कुनै वस्तुलाई भविष्यका निम्ति भनेर बचाएर राख्ने कार्यलाई बचत भनिन्छ । बचतको मर्म भने प्रयोग भइसकेको शेषभाग वा बचेखुचेको अंश बचाउनु नभई प्रयोग गर्नुभन्दा अगाडि नै केही भाग छुट्याउनु वा राख्नु हो । खर्चपछि बचेको पैसालाई अंग्रेजीमा सरप्लस एमाउन्ट पनि भनिएकाले अर्थशास्त्रका कतिपय अध्येताहरू प्रयोग भएर बाँकी रहेको अंश बचत हो भन्छन्, तर यसबाट बच्न सक्ने कुरा अनिश्चित हुने भएकाले र त्यस्तो अवस्थामा भविष्यको कुनै आवश्यकता पूरा गर्नका लागि योजना गर्ने नसकिने भएकाले यसलाई वास्तविक बचत भन्न सकिँदैन । भविष्यको वित्तीय आवश्यकता पूरा गर्ने विषयसँग सम्बद्ध भएकाले योजनाबद्ध रूपमा पहिले नै छुट्याएर राखिएको अंशलाई नै वास्तविक बचत भनिन्छ ।
बचत नगद र जिन्सी दुवै हुन्छ, तथापि हिजोआज बचत भन्नाले मुख्यरूपमा मौद्रिक सम्पत्ति वा पैसाको बचत भन्ने बुझिन्छ । त्यसबाहेक आवश्यक परेका बेला नगदमा परिणत गर्न सकिने गरी सुन चाँदी आदि किन्नु पनि एक किसिमको बचत नै हो । बचत गरेको पैसालाई बैंक तथा वित्तीय संस्थामा चलनचल्तीमा भएका विभिन्न खाताहरूमा जम्मा गर्न र आवश्यक परेकोबखत नियमअनुसार झिकेर प्रयोग गर्न सकिन्छ ।
बचतको आवश्यकता
अहिले गरिएको सानो रकमको बचतले भविष्यको ठूलो आवश्यकतालाई पूरा गर्न सक्छ । बचतले ब्याज कमाउन सक्ने भएकाले सम्पत्ति पनि बढ्दै जान्छ । चक्रवृद्धिदरमा ब्याज प्राप्त हुँदा बचत नपत्याउँदो हिसाबले धेरै बढ्छ । हरेक दिन १५ रुपैयाँलाई १० प्रतिशत ब्याज आउने गरी जम्मा गर्ने हो भने ३५ वर्षमा १२ लाख ९८ हजार ८८४ रुपैयाँ हुन्छ । सामान्य हिसाबमा दैनिक १५ रुपैयाँ जम्मा गर्दा १ महीनामा ४५० र १ वर्षमा ५४०० हुन्छ । यस हिसाबमा ३५ वर्षको कुल १ लाख ८९ हजार मात्र जम्मा हुन्छ, तर त्यसमा आउने चक्रवृद्धि ब्याजको हिसाबले ३५ वर्षमा आफूले जम्मा गरेको भन्दा ११ लाख ९ हजार ८८४ रुपैयाँ बढी पैसा अर्थात् कुल १२ लाख ९८ हजार ८८४ हुन्छ । कुनै व्यक्तिले २० वर्षको उमेरबाट दैनिक १५ रुपैयाँ मात्र पनि जम्मा गर्ने हो भने ऊ ५५ वर्षको हुँदा करीब १३ लाख प्राप्त गर्न सक्छ । हामीले हाम्रा बालबालिकाको नाममा सानैदेखि कुनै निश्चित रकम बचतमा राखिदिने हो भने केही समयपछि त्यही बचत नै उनीहरूको लागि ठूलो उपहार हुन सक्छ र त्यसले उनीहरूको जीवनमा ठूलो काम गर्न सक्छ ।
बचतले भविष्यको सोच गर्ने र खर्च गर्दा विचार गर्ने बानीको विकास गर्छ । बुढ्यौलीको बेला अर्थात् अवकास जीवनका लागि अहिले जम्मा गरेको बचतले ठूलो योगदान पुर्याउँछ । बचत सम्पन्नता प्राप्तिको आधार हो । बचतले जीवनका आवश्यकताहरू पूरा गर्न र भविष्यलाई सुखी तथा सम्पन्न बनाउन ठूलो योगदान दिन्छ ।
बचत जुनसुकै उमेर अवस्थाका मानिसका लागि पनि आवश्यक छ । अझ बालबालिकालाई सानै अवस्थादेखि बचत गर्न सिकाउने बानीले उनीहरूमा खर्च कम गर्ने, खर्च गर्नुभन्दा पहिले विचार गर्ने, भविष्यको सोच गर्नेजस्ता राम्रा बानीहरूको विकास हुन्छ र उनीहरूले आफ्नो उमेरसँगै बढ्दै जाने पैसाको आवश्यकतालाई सजिलै पूरा गर्न सक्छन् । अहिले बालबालिकाहरूको बर्थ डे मनाउने चलन धेरै बढेको छ । त्यसलाई ठिक्क र मर्यादित रूपमा मनाई केही पैसा उनीहरूको नाममा जम्मा गरिदिने बानी गर्नु बर्थ डे को अनावश्यक तडकभडकको नियन्त्रण र बचतको बानी विकास दुवैको हिसाबले उत्तम तरीका हो ।
