काठमाडौं । सन २०२२ मा विश्वव्यापी व्यापार अपेक्षा गरिएभन्दा कम हुन सक्ने बताइएको छ । अमेरिकामा व्याप्त मुद्रास्फीति र चीनको घरजग्गा बजारसँग सम्बन्धित चिन्ताका कारण यो वर्ष विश्व व्यापार सुस्ताउने संयुक्त राष्ट्र संघको व्यापार तथा विकास सम्मेलन (आँकटाड)ले अनुमान गरेको हो ।
आँकटाडले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०२१ मा विश्व व्यापार २८५ खर्ब डलरको कीर्तिमानी उचाईमा उक्लिएको छ । यो सन् २०२० को तुलनामा २५ प्रतिशत धेरै हो भने कोभिडको महामारी शुरु हुनु अघि अर्थात् सन् २०१९ को तुलनामा १३ प्रतिशत धेरै हो । गएको वर्ष वस्तु व्यापार पनि ५० अर्ब डलरले बढेर १६ खर्ब डलरमा उक्लिएको छ । यो महामारी पूर्वको स्तरभन्दा ठयाक्कै माथि हो ।
विकाशोन्मुख देशका व्यापारमा उच्च वृद्धि
सन् २०२१ को अन्तिम त्रैमासमा मुख्य व्यापारिक अर्थतन्त्रका आयात र निर्यात बढेर महामारी पूर्वको स्तरमा उक्लिएको छ । तर वस्तु व्यापारमा वृद्धि मुख्यतः विकसित देशभन्दा विकाशोन्मुख देशमा सुदृढ देखिएको छ ।
गत वर्ष विकाशोन्मुख देशका निर्यात सन् २०२० को सोही अवधिको तुलनामा झन्डै ३० प्रतिशतले बढेको छ । सोही अवधिमो धनी देशहरुको निर्यात १५ प्रतिशतले मात्रै बढेको छ । कमोडिटिजको भाउमा भएको वृद्धिका कारण कमोडिटी निर्यातकर्ता देशहरुको निर्यात यो भन्दा पनि उच्च छ । विकासोन्मुख देशहरुबीचको व्यापार समीक्षा अवधिमा ३२ प्रतिशतले बढेको छ ।
अधिकांश क्षेत्रको क्षेत्रको व्यापारमा उल्लेख्य वृद्धि
यातायातका उपकरणहरुबाहेक सबै आर्थिक क्षेत्रमा सन् २०२० को अन्तिम त्रैमासको तुलना सन् २०२१ को अन्तिम त्रैमासमा व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । इन्धनको मूल्यमा भएको उच्च वृद्धिका कारण ऊर्जा क्षेत्रको व्यापार आयतनमा वृद्धि देखिएको प्रतिवेदनमा बताइएको छ ।
‘धातु र रसायन क्षेत्रको व्यापार वृद्धि पनि औसतभन्दा उच्च छ,’ प्रतिवेदनमा उल्लेख छ । विश्वभर उत्पन्न चिप अभावका कारण दूरसञ्चार उपकरण, सडक सवारी साधन र परिशुद्धतासम्बन्धी उपकरणको व्यापार वृद्धि भने सुस्ताएको छ ।
२०२२ को अवस्थासम्बन्धी प्रक्षेपण
सन् २०२० को पहिलो त्रैमासमा विश्व व्यापार सुस्ताउन सक्ने संकेत प्रतिवेदनमा आँकटाडले गरेको छ । वस्तु र सेवा दुबैमा सकारात्मक वृद्धि दर देखिएपनि यो वृद्धि झिनो हुने बताइएको छ । व्यापारको आयतन भने सन् २०२१ को पहिलो तीन महीनाकै स्तरमा रहने अनुमान गरिएको छ ।
‘मुख्यतः कमोडिटिजको भाउमा भएको वृद्धि, महामारीका कारण लगाइएको प्रतिबन्धको प्रभाव कम गर्न दिइएको सहुलियत र आर्थिक प्रोत्साहनका कार्यक्रमका कारणमा मागमा भएको पुनःबहालीले सन् २०२१ मा अन्तरराष्ट्रिय व्यापारमा सकारात्मक प्रवृत्ति देखियो,’ प्रतिवेदनमा उल्लेख छ । यी प्रवृत्तिहरु घट्ने सम्भावनाबीच यस वर्ष विश्व व्यापार सामान्य स्तरमा फर्किने अनुमान भने बलियो भएको छ ।
समष्टिगत आर्थिक प्रवृत्तिहरुलाई हेर्दा यस वर्ष विश्व व्यापारमा वृद्धि अपेक्षा गरिएभन्दा कम हुन सक्ने देखिएको छ । यसको कारणमा आँकटाडले प्रतिवेदनमा अमेरिकामा लगातार बढिरहेको महँगी र चीनको घरजग्गाा बजारमा देखिएको समस्या तर्फ औंल्याउँदै बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषले विश्वको आर्थिक वृद्धिको प्रक्षेपण शून्य दशमलव ५ प्रतिशतले घटाएको कुरालाई उद्धृत गरेको छ ।
अहिले विश्वभर लजिष्टिक क्षेत्रमा देखिएको अवरोध र इन्धनको भाउमा भइरहेको वृद्धिले पनि यस वर्ष विश्व व्यापार प्रभावित पार्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । क्षेत्रीय स्तरमा भइरहेका विविध व्यापार सम्झौता र क्षेत्रीय पहलका साथै भौगोलिक रुपमा निकट आपूर्तिकर्तामाथिको बढ्दो निर्भरता कारण व्यापारमा क्षेत्रीयकरणको प्रवृत्ति बढेको पनि आँकटाडको भनाइ छ ।
महामारी नियन्त्रण र यसको प्रभाव कम गर्न विश्वभर सरकारहरुले कर्जाकोे साहारा लिँदा सरकारी कर्जा चुलिएको छ । मुद्रास्फीतिको चाप कम गर्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा कर्जाको भार उच्च रहेका सरकारहरुमाथि दबाब बढ्ने, सुरक्षाछिद्रहरु झनै ठूलो बन्ने र यसले लगानी र अन्तरराष्ट्रिय व्यापार प्रवाहमा नकारात्मक असर पार्न सक्ने चेतावनी प्रतिवेदनले दिएको छ । एजेन्सीको सहयोगमा