धरान (अस) । मुलुकभरका ११ ओटा संघीयस्तरका कृषि बजारमध्ये धरानको कृषि उपज बजार स्थल आठौंपटक उत्कृष्ट घोषित भएको छ । कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको जानकारी दिए ।
धरान कृषि बजार २०७५ सालयता लगातार उत्कृष्ट घोषित हुँदै आएको छ । कृषि मन्त्रालयले हरेक वर्ष विश्व खाद्य दिवसको अवसर पारेर उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ ।
धरानको कृषि उपज बजार स्थल प्रथम, सिन्धुली कृषि थोक बजार दोस्रो र बुटवल कृषि थोक बजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको भट्टराईले जानकारी दिए । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्था लगायतको अनुगमन र मूल्यांकन गरेर वर्षेनि थोक बजारलाई पुरस्कृत गर्ने गरिएको छ । प्रथम, दोस्रो र तेस्रो हुने बजारहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् ।
बजार व्यवस्थापन समतिका अध्यक्ष पशुराम कटुवालले व्यवस्थापनमा सबैको सहयोग र सहकार्यका कारण सफलता हात पार्न सफल बनेको वताए । उनले आगामी दिनमा पनि थप व्यवस्थित गर्दै अन्तरराष्ट्रियस्तरको बजार बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छन् ।