काठमाडौं । गत साउन देखी रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिंहदबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता साउन देखि रोकिएको भन्दै यथासिघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनका लागि अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्रालयमा पुगेको हो ।
ज्ञापन पत्र बुझे पछि युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरणको भूमिका खेल्ने बताउनुभयो ।
गत वर्ष नेपालमा नै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । तर ती स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् । प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेको कार्यक्रममा जानकारी दिए ।
गत आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन बापत प्राप्त गर्दै आएका थिए ।