बागलुङ । बागलुङ नगरपालिकाको बजार क्षेत्रभित्रै खानेपानीको अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयवासीले आफ्नै सक्रियतामा खानेपानी योजना सम्पन्न गरेका हुन् । यसमा बागलुङ नगरपालिकाले पनि सहयोग गरेको थियो ।
योजना नबन्दासम्म स्थानीयवासीले कुवा र मूलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसँगै सकिएको स्थानीयवासी उपभोक्ता बताउँछन् । स्थानीय उपभोक्ताले १५ लाख संकलन गरी खत्रीबारीमा ७५ हजार लिटरको खानेपानी ट्यांकी निर्माण गरेका थिए ।
पँधेराघरको पानीलाई १०० मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर ५० घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । योजना सम्पन्न भएपछि सोमवारदेखि घरघरमै खानेपानी पुगेको सामुदायिक खानेपानी तथा उपभोक्ता संस्था उपल्लो पाखाथरका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार योजनाको पाइप लाइन विस्तारका लागि भने बागलुङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा ८ लाख बजेट विनियोजन गरेको थियो ।
जिल्ला सदरमुकामवासी भएर पनि पुरानो पानीकोे मुहान सुक्दै गएपछि कुवाको पानीमा निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै खानेपानीको धारा आउँदा स्थानीयवासीमा खुशी छाएको उपभोक्ता धनबहादुर जिसीले बताए । बस्तीभन्दा मुहान तल भएका कारण १०० मिटरको उचाइमा पम्पमार्फत खानेपानी पु¥याएर घरघरमा वितरण गरिएको बागलुङ नगरपालिकाका इञ्जिनियर गौरव शर्माले जानकारी दिए ।
खानेपानी ट्यांकीबाट थप २५ घरमा खानेपानी वितरण गर्ने उपभोक्ता समितिको लक्ष्य छ । सामुदायिक खानेपानी समितिबाट १५ लाख संकलन गरे पनि नगरपालिकाको ८ लाखको काम भने उपल्लोपाखाथर लिफ्ट खानेपानी आयोजनामार्फत सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष खिमराम ढुंगानाले बताए । खानेपानीको अभावमा स्थानीयवासी बसाइँसराइ गर्दै आएका थिए भने त्यहाँ जग्गा खरीद भए पनि खानेपानीको अभावमा घर निर्माण हुन सकेको थिएन ।
हिउँदको समयमा चार घण्टा र बर्खाको समय चार घण्टा मात्रै खानेपानी लिफ्ट गरेमा सबैलाई खानेपानी पुग्नेछ । खानेपानी उपभोग गरेबापत विद्युत् महशुल र मर्मतसम्भारका लागि मासिक २०० उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान बनाइएको छ । रासस