मध्यभोटेकोशी नेपालमा धेरै सहुलियत पाएको क्षेत्र भनेको वित्तीय क्षेत्र हो । सुरुमा बैंकहरू स्थापना हुँदा नियमन गर्नुहुँदैन भन्ने मान्यता थियो । त्यतिबेला हाम्रो उद्देश्य भनेका बैंक बढ्नुपर्छ, त्यसले अर्थतन्त्रलाई फाइदा पुग्छ भन्ने थियो । हामीकहाँ एकै व्यक्तिले बैंक पनि खोल्ने, बीमा पनि खोल्ने र उद्योग पनि खोल्ने चलन छ जुन राम्रो होइन । या निक्षेपकर्ताको हितमा हुँदैन । एउटै व्यक्तिले सबै क्षेत्रमा काम गर्दा ती राम्रोसँग सञ्चालन हुन सक्दैनन् । उद्योगीले बैंक चलाउँदा आप्mनै अन्य कम्पनीमा बढी कर्जा प्रवाह गर्ने गरेका छन् । त्यो कम्पनी डुब्यो भने बैंक पनि डुब्छ । यसले निक्षेपकर्ताहरू मारमा पर्छन् ।
एउटै संस्थाले धेरै कारोबार गर्दा आर्थिक स्वास्थ्य राम्रो हुँदैन । लगानी नआउने अरू क्षेत्रलाई २५ प्रतिशत कर रहेको छ । बैंकिङ क्षेत्रमा ३० प्रतिशत कर लाग्ने गरेको छ । अरू क्षेत्रमा कर थोरै हुँदा पनि लगानी नआउने तर यस क्षेत्रमा कर बढी हुँदा पनि लगानी आउने क्रम रोकिएको छैन । हामीले सन् १९८० को दशकमा बैंकलाई सहयोग गर्ने नीति लिएका थियौँ । त्यसबेला हाम्रो नीति बैंकले उद्योग व्यवसाय चलाउने क्षेत्रमा मध्यस्थता गर्छ भन्ने रहेको थियो । बैंकको संख्या वृद्धिसँगै उत्पादनमूलक क्षेत्रमा समेत लगानी बढ्छ भन्ने रहेको थियो । तर जति बैंक बढे पनि तिनीहरूबाट अर्थतन्त्रमा हुनुपर्ने अपेक्षित सुधार भएन । (अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यसँगको कुराकानीबाट)
वर्ष ५, अंक ४३, २०६७, असार १४–२०