नारायण ढुङ्गाना, धनुषा ।
यहाँस्थित वीरेन्द्र बजारको सडकपेटीमा एक महिला अशक्त अवस्थामा देखिनुभयो । लामो समय सडकवास हुँदा चिसोका कारण घुँडा सुन्निएकाले उहाँ राम्ररी हिँडडुल गर्न सक्नुभएको थिएन । वरपर मान्छेको आवतजावत बाक्लै भए पनि कसैको नजर उहाँमा परेको थिएन । बेवारिसे व्यक्तिलाई हेर्ने दृष्टिकोण नै समाजमा अझै पनि सकारात्मक छैन भन्ने तीतो यथार्थ त्यहाँ देखियो ।
यत्तिकैमा एक हुल युवा हरर…आइपुगे । एक्कासि नयाँ मानिसको जमघट देखेपछि स्थानीयवासीको जमघट बढ्यो । उनीहरु खुसामद गर्दै थिए । कतिले पैसा बाँड्न लागेको र खाना बाँड्न लागेको कुरा पनि खुसामद गर्दै थिए । त्यो युवा समूह अरु कोही नभएर मानव सेवा आश्रमको मेची–महाकाली उद्धार अभियानकर्मी थिए ।
बेसहाराको उद्धारमा खटिएका युवाले उहाँलाई स्टे«चरमा राख्नै लाग्दा महिलाको आँखाबाट बरर… आँसुका धारा बग्यो । मलिन अनुहारमा दुई हात जोडेर उहाँले सबैसामु सहयोगको भिख माग्नुभयो । यसअघि यसरी कसैले नगरेको काम एक्कासि प्राप्त मायाले उहाँ चकित पनि हुनुभयो ।
फरक भाषा भएकाले बुझ्न नसकिए पनि उहाँका हाउभाउले धेरै पीडा बोलिरहेको थियो । कारुणिक अवस्थाबाट उद्धार गरी उहाँलाई सर्लाहीस्थित हरिवनमा रहेको मानव सेवा आश्रममा ल्याएर राखिएको छ । ‘केही भन्न खोज्दै हुनुहुन्थ्यो तर भन्न सकिरहनुभएको थिएन, हामीले तत्कालै उद्धार गरेर स्टे«चरमा राख्दा पनि उहाँ ऐया… ऐया भन्दै रुनुमात्र भयो’, उद्धारकर्मी सुशीला केसी सम्झनुहुन्छ, ‘आश्रम ल्याएर सरसफाइ गरेपछि उहाँको पीडा निकै कम भएको छ ।’
सिरहाको लहान बजारस्थित सडकमा फेला परेका चार व्यक्तिलाई पनि सोही बेला नेपाल प्रहरीले उद्धार टोलीको जिम्मा लगायो । उनीहरु सबैलाई मेचीकाली अभियानमा खटिएको टोलीले एम्बुलेन्समा राखेर मानव सेवा आश्रममा पुर्याई खाना, नाना र छानाको आवश्यक प्रबन्ध गरिएको छ । टोलीले आफैँ राजमार्गमा घुमेर सडकमा रहेका बेसहाराको उद्धार गरिरहेको छ ।
उक्त टोलीमा एम्बुलेन्सहित स्वास्थ्यकर्मी परिचालित छन् । जहाँ मिल्छ, त्यहाँ आफैँ खाना पकाएर खाँदै टोलीले उद्धार अभियान चलाइरहेको छ । युवाले सोही क्रममा सामाजिक सचेतना दिने, स्थानीय तह र प्रदेश सरकारलाई घच्घच्याउने काम पनि एकैसाथ गर्दै आएका छन् ...