पर्यटन व्यवसायमा सुधार आएसँगै सोल्टी होटलको नाफा उल्लेख्य वृद्धि

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार होटलको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१२ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलले रू. ४ करोड ९० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. २५ करोड १४ लाख पुगेको हो ।  पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएकोले नाफा बढ्न पुगेको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा बढेर रू. ३० करोड ६२ लाख पुगेको हो ।  त्यस्तै कम्पनीको कुल आम्दानी ११४ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलको कुल आम्दानी रू. ४४ करोड ७८ लाख रहेकोमा चालू आवमा बढेररू. ९६ करोड १ लाख पुगेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ५८ रहेकोमा चालू आवमा बढेर रू. २ दशमलव ९८ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ७४ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३ दशमलव ५१ रहेको छ । होटलको चुक्तापूँजी रू. ८४ करोड २५ लाख रहेको छ भने जगेडामा रू. १ अर्ब १३ करोड भन्दा बढी सञ्चित गरेको छ ।   

सम्बन्धित सामग्री

होटल तथा पर्यटन समूहका कम्पनीको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा होटल तथा पर्यटन समूहका कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । नेप्सेमा होटल तथा पर्यटन समूहका ६ कम्पनीमध्ये सिटी होटलबाहेक सबै कम्पनीको नाफा उल्लेख्यरूपमा वृद्धि भएको हो ।  गत आवमा यी कम्पनीहरूले कुल रू. १ अर्बभन्दा बढी नाफा कमाएका छन् । यो अघिल्लो आवको तुलनामा १२५ प्रतिशत बढी हो । अघिल्लो आवमा यी कम्पनीहरूको नाफा कुल रू. ४५ करोड २ लाख थियो । केही समयअगाडि आईपीओ निष्कासन गरेको सिटी होटल भने गत आवमा रू. २७ करोड ३६ लाख नोक्सानीमा छ । अघिल्लो आवमा पनि कम्पनी रू. ४ करोड ४६ लाख नोक्सानीमा थियो । यस आधारमा कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ ।  यसो त अघिल्लो आवमा रू. २ करोड ४६ लाख नोक्सानीमा रहेको ओरियण्टल होटल भने गत आवमा रू. १७ करोड ८४ लाख नाफामा छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीले थला परेको होटेल तथा पर्यटन क्षेत्र अहिले भने तंग्रिने क्रममा छ    गत आव २०७९/८० को सुरुमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा होटल व्यवसाय खस्किएको थियो भने वर्षको अन्त्यतिर आउँदा होटेल क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । गत वैशाख, जेठ र असारमा अन्तरराष्ट्रिय पर्यटक आवागमनमा सुधार आई पर्यटकीय गतिविधि बढेकाले होटेल क्षेत्रको व्यावसायिक गतिविधिमा उल्लेख्य वृद्धि भएसँगै यी कम्पनीहरू‍को नाफामा वृद्धि भएको हो ।  सबैभन्दा बढी नाफा सोल्टी होटलले रू. ५४ करोड ५१ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८३ दशलमव ४० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले रू. २९ करोड ७२ लाख नाफा कमाएको थियो । होटल तथा पर्यटन समूहमध्ये सर्वाधिक नाफा कमाउने कम्पनीको सूचीमा दोस्रोमा तारागाउँ रिजेन्सी होटल छ । उक्त कम्पनीले गत आवमा रू. ३८ करोड २६ लाख नाफा कमाएको हो ।  प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा चन्द्रागिरी हिल्सले कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ७९६ प्रतिशत वृद्धि भएको हो । यस कम्पनीले अघिल्लो आवमा रू. १ करोड ६८ लाख नाफा कमाएकोमा गत आवमा बढेर १५ करोड ११ लाख पुगेको छ ।   कम्पनीहरूले गत आव र अघिल्लो आवमा कमाएको नाफा र फरक प्रतिशत

पर्यटन व्यवसायमा सुधारसँगै होटल तथा पर्यटन समूहका कम्पनीको बढ्यो नाफा

काठमाडौं । पछिल्लो समय पर्यटन व्यवसायमा सुधार आएसँगै नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीको नाफा उल्लेख्य रूपमा वृद्धि भएको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्र बिस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या वृद्धि भएकाले गत वर्ष नोक्सानीमा रहेका होटलहरू यस आवमा नाफामा गएका छन् ।  नेपाल स्टक एक्सचेन्जमा तीन ओटा होटल र टुरिजम समूहको चन्द्रागिरी हिल्स सूचीकृत छन् । यी चार ओटै कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा सोल्टी होटल लिमिटेडको रहेको छ । यस होटलले चालू आवको दोस्रो त्रैमाससम्म रू. २५ करोड १४ लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले रू. ४ करोड ९० लाख नाफा कमाएको थियो ।  पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा रू. ३० करोड ६२ लाख पुगेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलले चालू आवमा मात्रै रू. १० करोड ६१ लाख नाफा कमाएको छ । गत आवमा यो होटल रू. १२ लाख ५९ हजार नोक्सानीमा थियो । चालू आवमा यस होटलको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । गत आवमा यस होटलको सञ्चालन आम्दानी रू. २६ करोड ४७ लाख रहेकोमा चालू आवमा रू. ५३ करोड ११ लाख पुगेको छ ।  त्यसैगरी पर्यटन समूहको चन्द्रागिरी हिल्स लिमिटेडले चालू आवमा रू. ५ करोड १४ लाख नाफा कमाएको छ । गत आवमा कम्पनी रू. ५८ लाख ६ हजार नोक्सानीमा थियो । आन्तरिक पर्यटकहरूको भ्रमणमा भएको वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेर कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । साथै नेपाल भ्रमण गर्ने तथा नेपालमा कार्यक्रम गर्ने विदेशी पर्यटकहरूको संख्यामा समेत सुधार भएको र पर्यटकहरूको गतिविधिमा वृद्धि भएकोले कम्पनीको नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी गत आवमा रू. २८ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ४० करोड ८२ लाख पुगेको छ ।  त्यस्तै ओरियण्टल होटल्सले चालू आवमा रू. ३ करोड ६५ लाख नाफा कमाएको छ । गत आवमा भने होटल्स रू. ८ करोड नोक्सानीमा थियो । यस होटल्सको पनि आम्दानी वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १५ करोड ९ लाख भएकोमा चालू आवमा बढेर रू. ४३ करोड ९० लाख पुगेको छ ।  कसको नाफा कति ? कम्पनीको नाम नाफा रू. हजारमा (दोस्रो त्रैमास)  फरक प्रतिशत     चालू आव             गत आव सोल्टी होटल  २५१४३८ ४९०३४ ४१३ तारागाउँ रिजन्सी होटल १०६१६७ – १२५९ – चन्दागिरी हिल्स ५१४८७ – ५८०६ – ओरियण्टल होटल्स ३६५७५ – ८००२७ –  स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण ।