राष्ट्रिय गौरवका आयोजनाको अनुगमन : डेढ वर्षपछि कानून निर्माणले गति लिँदै

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको प्रगति निकै सुस्त भएको सन्दर्भमा यसको अनुगमन तथा मूल्याकनसम्बन्धी कानून निर्माणको कामले डेढ वर्षपछि गति लिन थालेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूसँगै विभिन्न योजनाहरू समस्यामा फस्दै जाँदा विकासको गति सुस्त भएको निष्कर्षका साथ तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउन कानून निर्माणका लागि राष्ट्रिय सभामा २०७६ सालमा विधेयक प्रस्ताव पेश गरेको थियो । तर, लामो समयसम्म यो विधेयकमा छलफलै हुन सकेन र, कानून निर्माणको काम नै प्रभावित बन्यो । तीनओटै तहका सरकारले अघि बढाएका आयोजनाहरूको मूल्यांकन, अनुगमन तथा परीक्षणको कामलाई प्रभावकारी बनाउने गरी आवश्यक ऐन बनाउन ल्याइएको विधेयकमाथि डेढ वर्षपछि आइतवार संसद्को राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भएको छ । दफाबार छलफलमा उक्त समितिका सदस्यहरूले कानून निर्माण छिटो गरी कार्यान्वयनमा लैजान आग्रह गरे । उनीहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन तथा मूल्यांकनको काम आवश्यकताअनुसार गर्न पाउने गरी कानूनी व्यवस्था हुनुपर्नेमा जोड दिए । बैठकमा बोल्दै समितिका सभापति परशुराम मेघी गुरुङ र सदस्य जितेन्द्रनारायण देवले अनुगमन तथा मूल्यांकनको काम समयमा हुन नसक्दा आयोजनाहरूको कार्य प्रगति लथालिङ अवस्था रहेको उल्लेख गर्दै आवश्यताअनुसार अनिवार्य रूपमा अनुगमन तथा मूल्यांकन गर्न पाउने कानूनी व्यवस्था गर्न सरकारलाई सचेत गराए । समितिको बैठकमा ‘अनुगमन तथा मूल्यांकनका सम्बन्धमा व्यवस्था गर्न विधेयक’ माथि दफावार छलफलका क्रममा सुझाव दिँदै समितिका सदस्य देवले कम्तीमा ६ महीनामा एकचोटि राष्ट्रिय गौरवको आयोजनाहरूको अनुगमन तथा मूल्यांकन हुनेगरी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले प्रस्तावित विधेयकमा वर्षमा एकपटक मात्रै आयोजनाहरूको अनुगमन तथा मूल्यांकन गर्ने प्रस्ताव राखिएकोमा असहमति जनाए । कांग्रेस सांसद समेत रहेका देवले भने, ‘हाम्रो चाहना, राष्ट्रिय आवश्यकता र कामको हालसम्मको परफमेन्सलाई हेर्ने हो भने कम्तीमा ६ महीनामा एकपटक आयोजनाहरूको अनुगमन तथा मूल्यांकन हुने गरी कानूनी व्यवस्था गर्नुपर्छ । वर्षमा एकपटक मात्रै अनुगमन तथा मूल्यांकन गर्ने कुराले आयोजनाहरूमा अहिले देखिएको दूरवस्थामा सुधार ल्याउन सकिँदैन । ६ महीनामा एकचोटि पनि अनुगमनमा नजाने हो भने त्यसको के अर्थ रहन्छ ?’ समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई प्रभावकारी बनाउने गरी अनुगमन, मूल्यांकन तथा परीक्षणको कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । आयोजनाहरूको कामलाई अघि बढाउने सवालमा दोषी देखिएका निकायमाथि कडा कारबाही हुने गरी कानूनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । सभापति गुरुङले भने, ‘आयोजनाहरूको अनुगमन र मूल्यांकनको आधारमा केही फल्टहरू देखिए पनि सम्बद्ध निकायलाई थप कारबाहीको लागि पनि ऐनमा व्यवस्था गर्नुपर्ने हुन्छ । त्यस सम्बन्धमा कस्तो–कस्तो दण्ड, जरीवानाको व्यवस्था गर्ने भन्ने विषयमा पनि समितिमा छलफल हुन्छ ।’ बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव धनराज ज्ञवालीले आयोजनाहरूको अनुगमन तथा मूल्यांकनको काम वर्षमा एकपटक वा आवश्यकताअनुसार गर्न सकिने व्यवस्था राख्दा फरक नपर्ने सुझाव समितिलाई दिएको थियो । उनले आयोजनाहरूको कामलाई प्रभावकारी बनाउन आवश्यताअनुसार मूल्यांकन तथा अनुगमन गर्न सकिने गरी कानून निर्माण गर्न उक्त विधेयक ल्याइएको पनि स्पष्ट पारे । सभापति गुरुङका अनुसार छिट्टै बस्ने आगामी बैठकमा आयोजनाहरूको काममा गल्ती गर्ने निकायमाथि हुने दण्ड, जरीवानाका विषयमा केन्द्रित भएर उक्त विधेयकमाथि छलफल हुनेछ । खासगरी विधेयकमा अनुगमन तथा मूलयांकनसम्बन्धी सर्वाेच्च संयन्त्रका रूपमा प्रधानमन्त्रीको अध्यक्षतामा समस्या समाधान समिति गठन गर्ने, उक्त समितिको सदस्यमा सबै मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, योजना आयोगका उपाध्यक्ष, आयोगका सदस्यहरू, मुख्य सचिव, अर्थसचिव रहनेछन् । राष्ट्रिय योजना आयोगको सचिव सदस्य–सचिव रहने राखिएको छ । समितिले नेपाल सरकारको योजनाको समीक्षा गर्ने, समस्या सम्बन्धमा छलफल गरी आवश्यक निर्देशन दिने, योजनाको कार्यान्वयनमा देखिएका समस्याको अध्ययन, अनुसन्धान, मूल्यांकन गर्ने र गराउने, नीतिगत समस्याको समाधान गर्ने काम समितिले गर्ने उल्लेख गरिएको छ । यसैगरी नेपाल सरकारका सबै मन्त्रीको अध्यक्षतामा रहने गरी मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बनाउने र अनुगमन तथा मूल्यांकनमा सार्वजनिक निकायका प्रमुखको मुख्य जिम्मेवारी रहने उल्लेख छ । प्रस्तावित ऐनले विकास पूर्वाधारहरूलाई उपलब्धिमूलक बनाउन भूमिका खेल्ने अपेक्षा सरकारको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री दाहालले ठूला आयोजनामा भएका कामकारबाहीको नियमित अनुगमन गरेर निर्धारित लागत र समयसीमा भित्रै आयोजना […]

