भक्त विश्वकर्मा
सन्की महाराजको एकै झाँेकमा
सत्तरी वर्षको उपलब्धि
गल्र्यामगुर्लम पारी पल्टाइदिने
कति अहङ्काकारी ?
कति स्वेच्छाचारी तिमी ?
तिम्रो एक सनकले
शोषितपीडितको घाउमा
नुनचुक परेको छ
नेपालआमाको मुटुमा
क्यान्सर झैँ बल्झिदै छ
गणतन्त्र, धर्म निरपक्षतामाथि
कालो बादल मडारिरहेको छ
समावेशी समानुपातिक अधिकारमा
खिया लाग्दै छ ।
सन्की महाराज !
तिम्रा कारणले
साम्राज्यवादी स्यालरू सल्बलाउँदै छन्
कथित धार्मिक जुकाहरू
मुन्टा उठाउँदै छन्
प्रतिगामीहरू दीपावली गर्दै छन् ।
सन्की महाराज
किन जलाइदियौ सहिदका सुनौला सपना ?
किन बन्न खोज्यौ तानाशाह ?
किन गरिबदुखीका आशालाई
बुटले कुल्चियौ ?
इतिहासलाई किन कालो बनायौँ ?
तिमीलाई थाहा थियो त
इतिहास कालो बनाउनेलाई
जनताले धुलो चटाउँछन
साङ्लोले बाधेर नौडाँडा कटाउँछन् ।
ती हिटलर र जारहरूलाई
घुडा टेकाएकै हुन जनताले
नेपालकै जहाँनियालाई
तह लगाएकै हुन जनताले
उज्यालोलाई कालरात्री पार्ने
पञ्चको गानु हालेकै हुन् जनताले
तिमी त को हौ र ?
मात्र तानाशाह बन्न खोज्ने मान्छे ।
बैरी हसाउने
एउटा निर्लज्ज मान्छे हौ
तिमी सूर्यलाई हत्केलाले छेक्न खोज्ने
पाखण्डी न हौ
सौताको रिसले आफ्नै ओछ्यानमा
सू सू गर्ने घमण्डी हौ ।
तिमी अब अगाडि नबढ
आफ्नो कुकार्यप्रति पश्चाताप गर
सक्छौ, अधिनायकी फिर्ता गर
सक्दैनौ, थप जनतालाई क्रोधित नबनाऊ ।
बरू पशुपति जाउ—तीर्थब्रत गर
गौदान गर—बैतरणी तर
कम्युनिस्टको नाममा मजाक नबन
तिमीले आफू मुकुण्डोधारी भएको
सबुद लोकले बुझिसके ।
तिम्रो बाघको गर्जाइ बिरालो भई
म्याउ म्याउ भइसक्यो
तिमी कति सच्चा माक्र्सवादी–लेनिनवादी रहेछौ भन्ने
जगत्ले देखिसक्यो ।
अहङ्कारी सोचमा लगाम लगाऊ
तिम्रो स्वेच्छाचारी कदमलाई
पूर्णबिराम लगाऊ
गरिखाने वर्गको वर्गदुस्मन नबन
मुक्तिकामी आन्दोलनलाई पछाडी नधकेल
आजको युगको नवरावण नबन
सन्की महाराज बन्ने प्रयास नगर ।