बचतको अभ्यास
पैसा नै नभए पनि अन्न–अनाजलाई थोरै थोरै गरी जम्मा गर्ने र अलि धेरै भएपछि दानपुण्य वा अन्य सामाजिक काममा लगाउने कुरा हामीले परम्परादेखि नै सिक्दै आएका हौं । मुष्ठीदान यसको राम्रो उदाहरण हो । अहिले विभिन्न बैंक तथा वित्तीय संस्था र विभिन्न सामाजिक संस्थाले समुदायस्तरसम्म पुगेर बचतसम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेका पनि छन् । नियमित बचतको अभ्यासले गरीबी निवारण, पारिवारिक जीवनस्तर अभिवृद्धि तथा सम्पत्ति निर्माणमा ठूलो सहयोग पुर्याएको छ ।
सामान्यतथा पारिवारिक आम्दानीको चारभागको एकभाग बचत गर्ने हो भने भविष्यका आवश्यकताहरू पूरा गर्न सकिन्छ । त्यति नसके पनि आम्दानीको कम्तीमा १० प्रतिशतचाहिँ अनिवार्य बचत गर्नुपर्छ जसले व्यावसायिक लगानीमा सघाउन, भविष्यमा आइपर्ने आर्थिक आवश्यकताहरूलाई व्यवस्थापन गर्न, बुढ्यौली अवस्थामा आवश्यक पर्ने खर्चहरू चलाउन धेरै सहयोग गर्छ । यसैले बचत गर्न वा बढाउन कसैले पनि कन्जुस्याइँ गर्नु हुँदैन । बचत गर्ने बानीले खर्च नियन्त्रण गर्न र खर्चमा अनुशासन कायम गर्न सिकाउँछ ।
हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएको देशमा बचतको महत्त्व बुझेर र चाहना भएर पनि नियमित आम्दानीको स्रोत नभएका र दैनिक ज्यालादारीमा परिवार धान्नुपर्ने मानिसहरूलाई बचतको लागि पैसा छुट्याउन समस्या नै छ, तथापि बचत गर्ने कुरालाई अभावले भन्दा पनि स्वभाव (व्यवहार)ले धेरै प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छ । परिवारमा हुने कतिपय अनावश्यक खर्चहरूलाई घटाउने वा पूरै बन्द गर्ने हो भने अवश्य पनि धेरै बचत गर्न सकिन्छ । त्यसको लागि बचतप्रति विश्वास र बलियो अठोट चाहिन्छ । कम आम्दानी भएर पनि धेरै बचत गरेका र धेरै आम्दानी भएर पनि कम बचत गरेका र गर्दै नगरेका उदाहरणहरू समेत हाम्रै वरिपरि प्रशस्तै पाइन्छन् ।
नियमित र सामान्यतया राम्रो आम्दानी भएका मानिसहरूले पनि बचतलाई त्यत्ति महत्व नदिएको ,अनावश्यक चाहनाहरूमा धेरै खर्च गरेको देखिन्छ । यो उपभोगवादी प्रवृत्ति हो र भविष्य जेसुकै होस् अहिल्यै खर्च गर रमाऊ भन्ने अल्पकालीन सोच हो । यस्तो सोचले कसैले पनि सुखी र सम्पन्न भविष्यको लक्ष्य प्राप्त गर्न सक्दैन । सबै मानिसले बचतको महइत्त्वलाई बुझेर सकेसम्म धेरै बचत गर्नु र उपभोगको मात्रभन्दा बचतको संस्कार विकास गर्नु अति आवश्यक छ । पैसा बचाउनु नै पैसा कमाउनु हो, त्यसैले बालबालिका सहित परिवारका सबै सदस्यले सकेसम्म धेरै र नियमित रूपमा बचत गर्ने बानीको विकास गरौं र आफ्नो सुखी र सम्पन्न भविष्य निर्माणको बाटो लागाैं ।
लेखक वित्तीय साक्षरता अभियानमा संलग्न व्यक्ति हुन् ।