मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निर्माण चाँडै सुरु हुने भएको छ । लाइसेन्स नवीकरण दुई हप्ताभित्रै हुने भएपछि यसका लागि बाटो खुल्न गएको हो । तीन वर्षदेखि लाइसेन्स नवीकरण नहुँदा कम्पनी दर्तासमेत हुन सकेको थिएन । जलविद्युत् कम्पनी दर्ता हुनका लागि म्याद ननाघेको लाइसेन्स चाहिन्छ । ‘लामो समयदेखि तयार थियौं तीन वर्षदेखि लाइसेन्स नवीकरण नभएर रोकिएको भए पनि अब भने आयोजनाको निर्माण कार्य अघि बढाउन सकिन्छ भन्ने लागेको छ,’ आयोजना व्यवस्थापक प्रकाशमान श्रेष्ठले भने ।
आयोजनाका सबै लगानीकर्ताहरूको व्यावसायिक कागजात नवीकृत हुनुपर्ने भएकाले कम्पनी दर्ता प्रक्रिया रोकिएको हो । विद्युत् विकास विभागले कम्पनी दर्ता नभई लाइसेन्स नवीकरण नगर्ने बताएको थियो । ‘लगानीकर्ता कम्पनीहरूमध्ये चिलिमे जलविुद्यत्, सिन्धुपाल्चोक हाइड्रोपावर, नेपाल अरनिको हाइड्रोपावरको नवीकृत कागजात पेस भइसकेको छ । सिन्धु इन्भेस्टमेन्टको मात्र बाँकी रहेकाले कम्पनी दर्तामा ढिलाइ भएको हो,’ श्रेष्ठले भने । तर सिन्धुको नवीकरण पनि आउँदो शुक्रवारसम्म हुने भएकाले अर्काे हप्ताभित्र कम्पनी दर्ता हुने पक्का भएको उनले बताए । यो मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड नामले दर्ता हुन लागेको छ ।
‘कम्पनी दर्ता भइसकेपछि एक हप्ताभित्र आयोजनाको लाइसेन्स नवीकरण हुन्छ । यसको डेढ महिनाभित्र पीपीएका लागि प्रक्रिया अघि बढाउन सकिने देखिएको छ,’ श्रेष्ठले भने । लाइसेन्स नवीकरणपछि आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनको काम पूरा गर्ने श्रष्ठले बताए ।
वर्ष ५, अंक ४३, २०६७, असार १४–२०