काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेड (Ghalemdi Hydro Limited)को २०० प्रतिशत हकप्रद शेयर (Right Share) निष्कासन गर्नका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरी कम्पनीले हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड (Muktinath Capital Limied)लाई नियुक्त गरेको हो ।
विक्री प्रबन्धक सम्बन्धी समझदारी पत्रमा घलेम्दी हाइड्रोपावरको तर्फबाट अध्यक्ष किशोर सुवेदी र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीको वैशाख १६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । हकप्रद विक्रीबाट संकलित पूँजी सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोजनामा ५१ प्रतिशतभन्दा बढी शेयरमा लगानी गर्ने योजना कम्पनीको छ ।
हाल रू. ५५ करोड चुक्तापूँजी (Paid up Capital) रहेको कम्पनीको हकप्रद शेयर निष्कासनपछि यो पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । अब कम्पनीले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकको समन्वयमा नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ । बोर्डको स्वीकृति प्राप्त भएमा कम्पनीका शेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन हुनेछ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीको जगेडा कोष रकम रू. ११ करोड ११ लाखभन्दा बढी ऋणात्मक रहेको छ । यस अवधिसम्म कम्पनीको दीर्घकालीन कर्जा रू. ८६ करोड ८९ लाखभन्दा बढी र अल्पकालीन कर्जा रू. ८ करोड ६९ लाखभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ करोड ५५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।