विराटनगर (अस) । फुजिमा आयल कम्पनी प्रालिले नारी दिवस अवसरमा उद्योग र स्थानीय हात्तीमुढाका ५० महिलाको विराट मेडिकल अस्पतालमा निःशुल्क स्तन क्यान्सर परीक्षण गराएको छ ।
कम्पनीले महिलालाई अस्पतालसम्म आउजाउसमेत निःशुल्क गरेको थियो । फुजिमा आयलका प्रबन्ध निर्देशक सुबोध कोइरालाले नारी दिवस अवसर पारेर अब वर्षभरि नै मुलुकका विभिन्न स्थानमा महिलाको निःशुल्क स्तन क्यान्सरको परीक्षण गरिने बताए ।
उनले आफ्नो उद्योग रहेको बूढीगंगा गाउँपालिकाबाट निःशुल्क परीक्षण सुरु गरिए पनि मुलुकका ७ वटै प्रदेशमा यो कार्यक्रम लागू गरिने जानकारी दिए ।
रोग लागेर उपचार गर्नुभन्दा लाग्न नदिन सचेत बनौं भन्ने अभियानसहित कार्यक्रम सुरु गरेको जानकारी दिँदै उनले आफ्नो उद्योगमा कार्यरत एक कर्मचारीकी श्रीमतीको स्तन क्यान्सरका कारण मृत्यु भएपछि यसको सचेतना र उपचारका लागि कन्ट्रोल लुब्रिकेन्टको बिक्रीबाट प्रतिलिटर १ रुपैयाँ बचत गरी त्यसबाटै स्तन क्यान्सर र क्यासर लागेकाको निःशुल्क उपचार गरिने बताए । प्रतिलिटर १ रुपैयाँ बचत गर्दा स्तन क्यान्सर उपचार कोषमा वार्षिक करिब ३५ लाख रुपैयाँ जम्मा हुने उनको भनाइ छ ।