चैत १६, बैतडी । बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने भएको हो ।
जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ । त्यस्तै दोगडाकेदार गाउँपालिका, पुर्चौँडी नगरपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका १६ स्थानमा कृषि गणना गरिने भएको हो ।
त्यसैगरी मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५ स्थान, सुर्नया र पञ्चेश्वर गाउँपालिकाका १२ स्थान तथा शिवनाथ गाउँपालिकाका ९ स्थानमा गणना गरिने छ ।
गणनाका लागि १२ सुपरीवेक्षक र ५० गणक खटाइने जिल्ला कृषि गणना कार्यालयले जानकारी दिएको छ । आगामी चैत २४ गतेसम्म सुपरिवेक्षक तथा गणकलाई करारमा नियुक्त गरिने कार्यक्रम रहेको कार्यालयले जानकारी दिएको छ । २५ चैतदेखि उनीहरुलाई तालिम दिइने कृषि गणना कार्यालय प्रमुख पन्तले जानकारी दिए । तालिमपश्चात् आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिने छ ।
गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाईको विवरण लिइने छ ।
त्यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सँख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गाका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे गणकले तथ्यांक संकलन गर्ने छन् ।
कृषिमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्दतिको प्रयोग, माटो परीक्षण, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ । चैत १ गते जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको थियो ।
नेपालमा वि.सं. २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना गरिँदै आएको छ । रासस