जलहरी निर्माणको सत्यतथ्य पत्ता लगाउनु पर्ने संसदीय समितिको निस्कर्ष

काठमाडौं । संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निस्कर्ष निकालेको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निस्कर्ष निकालेको हो । समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले […]

राष्ट्रिय गौरवको आयोजनाप्रति सरकारी बेवास्ता

काठमाडौं । सरकारले समयमा नै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न नसक्दा आयोजनाको कन्तविजोग भएको छ । अझ अचम्म त के छ भने ती आयोजनाको लागत ३ खर्ब रुपैयाँबाट बढेर १३ खर्ब रुपैयाँभन्दा बढी पुग्दा पनि आयोजना अलपत्र छन् । बजेटमा व्यापक अनियमितता भएको स्रोतको दाबी छ । सरकारले सशक्त अनुगमन गर्न नसक्दा ठेकेदार कम्पनीसँग मिलिमतोको […] The post राष्ट्रिय गौरवको आयोजनाप्रति सरकारी बेवास्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संस्थागत रणनीतिक व्यवस्थापन भुत्ते बन्दै

व्यवस्थापकीय अवधारणा सांयोगिक हुने गर्छ । स्रोतसाधनको उच्चतम परिचालनद्वारा उद्देश्य प्राप्त गर्ने कला नै व्यवस्थापन हो । समग्र अवस्थाअनुसारको कार्यपद्धति, वातावरणअनुसारको रणनीति, लक्ष्यनिर्देशित कार्यहरूबाट तुलनात्मक लाभ लिन अधिकांश संस्थाहरू चुकेको देखिन्छ । प्रतिस्पर्धात्मक लाभका लागि रणनीति जरुरी छ । रणनीति विना २० प्रतिशत खर्च गरेर ८० प्रतिशत उत्पादन गर्न सकिँदैन । यसका लागि व्यवस्थापकहरूमा दूरदर्शी सोच, पारदर्शी लक्ष्य र उद्देश्य हुनुपर्छ । त्यस्तै उद्देश्यको कार्यान्वयन गर्न कर्मचारी उत्प्रेरणा जरुरी छ । कर्मचारी किन धेरै भर्ना गरियो, उचित व्यक्ति, उचित कार्य र उचित स्थान हुन सक्यो कि सकेन, कर्मचारीको कार्य विशिष्टीकरणको आधारमा कार्य विवरण तयार गरियो कि गरिएन, प्रतिकर्मचारी उत्पादकत्वको लेखाजोखा भयो कि भएन भन्ने तर्फ ध्यान दिनुपर्छ । अधिकांशको बुझाइमा संस्थागत रणनीति राजनीतिबाट प्रभावित भएको हुँदा रणनीतिक व्यवस्थापन भुत्ते खुकुरी सावित भएको छ । रणनीतिक व्यवस्थापन भनेको कुनै पनि संगठनको लक्ष्यप्राप्तिका लागि सबै मिलेर उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै प्रतिस्पर्धात्मक फाइदा लिनु हो । संगठनात्मक विकासविना जनताको मुहारमा खुशी आउँदैन न त उत्पादकत्व र नाफा नै उच्च हुन्छ । राजनीतिक नेतृत्वमा चाहिँदोभन्दा बढी भिजन भयो तर मिशनमा चुक्यो । कार्यान्वयन पक्ष ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जस्तै अवस्थामा रह्यो । असम्भव कुरालाई भोलि नै सम्भव हुन्छ भने जस्तो गरियो । दूरदृष्टि कार्यान्वयन गर्न समय सुहाउँदो कार्यान्वयनको तालिका र विवरण पनि हुनुपर्नेमा सपना धेरै बाँडियो, काम कम भयो । राष्ट्रिय गौरवका आयोजना भनूँ वा एउटा संगठनभित्रको सुधार सबैमा नीति धेरै काम थोरै भएका कारण जनतामा चरम निराशा देखिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा वस्तु तथा सेवाको गुणस्तर र बजार व्यवस्थापनमा प्रतिस्पर्धा तीव्र हुँदै गएको कारण देशमा रणनीतिक व्यवस्थापनको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ । दीर्घकालीन उद्देश्य पूरा गर्न, वातावरणीय पक्षको सबल र दुर्बल अवस्थाको पहिचान गर्न, व्यवसायको अवसर र चुनौतीको विश्लेषण गर्दै दीर्घकालीन सोच बनाउन, उत्पादकत्व र नाफा बढाउन, शीघ्र निर्णयका लागि, जनस्तरमा गुणस्तरीय सेवा दिन, जनताको मुहारमा हाँसो र खुशी ल्याउन, भविष्यको व्यावसायिक अनिश्चितताको न्यूनीकरण गर्न, जोखिमलाई कम गर्दै पोर्टफोलियो व्यवस्थापन गर्नसमेत रणनीतिक व्यवस्थापनको महत्त्व र उपादेयता दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । संस्थालाई