कर्मचारी समायोजनको खाका पेश गरेपछि मात्र बीमा कम्पनीलाई मर्जरको स्वीकृति दिन फियुनको माग

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन)ले बीमा कम्पनीहरु मर्जमा जाँदा कम्पनीमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नभएको प्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । संघले संस्थामा कार्यरत कर्मचारीहरुको पद, तह र सेवासुविधाको समायोजन लगायत जनशक्ति ब्यवस्थापनका सम्पुर्ण खाका पेश गरे पश्चात मात्र सैद्धान्तिक स्वीकृति दिई मर्जर तथा प्राप्ति प्रकृयालाई अगाडि बढाउन आग्रह गर्दै आज बीमा समितिका अध्यक्षलाई पत्राचार गरेको छ ।हाल बीमा समितिले सैद्धान्तिक सहमति दिएको पत्रमा एक लाइनमा मात्र “कर्मचारीहरुको खाइपाई आएको तलब सुबिधा नघट्ने गरि ब्यवस्थापन गरिने छ” भन्ने शब्दले बर्षौँदेखि कार्यरत संस्थाका कर्मचारीहरुको उचित ब्यवस्थापन होला भन्ने कुरामा बिश्वस्त हुन नसकिने संघले जनाएको छ । नियामक निकायद्वारा नै यस बिषयमा ठोस कदम चालिनु पर्ने माग संघले अगाडी राखेको छ । बीमा क्षेत्रलाई सवल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यवसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सर्वोपरी हित चिताई उनीहरुको सेवाको सुरक्षा र सेवाशर्तको रक्षाको लागि स्पष्ट निर्देशन जारी गर्नको लागि समितिका अध्यक्षलाई संघले आग्रह गरेको छ  ।संघले यस बारे विभिन्न ४ बुंदे माग आगाडी सारेको छ  । संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने कामकारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्द गर्नी पर्ने, संस्थामा रहेका रिक्त दरबन्दीका पदपूर्तिका कामहरुलाई नियमितता दिनु पर्ने, श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीहरुको नियमित रुपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध गर्ने काम बन्द गरिनु पर्ने र बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिको कार्यको समयावधिलाई निश्चित गर्नु पर्ने माग संघले अगाडी सारेको छ।  नेपालमा बित्तिय क्षेत्र (बैंक, फाइनान्स, लघु वित्त) का लागि मर्जर अब नौलो बिषय नरहे पनि बीमा क्षेत्रका लागि यो विलकुलै नयाँ प्रकृया भएकोले बैंकिङ क्षेत्रको मर्जर तथा प्राप्तिमा भए गरेका तिता–मिठा अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई आत्मसात गरी बीमा समितिले समग्र बीमा क्षेत्र र सोमा कार्यरत कर्मचारीहरुको उचित ब्यवस्थापन एवं लगानीकर्ताको लगानी सुरक्षा र सेवाग्राहीहरुको हितरक्षाको लागि स्पष्ट नीतिगत र प्रकृयागत कानूनी व्यवस्था गरी पूर्ण व्यवसायिक एवं परिणाममुखी कार्य गर्न संघले अपिल गरेको छ।

