नुअघि र पछि नीतिगत व्यवस्थाको अनुपालना गर्दै निष्क्रिय कर्जा असुली गर्न अस्वस्थ्य र वैकल्पिक उपायहरू अवलम्बन गर्नेतर्फ लघुवित्त वित्तीय संस्थाहरू बेलैमा सचेत हुनुपर्ने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार हुन् ।

लघुवित्त क्षेत्रमा तरलताको प्रभाव

अहिले बजारमा देखिएको तरलताको अभावसँगै लघुवित्त वित्तीय संस्थाहरूले क, ख र ग वर्गका वित्तीय संस्थाबाट लिने विपन्न वर्ग कर्जा सापटीमा तिर्नुपर्ने ब्याज १२ प्रतिशतभन्दा माथि पुगेको छ । कोरोना विपद्मा यस्तो ब्याजदर आधारदरभन्दा कम रहेको थियो । त्यतिबेला ४ प्रतिशतसम्म ब्याज तिरेर लघुवित्त वित्तीय संस्थाले यस्तो रकम प्राप्त गरेका थिए, अस्वस्थ प्रतिस्पर्धा सिर्जना हुन सक्ने भएकाले नियामकले आधारदरभन्दा कम ब्याजदर हुनेगरी कुनै पनि प्रकारको कर्जा वितरण गर्न नपाइने परिपत्र जारी गरेको थियो । विपन्न वर्ग कर्जा सापटीमा लिइने ब्याजदरमा कुनै सीमा नभएकाले बजारमा प्रचलित ब्याजदरको आधारमा नै यसको ब्याजदर निर्धारण हुने गर्छ । ब्याजदरलाई पूँजीको माग र आपूर्तिले निर्धारण गर्छ । पूँजीको माग पक्षले कर्जा र आपूर्ति पक्षले वित्तीय स्रोतलाई बुझाउँछ । लघुवित्त वित्तीय संस्थामा वित्तीय स्रोतअन्तर्गत समूह सदस्यहरूबाट प्राप्त बचत, विपन्न वर्ग सापटीबाट प्राप्त हुने रकम र डिवेञ्चरबाट संकलित रकम पर्छन् । यस्तो रकम लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म परिचालन गर्न पाउने व्यवस्था रहेको छ । डिवेञ्चर निष्कासन गरी संकलन गरिने पूँजीलाई वित्तीय स्रोतअन्तर्गत समेटिएको भए पनि हालसम्म कुनै पनि लघुवित्त वित्तीय संस्थाले डिवेञ्चर जारी गरी रकम संकलन गरेका छैनन् । यसका साथै संस्थासँग शेयरपूँजी र विभिन्न कोषमा रहेको रकम र नाफा रकम पनि रहेको हुन्छ । प्राप्त तथ्यांकअनुसार २०७८ असोज मसान्तमा कुल वित्तीय स्रोतमा निक्षेपको अंश ३४ दशमलव २५ प्रतिशत, विपन्न वर्ग कर्जा सापटीको अंश ५६ दशमलव ६० प्रतिशत र बाँकी अन्य स्रोतको योगदान रहेको देखिन्छ । वित्तीय स्रोतअन्तर्गत विपन्न वर्ग सापटीको अंश उल्लेख्य रहेकाले यसको उपलब्धता र यसको ब्याजदर परिवर्तनले लघुवित्त वित्तीय संस्थालाई बढी प्रभाव पर्ने गर्छ । कोरोना विपद्ले उत्पन्न परिस्थितिका कारण ठप्प रहेको अर्थतन्त्रमा यसको प्रभाव कम भएसँगै आर्थिक गतिविधि बढ्न थाल्यो । यसै क्रममा मुलुकमा आयात बढ्दै गएको, नियमित रूपमा कर, राजस्वलगायत रकम संकलन भइरहे तापनि खर्च हुन नसकी सरकारी ढुकुटीमा रकम जम्मा भएको, पूँजीगत बजेट खर्च हुन नसकेको, रेमिट्यान्सको आप्रवाह घट्दै गएको लगायतको अवस्था अर्थतन्त्रमा देखा पर्‍यो । आर्थिक गतिविधि विस्तार भएसँगै बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलनको तुलनामा आक्रमक रूपमा कर्जा प्रवाह बढ्दा बैंकिङ क्षेत्रमा तरलताको अभाव हुने अवस्था सृजना भयो । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूले थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था बन्यो । तरलता अभाव सँगसँगै लघुवित्त वित्तीय संस्थाहरूले बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्दै आएको विपन्न वर्ग कर्जा सापटी प्राप्त गर्ने सम्भावना न्यून हुनुका साथै ब्याजदर बढ्न थाल्यो । हाल यस्तो ब्याजदर १२ प्रतिशत भन्दा माथि पुगेको छ । लघुवित्त क्षेत्रमा कर्जाको ब्याजदरको विषयमा चर्चा गर्दा विभिन्न चरणमा विभिन्न दर कायम भएको देखिन्छ । शुरूआती चरणमा कर्जामा २५ प्रतिशत रहेको ब्याजदर क्रमशः घट्दै गएर आर्थिक वर्ष २०७७/७८ देखि अधिकतम १५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । आर्थिक वर्ष २०७५/७६ मा लघुवित्त वित्तीय संस्थाले आफ्नो कोषको लागतमा तोकिएको प्रशासनिक खर्चका अतिरिक्त बढीमा ६ प्रतिशतसम्म थप गरी कर्जाको ब्याजदर कायम गर्न सक्ने व्यवस्था थियो । यही सन्दर्भमा वित्तीय स्रोतको ठूलो हिस्सा ओगटेको विपन्न वर्ग कर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि पुग्दा लघुवित्त वित्तीय संस्थाले कर्जामा लिने ब्याजदर कसरी निर्धारण गर्लान् भन्ने विषय विचारणीय हुन्छ । वित्तीय क्षेत्रमा तरलताको अभाव बढ्दै गएका कारण आफ्ना ग्राहकको मागबमोजिम कर्जा प्रवाह गर्ने अवस्था नभएकाले केही लघुवित्त वित्तीय संस्थाले फिल्डस्तरका प्रशिक्षार्थी कर्मचारीलाई बिदा दिनुपर्ने अवस्था आएको चर्चा पनि यस क्षेत्रमा सुनिन थालेको छ । बढीभन्दा बढी लक्षित वर्गलाई वित्तीय पहुँचभित्र समेट्ने र सम्भव भएसम्म कम ब्याजदरमा कर्जा उपलब्ध गराई स्वरोजगार बनाउने उद्देश्यले पछिल्लो समय लघुकर्जाको ब्याजदर १५ प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने व्यवस्था नियामक निकायबाट जारी हुनुलाई स्वागतयोग्य मान्नुपर्छ । तर, यस क्षेत्रमा भएको वित्तीय स्रोतको न्यूनता, वैकल्पिक वित्तीय स्रोतको अभाव र विपन्न वर्ग कर्जा सापटीको ब्याजदरमा स्थिरता कायम हुन नसक्दा लघुवित्त वित्तीय संस्थाहरूले कतिपय समयमा कर्जा वितरण कार्य नै स्थगीत गर्नुपरेको तीतो यथार्थ पनि रहेको छ । यस्तो अवस्थामा लघुवित्त क्षेत्रमा आबद्ध भई कर्जा लिई लघु व्यवसाय सञ्चालन गरिरहेका सदस्यलाई व्यवसायलाई निरन्तरता दिन कठिनाइ पर्ने गर्छ भने कतिपय सदस्यहरू अनौपचारिक क्षेत्रमा जान बाध्य हुने अवस्था सृजना हुन्छ, जसले गर्दा लक्षित वर्गमा वित्तीय पहुँच विस्तार गर्ने अभियान र यस क्षेत्रप्रतिको विश्वासनीयता दुवैमा नकारात्मक असर पर्न सक्ने देखिन्छ । नेतृत्व वर्गबाट लघुकर्जाको ब्याजदर एकल अंकमा सीमित गर्ने अभिव्यक्ति आउँदै गर्दा यस क्षेत्रमा भएको वित्तीय स्रोतको अभाव र कर्जाको ब्याजदर दोहोरो अंकमा पुग्नुलाई संयोग मान्न सकिँदैन । यो विगतदेखिकै प्रवृत्ति हो । गरीबी निवारण गर्ने सन्दर्भमा उपयुक्त कार्यक्रम बन्दै आएको लघुवित्त क्षेत्रमा वैकल्पिक वित्तीय स्रोतको आपूर्ति गर्न सके बैंकिङ क्षेत्रमा आइरहने तरलताको प्रभाव यस क्षेत्रमा न्यून पर्ने र ब्याजदरमा समेत स्थिरता कायम गर्न सहज हुने अवस्था रहन्छ । यसका लागि लघुवित्त क्षेत्रको नियमक नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले वित्तीय स्रोतको वैकल्पिक आपूर्ति गर्ने व्यवस्था मिलाउन समयमा नै ध्यान दिनुपर्ने देखिन्छ । साथै, नियामक र सरकारको मात्र मुख ताक्ने प्रवृत्तिमा सुधार गरी लघुवित्त वित्तीय संस्थाले आफ्नो योगदान र सहभागितामा वित्तीय स्रोतका लागि वैकल्पिक व्यवस्थाको शुरुआत गर्नु आवश्यक छ । त्यसैले वित्तीय स्रोतको दीर्घकालीन समाधानका लागि तालुक निकाय र लघुवित्त क्षेत्र जिम्मेवारीका साथ मिलेर अघि बढ्नुपर्ने देखिन्छ । जोशी लघुवित्तसम्बन्धी जानकार मानिन्छिन् ।

लघुवित्तको आधा लगानी कृषि क्षेत्रमा

लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल ऋण लगानीको आधा कृषि क्षेत्रमा गरेका छन् । नेपाल राष्ट्र बैंकले कृषिमा एक तिहाइ लगानी अनिवार्य गरेपछि लघुवित्तहरूको लगानी वृद्धि भएको हो ।राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूले गत आवसम्ममा तीन खर्ब ६५ अर्ब रुपैयाँ कृषि क्षेत्रमा ऋण दिएकोमा त्यसको ४४.८२ प्रतिशत अर्थात् एक खर्ब ६३ अर्ब कृषि […]