दिगो, प्रतिस्पर्धी र वातावरणमैत्री बनाउन रणनीतिक व्यवस्थापनको अहम् भूमिका हुन्छ । निजीक्षेत्रका केही कम्पनीले अन्तरराष्ट्रिय अभ्यासको सिको गर्दै रणनीतिक व्यवस्थापनलाई आत्मसात् गरेको भए तापनि सरकारको विभाग, मन्त्रालय र स्वामित्वमा रहेका संघसंस्थाहरूमा रणनीतिक व्यवस्थापनको शुरुआत कमजोर अवस्थामा देखिएको छ । त्यसैले सरकारको स्वामित्वका सार्वजनिक संस्थाहरूले प्रतिस्पर्धी अवधारणालाई अगाडि बढाउन सकेका छैनन् । संस्थागत, व्यावसायिक र कार्यान्वयन अर्थात् संगठनात्मक व्यवस्थापनको तिनओटै तहमा उच्च, मध्यम र तल्लो तहदेखि नै रणनीति बनाउन, प्रभावकारी कार्यान्वयन र नियन्त्रण गर्न उत्तिकै जरुरी पर्छ । तर, केन्द्रीय तहबाट के निर्णय हुन्छ अथवा कार्यालय प्रमुखले के गर भन्छन् हामी त्यही गर्छौ भन्ने पर्ख र हेरको संस्कृति कर्मचारीतन्त्रमा मौलाएको छ । त्यसैले नेपालका अधिकांश सरकारी स्वामित्वको संघसंगठन वा देशको विभाग र मन्त्रालयमा समेतको सेवाप्रवाह न त चुस्तदुरुस्त छ न त उत्पादनमुखी नै छ । एक अनुसन्धानका अनुसार नेपालका केही सरकारी र अर्धसरकारी संगठनहरूका प्रमुख कार्यकारी अधिकृतहरूको दृष्टिकोणमा रणनीतिक व्यवस्थापन भनेको कम्पनीको उद्देश्य प्राप्तिको गेम प्लान हो, जसबाट सेवाग्राहीलाई छिटोछरितो र गुणस्तरीय सेवा र वस्तु दिई संगठनको उत्पादकत्व बढाउन सकिन्छ । कर्मचारीसँग नियमित छलफल गर्नुपर्छ । कम्पनीको सबल, दुर्बल पक्ष तथा अवसर र चुनौतीको बारेमा हुने छलफलले भविष्यको नीतिनिर्माण र निर्णय प्रक्रियालाई सहजीकरण गर्छ, स्रोतसाधनको उच्चतम परिचालन गर्न सकिन्छ । तर, यही प्रकारको अनुसन्धान ग्राहक वा सेवाग्राहीसँगको प्रत्यक्ष भेटघाटबाट प्राप्त सूचना र सम्बद्ध संगठनको वित्तीय विवरण र कार्यसम्पादन मूल्यांकन विवरण हेर्ने हो भने पहिला गरिएका प्रतिबद्धता, बनाइएका रणनीतिले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन । तसर्थ रणनीतिक योजना र कुरालाई कागजी गफको पोको भन्नेहरू मनग्य छन् । नेपालको संगठनात्मक व्यवस्थापनको रणनीति क्रमशः उद्देश्य प्राप्त गर्न र जनअपेक्षा पूरा गर्न चुकेको छ । त्यसो त कतिपय निजी क्षेत्रका संस्थाहरू जसमा कुनै भिजन, मिशन, उद्देश्य र रणनीति छैन, नीतिगत विषयहरूको नियन्त्रण एकै व्यक्तिले गर्छ र जो पारिवारिक व्यावसायिक घरानाका रूपमा रहेको छ, त्यस्तो संस्थाको पनि केही समयको अन्तरालमा मनग्य नाफा र उत्पादकत्व बढिरहेको देखिन्छ तापनि अन्ततोगत्वा दीर्घकालीन सोच र रणनीतिक व्यवस्थापनविनाको कम्पनी कुनै पनि बेला कमजोर हुन सक्नेतर्फ समयमै सचेत हुन जरुरी छ । हामीले विश्वको सिको गरेर रणनीति र नीतिहरू उत्कृष्ट त बनाउँछौं । तर, हाम्रो शीप, ज्ञान, कला, धारणा, संस्कृति आदि कारणले त्यसको कार्यान्वयन हुँदैन । प्रतिभा पलायन, राजनीतिक अस्थिरता एवं समयअनुकूल सोचको अभावले कार्यान्वयनको अवस्था पुछारमा रहेकोप्रति सम्बद्ध निकाय बेलैमा सचेत हुन जरुरी छ । प्रतिस्पर्धात्मक, व्यावसायिक र समय सुहाउँदो रणनीतिले मात्र संस्थागत विकास हुन्छ र यो विनाआत्मनिर्भर अर्थतन्त्रको परिकल्पना मिथ्या हुन्छ । आत्मनिर्भर अर्थतन्त्रको पहिलो शर्त सुशासन हो । रणनीतिक व्यवस्थापनको प्रभावकारी कार्यान्वयनका लागि चुस्तदुरुस्त कर्मचारीतन्त्र, मितव्ययी अर्थतन्त्र, सुशासन, हस्तक्षेपरहित सार्वजनिक प्रशासन, नियमित अनुगमन र नियन्त्रण, दण्डहीनताको अन्त्य, दूरदर्शी र व्यावसायिक नेतृत्व चाहिन्छ । यी सबै पक्षमा ध्यान दिनसकेमा संगठनात्मक विकास तथा रणनीतिक व्यवस्थापनद्वारा प्रतिस्पर्धात्मक फाइदा लिन सकिन्छ । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

