काठमाडौं । पछिल्लो समय पर्यटन व्यवसायमा सुधार आएसँगै नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीको नाफा उल्लेख्य रूपमा वृद्धि भएको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्र बिस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या वृद्धि भएकाले गत वर्ष नोक्सानीमा रहेका होटलहरू यस आवमा नाफामा गएका छन् ।
नेपाल स्टक एक्सचेन्जमा तीन ओटा होटल र टुरिजम समूहको चन्द्रागिरी हिल्स सूचीकृत छन् । यी चार ओटै कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा सोल्टी होटल लिमिटेडको रहेको छ । यस होटलले चालू आवको दोस्रो त्रैमाससम्म रू. २५ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले रू. ४ करोड ९० लाख नाफा कमाएको थियो ।
पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा रू. ३० करोड ६२ लाख पुगेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलले चालू आवमा मात्रै रू. १० करोड ६१ लाख नाफा कमाएको छ । गत आवमा यो होटल रू. १२ लाख ५९ हजार नोक्सानीमा थियो । चालू आवमा यस होटलको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । गत आवमा यस होटलको सञ्चालन आम्दानी रू. २६ करोड ४७ लाख रहेकोमा चालू आवमा रू. ५३ करोड ११ लाख पुगेको छ ।
त्यसैगरी पर्यटन समूहको चन्द्रागिरी हिल्स लिमिटेडले चालू आवमा रू. ५ करोड १४ लाख नाफा कमाएको छ । गत आवमा कम्पनी रू. ५८ लाख ६ हजार नोक्सानीमा थियो । आन्तरिक पर्यटकहरूको भ्रमणमा भएको वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेर कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । साथै नेपाल भ्रमण गर्ने तथा नेपालमा कार्यक्रम गर्ने विदेशी पर्यटकहरूको संख्यामा समेत सुधार भएको र पर्यटकहरूको गतिविधिमा वृद्धि भएकोले कम्पनीको नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी गत आवमा रू. २८ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ४० करोड ८२ लाख पुगेको छ ।
त्यस्तै ओरियण्टल होटल्सले चालू आवमा रू. ३ करोड ६५ लाख नाफा कमाएको छ । गत आवमा भने होटल्स रू. ८ करोड नोक्सानीमा थियो । यस होटल्सको पनि आम्दानी वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १५ करोड ९ लाख भएकोमा चालू आवमा बढेर रू. ४३ करोड ९० लाख पुगेको छ ।
कसको नाफा कति ?
कम्पनीको नाम
नाफा रू. हजारमा (दोस्रो त्रैमास)
फरक प्रतिशत
चालू आव गत आव
सोल्टी होटल
२५१४३८
४९०३४
४१३
तारागाउँ रिजन्सी होटल
१०६१६७
– १२५९
–
चन्दागिरी हिल्स
५१४८७
– ५८०६
–
ओरियण्टल होटल्स
३६५७५
– ८००२७
–
स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण ।