जेठ १०, काठमाडौं । सरकारले कृषि क्षेत्रलाई निकै महत्वमा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइरहेको छ ।
सरकारले कृषिलाई आर्थिक समृद्धी र रोजगारीको प्रमुख आधार बनाउने योजना बनाएको छ । नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गर्ने, कृषि क्षेत्रको आधुनीकिकरण गर्ने, विभिन्न मन्त्रालयले नीति तर्जुमा गर्दा कृषि क्षेत्रको उत्पादकत्व बढ्ने गरी समन्वय गर्ने, कृषि खाद्यवस्तुको उत्पादन बढाउने र प्रसोधन लागत घटाउने कार्यक्रम ल्याउने सरकारको योजना छ ।
त्यस्तै उन्नत बीउ विकास गर्ने, जलवायु परिवर्तनलाई धान्न सक्ने स्थानीय बीउ विकास गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाको पुर्नसंरचना गर्ने, बाँझो जग्गा सदुपयोग गरी मूल्य श्रृङ्खलामा आधारति सहकारी खेतीलाई प्रोत्साहित गर्ने कार्यक्रम छ ।
आलु प्याज स्याउ लगायतका धेरै आयात हुने वस्तुको उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याउने, व्यवसायीक रबर खेतीका लागि विशेष योजना ल्याउने र रसायनिक मलको आपूर्ति सुनिश्चित तथा गुणस्तरीय प्राङ्गारिक मलमा पनि रसायकिन मलकै सरह अनुदान उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।
कृषिमा सूचना प्रविधिको प्रयोग बढाउने, कृषकले उत्पादन गरेको वस्तु खरीद गर्ने व्यवस्था मिलाउने, लघु बीमाको पहुँच दुर्गम सम्म पुर्याउने, उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्ने र उखु किसानलाई उखु क्रसिङ भएकै वर्ष भुक्तानी सुनिश्चितता गराउने सरकारले घोषणा गरेको छ ।