काठमाडौं । प्रविधिको उच्चतम प्रयोगबाट नै महिला उद्यमशीलतालाई थप उचाइ दिन सकिने सरोकारवालाले बताएका छन् । घरको कामसमेत महिलाले नै गर्ने र त्यसबाट बचेको समयलाई उद्यमशीलतामा लगाउन खोज्ने उनीहरूका लागि डिजिटल साक्षरता आवश्यक भएको उनीहरूको भनाइ छ ।
न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२३’ कार्यक्रममा महिला उद्यमीले यस्तो धारणा राखेका हुन् । कार्यक्रमको पहिलो सत्र ‘वुमन आन्त्रप्रेनर इन द डिजिटल एज’ विषयक प्यानेल डिस्कसनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता राधिका अर्यालले ४० प्रतिशत जनतामा डिजिटल साक्षरता बढाइने लक्ष्य रहेको बताइन् । भौगोलिक कठिनाइका कारण सबै क्षेत्रमा इन्टरनेटको गुणस्तरीय पहुँच विस्तार नभएको उनको भनाइ छ ।
‘मोबाइल डिभाइसको प्रयोग फोन गर्न र सोसल मिडिया चलाउन मात्रै हो भने यसलाई डिजिटल साक्षरता मानिँदैन,’ अर्यालले भनिन्, ‘महिलाले काम गर्ने शैलीमा फरक आइसकेकाले व्यवसायलाई सहज बनाउन सघाउने गरी साक्षरता बढाउनुपर्छ ।’ डिजिटलाइजेशन गर्न सके कामको बोझ कम हुने र समय पनि बचत हुने उनले बताइन् । यस्तै महिलाको योगदानलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गणना गरिनुपर्नेमा उनले जोड दिइन् ।
सरकारले सूचनाप्रविधिलाई प्राथमिकता दिएको उनको भनाइ छ । ‘१५औं आवधिक योजनाले पनि सूचना प्रविधिमैत्री र डिजिटल इकोनोमीमा ध्यान दिएको छ,’ उनले भनिन्, ‘इकमर्सलाई लक्षित गरेर विधेयक बनेको छ, विशेष आर्थिक क्षेत्रमा आईटी क्लस्टर नै छ, निर्यात गर्दा आयकरमा छूट दिने भनिएको छ र महिलालाई लक्ष्य गरेर पाँचखाल औद्योगिक ग्रामको काम अघि बढेको छ ।’
उक्त कार्यक्रममा गोल्छा ग्रूपका निर्देशक सीमा गोल्छाले नेपालमा अहिले पनि इन्टरनेटको उपयोग कम मात्रामा भएको बताइन् । ‘इन्टरनेटविना अहिले जुनसुकै काम गर्न अप्ठ्यारो हुन्छ,’ गोल्छाले भनिन्, ‘डिजिटलाइजेशनले समान रूपमा अवसरहरू सृजना गर्छ भने अहिले मार्केट पनि विस्तार भएको छ ।’ उत्पादनदेखि बजारीकरणसम्मको काम डिजिटल प्लेटफर्मले सहज बनाएको उनले बताइन् । उनले अझै पनि महिला आर्थिक रूपमा आत्मनिर्भर र स्वतन्त्र हुन नसकेको बताइन् ।
उनले उदाहरण दिँदै भनिन्, ‘मोबाइल अर्डर गर्दा नै पहिला पुरुष (बुबा), त्यसपछि छोरा र बल्ल महिलाको पालो आउँछ ।’ उनले मोबाइलबाट पनि शीप सिक्न सकिने भएकाले एक्लै बसेरभन्दा सामूहिक रूपमा शीप सिकेर त्यसलाई व्यवसायको आकार दिन सकिने बताइन् ।
