काठमाडौं, साउन १ । लामो समयदेखि पेशी सरिरहेको भरतपुर मतगणना प्रकरणबारे आज सर्वोच्च अदालतमा सुनुवाई छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा गोपाल पराजुली आएसँगै उक्त मुद्दाको अन्तिम फैसला आज हुने अपेक्षा गरिएको छ ।
भरतपुर महानगरको वडा नम्बर १९ मा मतपत्र च्यातिएपछि पुनःमतगणना कि मतदान भन्ने विषयमा अदालतको फैसला नआउँदा अन्योल बढेको छ ।
मतगणनाका क्रममा माओवादी कार्यकर्ताले केही मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनमतदान गर्ने निर्णयका विरुद्ध पुनमतगणनाको माग गर्दै अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले मुद्दा दायर गरेका थिए ।