काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधारभूत शेयरधनीहरूलाई हकप्रद शेयर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले पुस २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति पाएको छ ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा २६ करोड २४ लाख ६७ हजार ६०० रूपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । हकप्रद शेयर निष्कासनका लागि सार्वजनिक सूचना जारी गर्न बाँकी रहेको कम्पनीले आधारभूत शेयरधनीहरूबाट हकप्रद शेयर वापतको रकम संकलन गर्न लागेको हो । हालसम्म पनि हकप्रद शेयर वापतको रकम जम्मा नगरेका शेयरधनीहरूले फागुन १५ गते बैंकिङ समयभित्र आफुले लिनुपर्ने हकप्रद शेयर वापतको रकम जम्मा गर्न कम्पनीले भनेको हो ।
फागुन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन १५ गतेसम्म मात्र आधारभूत शेयरधनीहरूबाट हकप्रद शेयर वापतको रकम संकलन गर्ने निर्णय गरेको हो । हकप्रद शेयर वापतको रकम प्रभु बैंक रत्ननगर , टाँडी शाखामा कम्पनीको नाममा रहेको खाता नम्बर ०२१००२०८६४२०००११ मा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ ।