काठमाडौं। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूलाई महत्वपूर्ण सुझाबहरू दिएको छ । बोर्डले सूचनानै जारी गरेर धितोपत्रमा लगानी गर्नुअघि लगानीकर्ताले के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेमा प्रष्ट पारेको हो । बोर्डले निम्न कुराहरूमा ध्यान दिएर मात्र लगानी गर्न बोर्डले आग्रह गरेको हो ।
ध्यान दिनुपर्ने कुराहरू
धितोपत्रको मूल्यमा समय समयमा उतारचढाव आउन सक्ने भएकाले धितोपत्रमा लगानी गर्दा मूल्य उतारचढाव सम्बन्धी उपयुक्त सूचना लिई संयमित र विवेकशील भएर मात्र लगानीको निर्णय लिनुपर्नेछ ।
धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला , अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तु स्थिति बुझेर आफ्नो स्वविवेकमानै लगानी सम्बन्धी निर्णय लिनुपर्नेछ । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकन समेत गर्नुपर्नेछ ।
धितोपत्रको प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रमा लगानी गर्नुअघि धितोपत्र निष्कासनकर्ता कम्पनीको आव्हानपत्र तथा विवरणपत्र मार्फत प्रवाहित जानकारीहरू मुख्यतया कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेटवर्थ, नाफानोक्सान स्थिति, आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता कुराहरूको विश्लेषण गनुपर्नेछ ।
नेपाल धितोपत्र बोर्डमा दर्ता भएको तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत धितोपत्रमा मात्र लगानी गर्नुपर्नेछ ।
धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरू, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरू (प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ ,पूँजी कोष अनुपात, निष्क्रिय कर्जा अनुपात), धितोपत्रको मूल्य प्रवृति, कम्पनीको साधारण सभाको निर्णय जस्ता महत्वपूर्ण कुराहरूको अध्ययन गर्नुपर्नेछ ।
दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुपर्नेछ ।
आफुसँग भएको धितोपत्रलाई कारोबार योग्य बनाउन बोर्डबाट अनुमति प्राप्त निक्षेप सदस्यामार्फत अभौतिकीकरण गर्नुपर्नेछ ।
प्राथमिक बजारमा लगानी गर्न निक्षेप सदस्याकोमा हितग्राही खाता खोली आफ्नो बैंक खाता रहेको बैंकबाट आस्बा वा सि–आस्बा रजिष्ट्रेशन नम्बर लिई अनलाईनबाट सहजरुपमा लगानी गर्नुपर्नेछ । धितोपत्र बजारमा लगानी गर्न हितग्राही खाता अनिवार्य गरिएको हुँदा, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले तथा निक्षेप सदस्यहरूसँग सम्पर्क राखी बैंक खाता सहितको ग्राहक परिचय विवरण अनिवार्य रुपमा भरी हितग्राही खाता खोलेर धितोपत्र खरीद विक्री कारोबार गर्नुपर्नेछ । आफूले खरीद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए नभएको ध्यान दिनुपर्नेछ ।
धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिले प्रत्यक्ष प्रभाव पार्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सहज रहनुपर्नेछ ।
धितोपत्र दोस्रो बजारबाट कारोबार गर्दा सिधै नेप्सेको विद्युतीय कारोबार प्रणाली वा बोर्डबाट अनुमति प्राप्त धितोपत्र दलाल तथा तिनको शाखा कार्यालयबाट मात्र गर्नुपर्नेछ ।
धितोपत्र कारोबारमा रकमको लेनदेन गर्दा बैंक तथा वित्तीय संथा मार्फत गर्नुपर्नेछ ।
लगानी विविधिकरण बाट लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाँउ पुग्ने हुँदा लगानी विविधिकरणमा ध्यान दिनुपर्नेछ ।
दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको सम्भावनालाई न्यून गराउने हुँदा लगानी गर्दा यस तथ्यलाई समेत मनन गर्नुपर्नेछ ।
पूँजी बजार सम्बन्धी नीति नियम तथा निर्देशनहरूले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुपर्नेछ ।
लगानीकर्ताहरूलाई पूँजीबजार सम्बन्धी साक्षर बनाउने उदेश्यले बोर्डले समय समयमा आफ््नो कार्यालयमा तथा विभिन्न जिल्लाहरूमा लगानीकर्ता सचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सहभागी हुनुपर्नेछ ।
बोर्डबाट रेडियो नेपालमार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार विहान ७:४० बजे देखि ७:५५ बजेसम्म सञ्चालन गरिने धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम सुनेर बजार सम्बन्धी जानकारी लिनुपर्नेछ ।
लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐत नियमहरूको साथै बोर्डबाट भएका व्यवस्थाबारे जानकारी राख्न धितोपत्र सम्बन्धी ऐन नियमहरू र अन्य व्यवस्थाको जानकारी बोर्डको वेवसाइट तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्नुपर्नेछ । धितोपत्रमा लगानी सम्बन्धमा कुनै जिज्ञासा, गुनासा तथा उजुरीहरू भएमा बोर्डको वेवसाइटमा रहेको न्चष्भखबलअभ दगततयल मार्फत वा टोल फ्रि नम्बर १६६००१४४४३३ वा हटलाइन नम्बर ५५४४०७६ बोर्डको ठेगानामा पठाउनुपर्नेछ ।