वैशाख १५, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.३ करोड ७१ लाख खराब कर्जा उठाएको छ । खराब कर्जा गत आवको तेस्रो त्रैमासको तुलनामा १७७ प्रतिशतले वृद्धि भएको हो ।
गत आवमा कम्पनीले रू.१ करोड ३३ लाख खराब कर्जा उठाएको थियो । कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा १३ प्रतिशतले वृद्धि भएको छ ।
गत आवमा रू. १० करोड ४७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा बढेर रू. ११ करोड ३ लाख पुगेको हो । त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा भने घटेको छ ।
कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा गत आवमाभन्दा चालू आवमा धेरै रकम छुट्याएकाले सञ्चालन नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू.८४ लाख ४९ हजार छुट्याएकोमा चालू आवमा रू. २ करोड ५९ लाख छुट्याएको छ ।
कम्पनीको चुक्तापूँजी रू.४१ करोड ४५ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २२ करोड ३२ लाख छुट्याएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.३८ दशमलव शून्य ७(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३४ दशलमव ४१ गुणा,तरलता अनुपात ३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१५३ दशमलव ८६ रहेको छ ।