मंसिर २३, काठमाडौं । राइड शेयरिङ कम्पनी पठाओ नेपालले स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) लाई प्राथमिक उपचारसम्बन्धी तालिम दिएको छ ।
करीब ३०० जना क्याप्टेनलाई प्राथमिक उपचार र घाइते अथवा बिरामीलाई अस्पताल लग्दा अपनाउनुपर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन् ।
क्याप्टेनहरुलाई जीवन रक्षकका रुपमा स्वास्थ्यका कुरामा अझ सम्वेदनशील बनाउन कार्यक्रम गरिएको उनको भनाइ छ ।
‘काठमाडौ उपत्यकामा अस्पताल पुग्नका लागि यात्रुहरुको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ । फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडीमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुनसक्छ,’ हमालले भनिन् ‘हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ । यसैले क्याप्टेनहरुलाई स्वास्थ संवेदनशीलताप्रति सजग गराउनु कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।’
तालिममा बिरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेश गरिएको बताइएको छ ।
अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रिवि शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सञ्चालन गरिएको बताइएको छ ।