सम्बन्धित सामग्री

कानूनले नमिल्ने काममा राष्ट्रिय बीमा कम्पनीका कर्मचारीको दबाब

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले कानूनले नमिल्ने काममा व्यवस्थापनलाई दबाब दिँदा कम्पनीको काम प्रभावित भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले काम गर्न पाएका छैनन् ।  कर्मचारी सेवा शर्त विनियमावली २०७४ को पूर्ण कार्यान्वयन नभएको भन्दै कर्मचारीहरू साउन १ गतेदेखि आन्दोलनमा छन् । सीईओ शेखर बराल भने कर्मचारी सेवा शर्त विनियमावली २०७४ कार्यान्वयनको लागि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुने बताउँछन् । ‘नियम, कानूनअनुसार आर्थिक व्ययभार हुने कुरा अर्थ मन्त्रालय पठाउनुपर्छ । तर, कर्मचारीको माग उक्त विनियमावली अर्थ मन्त्रालय नपठाई कम्पनी सञ्चालक समितिबाटै पास गर्नुपर्छ भन्ने छ । त्यसैले कानूनसम्मत रूपमा उक्त माग पूरा गर्न सम्भव छैन,’ उनले भने ।  बरालका अनुसार २०७४ मा बनेको कर्मचारी सेवा शर्त विनियमावली कम्पनीले कार्यविधि बनाएर बोर्डबाट पारित पनि गरेको छ । तैपनि कार्यान्वयन गर्न अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ । सञ्चालक समिति कम्पनीलाई आर्थिक व्ययभार हुने विषय अर्थबाटै स्वीकृत हुनुपर्छ भन्नेमा स्पष्ट रहेको पनि उनले बताए । ‘कर्मचारीले विनियमावलीमा उल्लेख भएको सेवासुविधा पाउनुपर्छ । उहाँहरूको माग जायज हो र पनि अर्थ मन्त्रालयबाट स्वीकृत नगरी यहाँबाट लागू गर्न सम्भव छैन,’ उनले भने । सीईओ बराल कर्मचारीले आन्दोलन शुरू गरेपछि आफू नियमित काममा जान नसकेको बताउँछन् । ‘कम्पनीको नियमित काममा सीईओको ठूलो भूमिका हुन्छ तर म कम्पनी जान नसक्दा ती काम प्रभावित भएका छन्,’ उनले भने । २०७१ सालमा सरकारले एउटै संस्थाले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न नपाउने व्यवस्था गरेपछि राष्ट्रिय बीमा संस्थानलाई विभाजन गरेर राष्ट्रिय बीमा कम्पनी खोलिएको हो । त्यसयता राष्ट्रिय बीमा संस्थानले जीवन र राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्दै आएका छन् । निर्जीवन बीमाका लागि स्थापित राष्ट्रिय बीमा कम्पनीले कर्मचारी सेवा शर्त विनियमावली २०७४ ल्याए पनि कार्यान्वयन भएको छैन ।  आन्दोलित कर्मचारीका अनुसार नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले गएको असोज ४ गते कम्पनी व्यवस्थापनसमक्ष कर्मचारी सेवा शर्त विनियमावली कार्यान्वयन गर्नुपर्ने मागपत्र संयुक्त रूपमा पेश गरेको थिए ।  राष्ट्रिय त्यसपछि कम्पनीले उपसमिति गठन गरी छलफलपश्चात् २०८० साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याउने सहमति गरे पनि कार्यान्वयन भएको छैन ।  अर्थ मन्त्रालयका प्रतिनिधिको संयोजकत्वमा ट्रेड युनियनका प्रतिनिधिसमेत रहेको समितिको प्रतिवेदन कार्यान्वयनमा नआएपछि आन्दोलनमा उत्रिन बाध्य भएको कर्मचारी बताउँछन् । कर्मचारीले पहिलो चरणमा ज्ञापनपत्र दिने, ब्यानर टाँसेर विरोधको जानकारी दिने र दोस्रो चरणमा कालो पट्टी बाँधेर प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा विरोध गर्ने कार्यक्रम गरिरहेका छन् । उनीहरू तेस्रो चरणको आन्दोलनको तयारीमा छन् । ‘हामीले ६ वर्षदेखि विनियमावलीभित्रै भएको सेवासुविधा पाएका छैनौं । उक्त विषय व्यवस्थापनले नै बुझेर अघि बढ्नुपर्ने हो,’ आन्दोलित एक कर्मचारी भन्छन्, ‘हामीले विनियमावलीले दिएको सेवासुविधा मागेका छौं । अधिकारबाट वञ्चित भएर अन्यायमा परेसँगै आन्दोलित हुन बाध्य भएका छौं ।’ मागको पूर्ण कार्यान्वयन नभएसम्म काम गर्ने वातावरण नबन्ने पनि उनीहरूको भनाइ छ ।

