दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचनलक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासन प्रतिबद्ध रहेको अर्यालले बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले मंगलवार जिल्लाको मानवअधिकारको अवस्था र निर्वाचनपूर्व अनुगमनको क्रममा प्रजिअ अर्यालले नेपाली सेनाको कमान्डमा चारवटै सुरक्षा निकाय प्रभावकारी रूपमा परिचालन भइरहेको बताए । राजनीतिक दलहरूको पटक–पटक बैठक राखेर निर्वाचन आचारसंहिताको प्रभावकारी पालनाका लागि जोड दिइएको र निर्वाचन आचारसंहिता उल्लंघन भएको देखिए त्यस्तो अवस्थामा सम्बन्धितलाई सचेत गराइएको उनले बताए ।
निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल सबै प्रतिबद्ध रहेको उनले बताए । स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ । जिल्लाका १३६ वटै मतदान केन्द्र र २९७ वटै मतदानस्थलमा खटिने कर्मचारीको व्यवस्थापन भई कर्मचारी आफ्नो मतदान केन्द्रमा पुग्ने क्रम जारिरहेको प्रजिअ अर्यालले बताए । एउटा मतदान केन्द्रमा २४ जनासम्मको सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ अर्यालले बताए ।
अनुगमनका क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको संरक्षणमा कार्य गर्दै आएको र निरन्तर रूपमा निर्वाचनको पर्यवेक्षणको काम गरिरहेको जानकारी गराए । रासस