आयोजनामा अनावश्यक संयन्त्र

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निकै सुस्त भइरहेको सन्दर्भमा यसलाई कसरी गति दिन सकिन्छ भन्नेमा सरकारले चासो दिए पनि प्रगति भने भएको देखिँदैन । आयोजनाहरूको गति सुस्त हुनु नेपालको दीर्घकालीन रोग बनिसकेको छ र यसलाई रोक्न कहिले गौरवका आयोजनाको नाम दिएर प्राथमिकता दिइएको छ त कहिले रूपान्तरणकारी आयोजनाको अवधारणा ल्याइएको छ । तर, कुनै पनि सोचले काम गरेको छैन । सरकारी संयन्त्र र कानूनको जालो बढाउन होइन, घटाउनतिर लाग्नुपर्छ । बढी संयन्त्र भएकै कारण समन्वय नभएर काम रोकिएको पाइन्छ । काम नभए पनि जवाफदेही हुने र कारबाही हुने प्रणाली स्थापित गर्न सके पुग्छ । राष्ट्रिय गौरवका आयोजना भनेर अहिले २१ ओटा आयोजना तोकिएका छन् । यीमध्ये कतिपय आयोजना शुरू नै हुन सकेका छैनन् । शुरू भएका आयोजनाहरूको प्रगति पनि निकै सुस्त छ । यो सुस्त हुनुको कारण खोजी गरेर समाधानका लागि पहल हुँदै नभएको होइन तर ती पहल समस्याको चुरोमा पुग्नभन्दा पनि कृत्रिम समाधानका लागि भएको देखिन्छ । आयोजनाहरू जति पछि धकेलिँदै जान्छन् त्यति नै तिनको लागत बढ्न जान्छ । उदाहरणका लागि मेलम्ची खानेपानी आयोजनालाई लिन सकिन्छ । माथिल्लो तामाकोशीको लागत तेब्बर बढ्दा यसबाट नाफा लिन निकै समय लाग्ने देखिएको छ । आयोजना सुस्त हुँदा अर्थतन्त्रको विस्तार पनि सुस्त भएको छ र प्रतिव्यक्ति आय बढाउन पनि समस्या भएको छ । यस्तोमा पूर्वाधार निमाणलाई गति दिन सकेको जति पहल हुनु स्वागतयोग्य नै हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरे पनि प्रगति भने प्राप्त भएन । त्यही क्रममा उनकै पालामा राष्ट्रिय गौरवका आयोजनाको प्रगतिको अनुगमन तथा मूल्यांकनसम्बन्धी कानून बनाउन शुरू भएको थियो । डेढ वर्षदेखि रोकिएको यो काम अहिले अगाडि बढेको छ र यस्तो कानून बनाएर नयाँ संयन्त्र बनाउनु औचित्यपूर्ण देखिँदैन । सरकारी संयन्त्रहरू परिणाममुखी हुँदैनन्, प्रक्रियामुखी हुन्छन् । उनीहरू काम गर्नुभन्दा विभिन्न प्रक्रिया, कानूनी प्रावधान र संयन्त्र देखाएर जिम्मेवारीबाट पछि हटिरहेका हुन्छन् । संसारभरि नै प्रशासनयन्त्रमा यो प्रवृत्ति पाइन्छ । नयाँ कानून बनाउन लगाएर कानूनी जालो थपेर थप सरकारी संयन्त्र झनै बोझिलो बनाउने काम उनीहरूबाट हुन्छ । अनुगमन मूल्यांकनसम्बन्धी कानून बनाउने कुरा पनि त्यसैको निरन्तरता हो । कामै गर्ने हो भने भइरहेकै कानून र संरचनाको प्रभावकारी कार्यान्वयन पर्याप्त हुन्छ । त्यसको अर्थ यो पूर्ण छ भन्नेचाहिँ होइन । तर, आयोजनाहरूको कामको गति बढाउन भएका कानूनले नै पर्याप्त आधार दिन्छ । प्रशासनयन्त्रको काम नै नभएको समस्या देखाएर जिम्मेवारीबाट पन्छिनु हो । आफूलाई सुम्पिएका