म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित ऐतिहासिक स्थल चिनाकोटमा पूर्वाधार निर्माण गरिएको छ ।
भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ बजेटमा स्थानीयले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण गरेका हुन् ।
चिनाकोट घुम्न आउने पाहुना तथा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर रोकाले जानकारी दिए ।
‘सेप्रेको मुहानबाट तीन वटा इन्टेक, ४ हजार ५०० लिटर क्षमताका दुई वटा रिजर्भ ट्यांकी बनाएर २ हजार ५ सय मिटर पाइपबाट ल्याइएको पानी उपभोगका लागि एक धारा बनाएका छौं’, उनले भने, ‘दायाँबाँया दुवैतर्फ रेलिङसहितको ९० मिटर पक्की र ७५ मिटर ढुंगाको सिँढी भएको पदमार्ग निर्माण गरेका छौं ।’
सार्वजनिक शौचालय पनि निर्माण गरिएको छ । पूर्वाधार निर्माण भएपछि अप्ठ्यारो र भिरालो ठाउँमा जोखिम मोलेर हिँड्नुपर्ने, पिउने पानी बोकेर जानुपर्ने, शौचालयको समस्यासमेत हटेको उपभोक्ता समितिका सचिव कमल रोकाले बताए ।
‘बस्तीदेखि टाढा र उच्च स्थानमा रहेको चिनाकोटमा पिउने पानीको समस्या थियो’, उनले भने, ‘खानीगाउँ, दुर्दी, बाहुन पँधेरा र थर्पुका ५३ जनाले दुई महिनासम्म श्रम गरेर पूर्वाधार तयार पारेका हाैं ।’
भू–तथा जलाधार व्यवस्थापन कार्यालयको यहाँस्थित सम्पर्क एकाइका सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा २० लाख बजेट विनियोजन भएकामा आयोजना व्यवस्थापन खर्चबापतको ८० हजार घटाएर १९ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
समुद्री सतहदेखि २ हजार २०० मिटरको उचाइमा अवस्थित चिनाकोटमा बाइसे चौबीसे राज्यका पाला दरबार थियो । ऐतिहासिक महत्वका खुडा, तरबार, ढाल, खुकुरीलगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित राखिएको छ ।
यहाँ रानीले कपाल कोर्ने ठाउँ, पानी राख्ने पँधेरा, सुरक्षाका लागि बनाइएको सुरुङ र दरबारका भग्नावशेष छन् ।
चिनाकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका हिमाल, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्ती र वनजंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
यसको महत्वबारे प्रचार–प्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन जोड दिइएको चिनाकोट युवा क्लबका अध्यक्ष गमश रोकाले बताए । चिनाकोट नजिकैको झाँक्रीपानीसम्म सडक यातायातको सुविधा छ । झाँक्रीपानीमा होमस्टे (घरबास) सुविधा पनि छ । गाउँपालिकाले दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र सामुदायिक भवन निर्माण गरेको छ । बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ । झाँक्रीपानी र चिनाकोटलाई पदमार्गले जोडिएको छ । रासस