पुस २३, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएसँगै निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि कात्तिक २३ गते सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाँउछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको हो । स्वेडा लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत कम्पनी होइन ।
सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नु पर्ने भएकाले यस कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा आयोजना गरिसकेको छ । सभा होटल सारथि धुलिखेल काभ्रे पालञ्चोक मा बिहान ११:३० बजे शुरु हुने जानकारी गराएको हो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९३ प्रतिशत अर्थात् २ दशमलव ९३ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २ करोड १७ लाख ३७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड ३७ लाख ६१ हजार पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढ्न सहयोग पुगेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ११५ प्रतिशत र सञ्चालन नाफा १९३ प्रतिशत वृद्धि भएको हो । चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजार रहेको कम्पनीले जगेडामा रू. ४१ करोड १७ लाख ८७ हजार सञ्चित गरेको हो ।
त्यसैगरी, चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ४६ करोड ६ लाख सापटी लिएर रू. २ अर्ब १३ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. ८ अर्ब ११ करोड ९४ लाख कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५८ दशमलव ६२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१९४ दशमलव ६५ पुगेको छ ।