कुनै पनि व्यक्तिले आफूले गर्नुपर्ने काम गर्न नभ्याएमा वा नसकेमा कानूनबमोजिम अर्को व्यक्तिद्वारा पनि गराउन सकिने व्यबस्था छ । सोहीअनुरूप कुनै पनि व्यक्तिले आफ्ना तर्फबाट अड्डा अदालतमा मुद्दा मामलासँग सम्बद्ध कुनै पनि कार्य गर्न वा कानूनबमोजिम खास काम गर्न अर्को व्यक्तिलाई आफ्नो सट्टामा प्रतिनिधि नियुक्त गर्न सक्छ । त्यसरी प्रतिनिधि नियुक्त भएको व्यक्ति वारिस हो । त्यस्तो वारिस नियुक्ति गर्दा वारिस दिने र लिनेका बीच कानूनले निर्धारण गरेको ढाँचामा रीतपूर्वक लेखिएको लिखतलाई वारिसनामा भनिन्छ, यो २ प्रकारको हुन्छ– एउटा साधारण वारिसनामा र अर्को अधिकृत वारिसनामा । मुलुकी देवानी कार्यविधि संहिता २०७४ को परिच्छेद १३ मा यससम्बन्धी व्यबस्था गरिएको छ ।
कानूनबमोजिम योग्यता पूरा भएको व्यक्ति मात्र वारिस हुनसक्छ । कानूनबमोजिम करार गर्न योग्य, अड्डा अदालतबाट फैसलाबमोजिम सरकारी बिगो, फैसला कार्यान्वयन गरेबापत अदालतलाई तिर्नुपर्ने कुनै दस्तुर, अदालती दस्तुर वा कुनै जरीवाना तिर्न बाँकी रहेको व्यक्ति कासाथै किर्ते जालसाजी वा भ्रष्टाचार वा नैतिक पतन देखिने कसूरमा सजाय पाएको व्यक्ति वारिस हुन अयोग्य हुन्छ । तर, एकासगोलको अर्थात् एकै घरपविारको व्यक्तिलाई भने वारिस हुन कुनै योग्यता चाहिँदैन । यसै गरी वारिसनामाको लिखतमा दुई जना साक्षीहरूका साथै लेखकको सहीछाप र परिचय हुनुपर्छ । एकै व्यक्ति मुद्दाका पक्ष विपक्षहरूको वारिस बन्न सक्दैन । तर, एकभन्दा बढी व्यक्तिहरूको वारिस भने हुन सक्छ । एउटा अदालतमा विचाराधीन रहेको मुद्दामा वारिस भएको व्यक्ति अर्को अदालतमा विचाराधीन रहेको अर्को मुद्दामा वारिस हुन सक्नेछ । वारिसनामामा लेखिदिएको अधिकार वारिसले प्रयोग गर्ने हो ।
मुलुकी देवानी संहिता २०७४ को दफा १५३ ले अधिकृत वारिससम्बन्धी व्यवस्था गरेको छ । कुनै पनि व्यक्तिले आफ्नो तर्फबाट कुनै मुद्दा किटान गरी वा नगरी फिराद गर्न प्रतिउत्तरपत्र दर्ता गर्न फिराद दाबी फिर्ता गर्न मिलापत्र गर्न वा अन्य कानूनी कामकारबाहीका लागि वारिसनामाको कागज लेखी कुनै व्यक्तिलाई अधिकृत वारिस नियुक्ति गर्नसक्ने कानूनी व्यवस्था छ । कसैले आफ्ना तर्फबाट कुनै पनि व्यक्तिलाई कुनै मुद्दा किटान गरी वा नगरी फिराद गर्न प्रतिउत्तरपत्र दर्ता गर्न फिराद दाबी फिर्ता गर्न मिलापत्र गर्न वा अन्य कानूनी कामकारबाहीका लागि वारिसनामाको कागज लेखी अधिकृत वारिस नियुक्ति गर्न सक्नेछ ।
कानुनमा कुनै पनि मुद्दा किटान नगरी सामान्य रूपमा अधिकृत वारिस नियुक्त गर्नुपरेमा देशभित्र भए जिल्ला अदालतको न्यायाधीश र विदेशमा भए नेपाली राजदूत वा महावाणिज्यदूतको रोहवरमा वारिसनामा दिने व्यक्तिले वारिसनाममा सहीछाप गरी प्रमाणित गराउनुपर्छ । त्यस्तो वारिसनामा प्रमाणित गराउन चाहनेले वारिसनामाको कागजमा आफ्नो र वारिस नियुक्त हुने व्यक्तिको फोटो टाँसी वारिस लिने दिने दुवैको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि जिल्ला न्यायाधीश वा नेपाली राजदूतावास वा महावाणिज्य दूतावाससमक्ष पेश गर्नुपर्ने हुन्छ । यसरी नियुक्त भएको व्यक्ति मुद्दाको कारबाही सुनुवाई र किनारा हुँदा अदालतमा उपस्थित हुन वा त्यस्तो प्रयोजनका लागि उसले अर्को व्यक्तिलाई वारिस नियुक्त गर्नसक्ने कानूनी व्यवस्था छ ।
यसै गरी दफा १५४ ले अधिकृत वारिसमार्फत अचल सम्पत्तिको हक हस्तान्तरण गर्न सक्ने व्यवस्था गरेको छ । कुनै पनि व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको कुनै अचल सम्पत्ति किटान गरी विक्रीवितरण गर्न, सट्टापट्टा गर्न, हालैको बकसपत्र गरिदिन वा अन्य कुनै तरीकाले हक हस्तान्तरण गर्ने कार्यका लागि कानूनबमोजिम रजिस्ट्रेसन गर्नुपर्ने लिखत पारित गराउन सम्बद्ध कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिले आफू उपस्थित हुन नसक्ने उचित कारण खुलाई वारिसनामाद्वारा अधिकृत वारिस नियुक्त गरी त्यस्तो काम गराउन सक्ने व्यवस्था छ । यस्तो अधिकृत वारिसको नियुक्ति माथि उल्लिखित दफा १५३ बमोजिम नै हुनेछ । यसरी अधिकृत वारिस नियुक्त हुनेले वारिस नियुक्त गर्ने व्यक्तिका तर्फबाट उसलाई दिएको वारिसनामाको शर्तको अधीनमा रही काम गर्नुपर्ने हुन्छ । यस्तो अधिकृत वारिस नियुक्त गरी शेषपछिको बकसपत्र गर्न भने पाउँदैन । यस्तो वारिसनामा प्रमाणित गर्दा वारिसनामा दिने र लिने तीन पुस्ताको नाताभित्र भएमा ५ सय रुपैयाँ र त्यसबाहेक अन्यलाई सम्पत्ति विक्री गर्ने वा हक छाडी दिने गरी गरिएको वारिसनामा प्रमाणित गर्दा ५ हजार रुपैयाँ दस्तुर लाग्ने व्यवस्था छ ।
यसै गरी दफा १५५ ले अधिकृत वारेसको हैसियत ८ प्रकारले अन्त्य हुने भन्ने बारेमा व्यवस्था गरेको छ । कुनै निश्चित काम, प्रयोजन र समयावधि किटान गरिदिएको अधिकृत वारिस त्यस्तो काम प्रयोजन वा अवधि समाप्त वा भुक्तान भएपछि, कुनै खास घटना वा अवस्था पूरा भएपछि वा त्यस्तो घटना अवस्था अन्त्य भएपछि कायम नरहने गरी दिएको अधिकृत वारिस, त्यस्तो अबस्था पूरा भएमा वा नरहेमा, वारिस नियुक्ति गर्ने व्यक्तिले राष्टियस्तरका कुनै दुई दैनिक समाचारपत्रमा सूचना प्रकाशन गरी वारिस बदर गरेमा, अख्तियारनामाबमोजिमको काम पूरा हुनुअघि नै वारिस दिने वा लिने व्यक्तिको मृत्यु भएमा, वारिसमार्फत हक हस्तान्तरण वा सट्टापट्टा गर्ने भनिएको सम्पत्ति हक हस्तान्तरण वा सट्टापट्टा गरेपछि, अख्तियारनामाबमोजिमको सम्पत्तिका सम्बन्धमा वारिस नियुक्त गर्ने र वारिस हुने वा निजको एकासगोलको व्यक्तिबीच अदालतमा मुद्दा परेमा, अधिकृत वारिस लिने र दिने व्यक्तिका बीच अदालतमा कुनै मुद्दा परेमा, अधिकृत वारिस हुनेले त्यस्तो हैसियतमा काम गर्न अनिच्छा प्रकट गरी वारिस नियुक्त गर्ने व्यक्तिलाई अधिकृत वारिसनामाको सक्कल प्रतिसहित लिखत जानकारी दिएमा अधिकृत वारिसको हैसियत अन्त्य हुन्छ ।
यसरी हेर्दा कनै व्यक्ति आफै सम्बद्ध काम गर्न उपस्थित हुन असमर्थ भएकोमा निजको सट्टामा काम गर्न दिइने अख्तियारनामा कानूनबमोजिम रीतपूर्वक हुनुपर्ने र जुन कामका लागि अख्तियारी दिइएको हो । सोहीबमोजिम गर्नुपर्ने व्यवस्था मुलुकी देवानी कार्यविधि संहिता २०७४ ले स्पष्ट गरेको छ ।
लेखक अधिवक्ता हुन् ।