लिखतको अर्थ लेखिएको भन्ने हो । व्यक्तिहरूका बीचमा कुनै पनि विषयलाई लेखबद्ध गरी राखिएको कागज नै लिखत हो । कुनै पनि पक्षहरूका बीचमा लिखत तयार पार्दा जुन विषयको लिखत तयार गर्ने हो त्यसका बारेमा स्पष्ट रूपमा खुलाई कुनै अशुद्धि र केरमेट नहुने गरी छापेर, टाइप गरेर वा हातले लेखेर तयार पार्नुपर्छ र त्यस्तो लिखतमा सम्बद्ध व्यक्ति अर्थात् कारणीले सहीछाप गर्नुपर्छ । यसअन्तर्गत लेनदेन व्यवहार, सम्पत्ति हस्तान्तरण, धितो बन्धक, धर्मपुत्र र धर्मपुत्रीसम्बन्धी, करार, अख्तियारनामा, मञ्जुरनामाका साथै सरकारी कार्यालय वा संगठित संस्था वा अदालतमा पेश हुने फिराद, प्रत्युत्तर, निवेदन र दरखास्तसमेत लिखत हो । यसै गरी सरकारी कार्यालय वा संगठित संस्थाबाट जारी हुने कानूनी हक वा दायित्व सृजना गर्ने वा नगर्ने सबै किसिमका लिखत यसैअन्तर्गत पर्छ ।
लेख्न पढ्न नसक्ने व्यक्तिलाई लिखतमा सहीछाप गराउँदा त्यस्तो व्यक्तिले चाहेमा निजले रोजेको व्यक्तिको रोहवरमा गराउनुपर्छ । त्यसरी रोहवरमा राखेकोमा रोहवरमा रहने व्यक्तिको निजले रोजेको बेहोरासमेत सोही लिखतमा जनाई सहीछाप गराउनुपर्छ ।
मुलुकी देवानी कार्यविधि संहिता २०७४ को परिच्छेद ४ अन्तर्गत दफा २८ देखि ४६ सम्म लिखतका सम्बन्धमा व्यवस्था गरिएको छ ।
दफा २८. लिखत तयार गर्दा रीत पुर्याउनुपर्ने : (१) लिखत तयार गर्दा जुन विषयको लिखत तयार गरिने हो त्यो विषय स्पष्ट रूपमा खुलाई त्यसमा कुनै अशुद्धि र केरमेट नहुने गरी छापी टाइप गरी वा हातले लेखी तयार गनुपर्नेछ र त्यस्तो लिखतसँग सम्बद्ध कारणीले सहीछाप गर्नुपर्नेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि (क) लिखत भन्नाले देहायका लिखत सम्झनुपर्छ । (१) घर व्यवहारमा हुने सबै किसिमका लेनदेन व्यवहार, सम्पत्ति हस्तान्तरण वा धितो बन्धक दिने गरी भएको लिखत, (२) धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी लिखत, (३) करार, (४) अख्तियार दिएको लिखत, अख्तियारनामा, मञ्जुरीनामा वा त्यस्तै प्रकृतिका अन्य कागज, (५) सरकारी कार्यलय वा संगठित संस्थामा पेश हुने कुनै पनि लिखत, (६) अदालतमा पेश हुने फिरादपत्र, प्रत्युत्तरपत्र, पुनरावेदनपत्र, निवेदनपत्र, दरखास्तलगायत जुनसुकै किसिमको लिखत, (७) सरकारी कार्यालय वा संगठित संस्थाबाट जारी हुने लिखत, (८) कानूनी हक वा दायित्व सृजना गर्ने वा नगर्ने अन्य कुनै लिखत । (ख) ‘कारणी’ भन्नाले लिखतको बेहोराबाट सहीछाप गर्नुपर्ने जिम्मेवारी भएको व्यक्ति सम्झनुपर्छ । (ग) ‘सरकारी कार्यालय’ भन्नाले अदालत, नेपाल सरकार वा प्रदेश सरकारको कार्यालय वा संवैधानिक निकाय सम्झनुपर्छ र उक्त शब्दले नेपाल सरकार वा प्रदेश सरकारको बजेट, अनुदान वा संलग्नता रहेको कुनै कार्यालय वा स्थानीय तहको कार्यालयलाई समेत जनाउँछ । (घ) ‘संगठित संस्था’ भन्नाले नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्था, कानूनबमोजिम स्थापित संस्था, कम्पनी वा गुठी सम्झनुपर्छ र त्यस शब्दले विश्वविद्यालय, महाविद्यालय वा विद्यालयसमेत जनउँछ । (२) उपदफा (१) बमोजिमका लिखत तयार गर्दा कारणबश अशुद्ध भएमा वा बेहोरा फरक परी सच्याउनुपरेमा जुन वाक्य, शब्द, अंक वा अक्षर सच्याउनुपर्ने हो सोही वाक्य, शब्द, अंक वा अक्षर फरक परेको देखिने गरी केरी वा संकेत गरी जेजस्तो वाक्य, शब्द, अंक वा अक्षर रहनुपर्ने हो त्यसरी केरिएको ठाउँभन्दा लगत्तै माथि वा तल लेखी सच्याउनुपर्नेछ र त्यसरी केरिएको वा सच्याएको प्रत्येक ठाउँमा सम्बद्ध कारणीले सहीछाप गर्नुपर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै लिखत केरमेट गरी सच्याउन नसकिने भएमा वा सकिने भएमा पनि सच्याइएको व्यहोराबाट द्विविधा वा शंका उत्पन्न हुने भएमा वा कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत भए त्यस्तो लिखतको सट्टा अर्को छुट्टै लिखत तयार गर्नुपर्नेछ ।
