काठमाडौं । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा होटल तथा पर्यटन समूहका कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । नेप्सेमा होटल तथा पर्यटन समूहका ६ कम्पनीमध्ये सिटी होटलबाहेक सबै कम्पनीको नाफा उल्लेख्यरूपमा वृद्धि भएको हो ।
गत आवमा यी कम्पनीहरूले कुल रू. १ अर्बभन्दा बढी नाफा कमाएका छन् । यो अघिल्लो आवको तुलनामा १२५ प्रतिशत बढी हो । अघिल्लो आवमा यी कम्पनीहरूको नाफा कुल रू. ४५ करोड २ लाख थियो ।
केही समयअगाडि आईपीओ निष्कासन गरेको सिटी होटल भने गत आवमा रू. २७ करोड ३६ लाख नोक्सानीमा छ । अघिल्लो आवमा पनि कम्पनी रू. ४ करोड ४६ लाख नोक्सानीमा थियो । यस आधारमा कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ ।
यसो त अघिल्लो आवमा रू. २ करोड ४६ लाख नोक्सानीमा रहेको ओरियण्टल होटल भने गत आवमा रू. १७ करोड ८४ लाख नाफामा छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीले थला परेको होटेल तथा पर्यटन क्षेत्र अहिले भने तंग्रिने क्रममा छ
गत आव २०७९/८० को सुरुमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा होटल व्यवसाय खस्किएको थियो भने वर्षको अन्त्यतिर आउँदा होटेल क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । गत वैशाख, जेठ र असारमा अन्तरराष्ट्रिय पर्यटक आवागमनमा सुधार आई पर्यटकीय गतिविधि बढेकाले होटेल क्षेत्रको व्यावसायिक गतिविधिमा उल्लेख्य वृद्धि भएसँगै यी कम्पनीहरूको नाफामा वृद्धि भएको हो ।
सबैभन्दा बढी नाफा सोल्टी होटलले रू. ५४ करोड ५१ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८३ दशलमव ४० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले रू. २९ करोड ७२ लाख नाफा कमाएको थियो ।
होटल तथा पर्यटन समूहमध्ये सर्वाधिक नाफा कमाउने कम्पनीको सूचीमा दोस्रोमा तारागाउँ रिजेन्सी होटल छ । उक्त कम्पनीले गत आवमा रू. ३८ करोड २६ लाख नाफा कमाएको हो ।
प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा चन्द्रागिरी हिल्सले कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ७९६ प्रतिशत वृद्धि भएको हो । यस कम्पनीले अघिल्लो आवमा रू. १ करोड ६८ लाख नाफा कमाएकोमा गत आवमा बढेर १५ करोड ११ लाख पुगेको छ ।
कम्पनीहरूले गत आव र अघिल्लो आवमा कमाएको नाफा र फरक प्रतिशत