जिम्मेवारी पूरा गर्ने प्रवृत्ति हुने हो भने नयाँ संरचना र कानून आवश्यक पर्दैन । सरकारले पनि प्रोत्साहन र पुरस्कारमा ध्यान दिने हो भने कर्मचारीहरू सच्चिन बाध्य हुन्छन् । काम गर्ने र नगर्नेको छानविन नहुँदा नै अराजकता बढेको हो । राष्ट्रिय गौरवका आयोजनामात्र होइन, स्थानीय, प्रदेश र संघ सरकारका सानातिना आयोजना र कार्यक्रममा पनि ढिलासुस्ती उस्तै छ । विकास निर्माणका लागि विनियोजन गरिएको बजेट खर्च हुन नसक्नुको कारण पनि यही हो । असार महीनामा हतारहतार बजेट सक्ने मेसो मिलाउने कर्मचारीलाई कारबाही नगरेसम्म यो रोग रहिरहने देखिन्छ । साना हुन् वा ठूला सबै आयोजनाका लागि एउटै नीति बन्नुपर्छ । वास्तवमा सरकारी संयन्त्र र कानूनको जालो बढाउन होइन घटाउनतिर लाग्नुपर्छ । बढी संयन्त्र भएकै कारण समन्वय नभएर काम रोकिएको पाइन्छ । काम नभए पनि जवाफदेही हुने र कारबाही हुने प्रणाली स्थापित गर्न सके पुग्छ । अन्य कुरा केही पनि गर्नु पर्दैन । चलिरहेको कार्यक्रमको मूल्यांकन गरौं भन्ने त्यसपछि नयाँ व्यवस्था गरौं भन्ने तर कामचाहिँ नगर्ने यो चक्र प्रशासनिक यन्त्रले चाहने हो । यो काम नगर्ने प्रवृत्ति हो प्रशासनयन्त्रको । अरू देशमा यस्तो प्रवृत्तिमा नियन्त्रणमा ल्याइसकेका छन् तर नेपालमा यसो हुन सकेको छैन । यो चक्र तोड्न सके थप व्यवस्था आवश्यक देखिँदैन ।

राष्ट्रिय गौरवका आयोजनाका समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ– राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न आइपरेका रुख कटान, ठेक्का, म्याद थपलगायत समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन/अवलोकन अनुगमन सम्बन्धी प्रतिवेदनका विषयमा छलफल गर्न आज आयोजित बैठकमा आयोजनाका समस्या समाधान गर्न […]

हचुवामा राष्ट्रिय गौरवका आयोजना अनुगमन

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले हचुवाको भरमा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न लागेको छ। समितिले तीनवटा उपसमिति गठन गरेर काम अघि बढाएको छ। उपसमितिमा कुनै पनि कर्मचारी राखिएको छैन भने कहिले अनुगमनमा जाने कुनै कुरा उल्लेख गरिएको छैन।

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले नै अनुगमन गर्नुपर्छः नेता शर्मा

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।      मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आएका उनले राष्ट्रिय ...

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ (आजदेखि) गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षण थाल्नुहुने भएको छ । प्रधानमन्त्रीले यसअघि नै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाहरूको निरीक्षण गर्ने बताउनुभएको थियो ।