(४) उपदफा (१) बमोजिमको लिखतमा कुनै रकम उल्लेख गर्नुपर्दा अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ । (५) उपदफा (४) बमोजिम कुनै रकम खुलाउँदा अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको बेहोरा मान्य हुनेछ । भनी लिखत तयार पार्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गरिएको छ । लिखत तयार पारेपछि सम्बद्ध व्यक्तिहरूले लिखतमा सहीछाप गर्नुपर्ने हुन्छ, त्यसरी सहीछाप गर्दा वा गराउँदा लेख्न जान्नेले आफ्नो नाम, थर, वतन लेखी हस्ताक्षर गर्नुपर्ने हुन्छ, लेख्न नजान्नेले दुवै हातको बूढीऔंलाको ल्याप्चे सहीछाप गर्नुपर्छ भने सरकारी कार्यालय वा संगठित संस्थाबाट जारी हुने लिखतमा भने सम्बद्ध अधिकारीले आफ्नो नाम दर्जा खुलाई हस्ताक्षर गरी मितिसमेत उल्लेख गरी अड्डाको छाप लगाउनुपर्छ । एउटै विषयको लिखत एकभन्दा बढी पृष्ठको भए प्रत्येक पृष्ठको शिर र पुछारमा हस्ताक्षर गर्नुपर्छ भन्ने व्यवस्था दफा २९ र ३० ले गरेको छ ।
लेख्न पढ्न नसक्ने व्यक्तिलाई लिखतमा सहीछाप गराउँदा त्यस्तो व्यक्तिले चाहेमा निजले रोजेको व्यक्तिको रोहवरमा गराउनुपर्छ । त्यसरी रोहवरमा राखेकोमा रोहवरमा रहने व्यक्तिको निजले रोजेको बहोरासमेत सोही लिखतमा जनाई सहीछाप गराउनुपर्छ भन्ने व्यवस्था दफा ३५ मा गरिएको छ ।
यसै गरी हस्ताक्षर वा ल्याप्चे सहीछाप गर्नुपर्ने ५० हजार रुपैयाँभन्दा बढी रकमको नेपालभित्र घरसारमा तयार भएको लिखत सम्बद्ध पक्षहरू स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयबाट सक्कल लिखतको शिरमा त्यस्तो कार्यालयबाट प्रमाणित गराउनुपर्छ र त्यसरी प्रमाणित गर्दा कारणीहरूलाई पनि सहीछाप गराउनुपर्छ । सहीछाप गर्न नसक्ने कारणीका हकमा त्यस्तो सहीछाप गर्नुपर्ने व्यक्तिको हकमा संरक्षक वा माथवरलाई रोहवरमा राखी सहीछाप गराउनुपर्ने कानूनी व्यवस्था छ । त्यसरी लिखत प्रमाणित गरेबापत त्यस्तो कार्यालयले २ सय रुपैयाँसम्म दस्तुर लिन सक्ने व्यवस्था दफा ३६ ले गरेको छ । त्यसअनुरूप रीत नपुगेको लिखत अदालतबाट कार्यान्वयन हुन सक्दैन । लिखत तयार पार्दा कारणीको स्पष्ट पहिचान जस्तो तीनपुस्ते विवरण, पति या पत्नीको नाम, ठेगाना, नागरिकता नम्बरका साथै विदेशी व्यक्ति भए राहदानीलगायत परिचय खुल्ने सम्पूर्ण विवरण उल्लेख हुनुपर्छ । माथवर वा संरक्षकको रोहवरमा लिखत गराउँदा पनि ती सबै कुरा आवश्यक पर्ने व्यवस्था दफा ३७ मा गरिएको छ भने संगठित संस्थाको हकमा त्यस्तो संस्थाको स्पष्ट पहिचान खुुुुल्ने विवरण साथै संस्थाको छाप अनिवार्य हुन्छ ।
लिखत कुन ठाउँमा तयार पारेको हो त्यो ठाउँ र मिति स्पष्ट लेखिनुका साथै करार गर्नयोग्य कम्तीमा दुईजना साक्षी आवश्यक पर्छ । लिखत कारणी आपैmले लेखेको भए सोही बेहोरा र अन्यले मस्यौदा गरेको भए मस्यौदाकारको नामका साथै स्पष्ट पहिचान खुल्नुपर्छ । कानूनबमोजिम रीत पुगेको लिखतले मात्र कानूनी मान्यता प्राप्त गर्छ । कुनै लिखत कारणी स्वयम आफ्नै हस्ताक्षरले लेखेको रहेछ र उक्त कुरा प्रमाणित भएमा त्यस्तो लिखतले पनि मान्यता पाउँछ । विद्युतीय माध्यमबाट कुनै लिखत तयार गर्न सकिने गरी व्यवस्था भएकोमा त्यसरी तयार भएको लिखतलाई पनि रीतपूर्वक नै भएको मानिने व्यवस्था ऐनले गरेको छ । साविकको मुलुकी ऐन २०२० को कागज जाँचको महलमा यस सम्बन्धमा व्यवस्था गरिएको थियो भने त्यसैको परिमार्जित रूप यो ऐनमा आएको छ । यसरी मुलुकी देवानी कार्यविधि संहिता २०७४ ले व्यक्तिहरूका बीचमा लिखत तयार पार्दा अपनाउनुपर्ने कार्यविधिका बारेमा स्पष्ट व्यबस्था गरेको छ ।
लेखक अधिवक्ता हुन् ।