वैशाख १४, नयाँ दिल्ली (भारत) । चालू त्रैमासमा भारतको अर्थतन्त्र खुम्चने अनुमान गरिएको छ ।
कोरोना भाइरसको महामारी अनियन्त्रित बनेसँगै अर्थशास्त्रीहरुले यस्तो चेतावनी दिएका हुन् । यद्यपि, अर्को त्रैमासमा भने अर्थतन्त्रमा सुधार आउने बताइएको छ । मंगलवार भारतमा ३ लाख २३ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए ।
योसँगै कूल संक्रमितको संख्या १ करोड ७६ लाखमा पुगेको छ । योसँगै संक्रमितको संख्याले लगातार पाँचौं दिन पनि नयाँ उचाई छोएको हो ।
पहिलो त्रैमासमा अर्थतन्त्र स्पष्ट रुपमा उल्लेख्य रुपमा घट्ने नोमुराका भारतीय प्रमुख अर्थशास्त्री सोनल बर्माले बताइन् । अप्रिल–जुन त्रैमासमा अर्थतन्त्र १ दशमलव ५ प्रतिशतले खुम्चने उनको अनुमान छ ।
उच्च संक्रमण नियन्त्रण गर्न केही राज्यमा ताजा लकडाउन र निषेधाज्ञा गरिएको छ । थप प्रतिबन्ध हुने अपेक्षा गरिएको छ । यसले अप्रिल र मेमा पनि गतिविधि प्रभावित बनाउने उनले बताइन् ।
आर्थिक वर्ष २०२० को पहिलो त्रैमासको तुलनामा भने सो अवधिमा अर्थतन्त्र २५ प्रतिशतभन्दा धेरैले बढ्न सक्ने बताइएको छ ।
त्यतिबेला भारतीय अर्थतन्त्र करीब २४ प्रतिशतले खुम्चिएको थियो । गत त्रैमासको तुलनामा जुनमा सकिने त्रैमासमा अर्थतन्त्र २० देखि २३ प्रतिशतबीच खुम्चने डीबीएसमा अर्थशास्त्री राधिका रावले बताइन् । एजेन्सी