यस्तै रम्सन नेपालका सह–संस्थापक रूमी सिंहले प्रविधिलाई स्वीकार गर्न र अघि बढ्न नसक्ने हो भने व्यवसायमा सफल हुन नसक्ने बताइन् । सीमान्तकृत महिला उद्यमीलाई लक्षित गरेर काम गरिरहेको भन्दै उनले प्रविधि कसरी चल्छ भन्ने कुराभन्दा पनि त्यसबाट कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्ने बताइन् । ‘हाम्रो संस्थाले कृषिमा सप्लाई चेन र त्यसबाट ग्रामीण किसान, ग्रामीण फुडको कसरी भ्यालू देखाउने भन्नेमा काम गर्छ,’ उनले भनिन्, ‘प्रविधिले कसरी बिजनेशमा सघाउँछ भन्ने अवधारणमा काम गरौं ।’
अझै पनि महिलाको पहुँचमा इन्टरनेट नभएको भन्दै उनले थपिन्, ‘मोबाइलबाट एसएमएस गरेर सघाउन खोज्दासमेत सन्देश पढ्न नसक्ने महिला दिदीबहिनी हुनुहुन्छ । यसलाई अझ सहज बनाउन भ्वाइस रेकर्डबाट जानकारी गराउनुपर्छ ।’ उनले प्रविधिलाई स्थानीयकरण कसरी गर्ने र कुन तहसम्म गएर महिला उद्यमीलाई सघाउन सकिन्छ भन्नेमा बढी काम गर्नुपर्ने देखिएको बताइन् । सरकारले नीति तथा नियमनमा बढी ध्यान दिनुपर्नेमा जोड दिँदै सिंहले भनिन्, ‘प्रविधिमा बढीभन्दा बढी महिला उद्यमीलाई कसरी ल्याउने भन्ने विषयमा एक्स्ट्रा एफर्ट जरुरी छ ।’
उक्त कार्यक्रमको सहजीकरण गरेका स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ट्रान्ज्याक्सन बैंकिङ, कन्ट्री हेड माइकल सिद्धीले महिला उद्यमशीलतामा डिजिटलाइजेशनले के कसरी सहयोग गर्छ, व्यवसायमा देखिएका बाधाहरूलाई समाधान गर्न प्रविधिले कत्तिको सघाएको हुन्छ लगायत प्रश्न गरेका थिए । बजार बुझ्न र प्रतिस्पर्धाका लागि पनि प्रविधिले निकै सघाएको हुन्छ भन्दै उनले प्रश्न गरे, ‘अहिले प्रणालीले नै महिला उद्यमीलाई सघाउने नीति लिएको देखिन्छ भने केन्द्रीय बैंकले पनि महिला उद्यमीलाई सघाउने गरेको छ । यी काम हुँदा मुलुकको अर्थतन्त्रमा अब कसरी परिवर्तन आउन सक्छ ?’
गण्डकी प्रदेश (मुस्ताङ) बाट पुरस्कृत हुने मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुन रसाइली (विक) ले स्थानीय सरकारले महिलाका लागि व्यावसायिक योजनाका लागि बजेट नै नभएको भन्दै पन्छाउने गरेको बताइन् । ‘भवन, भ्यू टावर बनाउन बजेट हुन्छ,’ उनले भनिन्, ‘एक घर एक उद्यमी नारामा मात्रै हुन भएन, योजनाका आधारमा अनुदानको ग्यारेन्टी दिनुपर्छ ।’
यसैगरी पिएस ट्राभल प्वाइन्ट टुर्स प्रालिका सञ्चालक संगीता खड्काले स्थानीय तहका महिला उद्यमीलाई इन्टरनेट तथा प्रविधिका अन्य विविध पक्ष जानकारी गराउन आवश्यक भएको बताइन् । ‘ग्रामीण तहमा महिला घरबाट बाहिर निस्किन नसकेको अवस्था छ,’ उनले प्रश्न गरिन्, ‘यो अवस्थामा डिजिटल युगमा कसरी महिला प्रवेश गर्ने ?, यसका आधारभूत कुरा के के हुन् ?’