विदेशमा शाखा खोल्न बीमा कम्पनी अनिच्छुक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत चैतमा नेपाली बीमकले विदेशमा शाखा खोल्न पाउने नीति ल्यायो । तर, हालसम्म कुनै पनि बीमकले विदेशमा शाखा खोल्न अनुमति मागेका छैनन् । बीमकहरूले पनि विदेशमा शाखा खोल्न गृहकार्य नभएको प्रतिक्रिया दिएका छन् ।  प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने भएका छन् । निर्देशिकाअनुसार प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महीनाभित्र कार्यालय खोली त्यसको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ । प्राधिकरणले निकट भविष्यमा विदेशमा हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्ने दाबी गरेको छ । तर, प्राधिकरणले निर्देशिका जारी गरेको झन्डै २ महीना हुँदा प्राधिकरणमा कुनै पनि बीमकले विदेशमा शाखा खोल्ने अनुमतिका लागि आवेदन दिएका छैनन् ।  नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार विदेशमा शाखा खोल्न हालसम्म कुनै पनि बीमकले आवेदन दिएका छैनन् । ‘अहिलेसम्म विदेशमा शाखा खोल्ने अनुमति माग्दै कुनै पनि कम्पनीले आवेदन दिएका छैनन् । प्राधिकरणले जारी गरेको निर्देशिकाबमोजिम मापदण्ड पूरा गर्ने कम्पनीले शाखा खोल्ने अनुमति माग्दै आवेदन दिएको खण्डमा प्राधिकरणले आवश्यक अध्ययन गरेर स्वीकृति दिन्छ,’ उनले भने । निर्देशिका जारी भएको झन्डै २ महीना हुँदा विदेशमा शाखा खोल्ने अनुमति माग्न किन कसैले आवेदन दिएन त ? जवाफमा प्रवक्ता पौडेल भन्छन्, ‘जुन देशमा शाखा खोल्ने हो, बीमा कम्पनीहरूले उक्त मुलुकको प्रचलित कानूनको पालना गर्नुको साथै त्यहाँको नियामक निकायले निर्धारण गरेको पूँजी पनि कायम गर्नुपर्ने प्रावधान छ । प्राधिकरणको बुझाइमा अहिले बीमकहरू शाखा खोल्ने देशको प्रचलित कानून अध्ययनको प्रक्रियामा छन् ।’ सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सूचना अधिकारी विश्वनाथ अधिकारी उक्त कम्पनीले विदेशमा शाखाबारे गृहकार्य नगरेको बताउँछन् । ‘जीवन बीमा कम्पनीहरूको ग्राहक विदेशमा कार्यरत नेपाली श्रमिक पनि हुन सक्छन् तर निर्जीवनले मुख्य ग्राहक पहिचान गर्नुका साथै व्यवसायको सम्भाव्यता पनि अध्ययन गर्नु आवश्यक छ,’ उनी भन्छन्, ‘कम्पनी भर्खरै गाभिएका कारण हामीले त्यसतर्फ गृहकार्य गरेका छैनौं ।’ सूर्यज्योति लाइफ इन्स्योरेन्सका सूचना अधिकारी उमेशप्रसाद मैनाली तत्कालै विदेशमा शाखा खोल्ने योजना नभएको बताउँछन् । ‘विदेशमा शाखा खोल्ने विषयमा बोर्डमै छलफल हुनुपर्छ । अहिले उक्त विषयमा छलफल भएको छैन,’ उनले भने ।  बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं ‘फिजिबल’ नभएकै कारण बीमकहरू विदेशमा शाखा खोल्न इच्छुक नभएको अनुमान गर्छन् । ‘कम्पनीहरूका टार्गेट ग्रूप नै विदेशका नेपाली श्रमिक हुन् । त्यसका लागि कम्पनीहरूसँग वैदेशिक रोजगार बीमाको विकल्प पहिला नै छ । विकल्प हुँदाहुँदै विदेशमा शाखा खोल्दा कर्मचारी, पूर्वाधार लगायतको खर्च बढ्न जान्छ,’ उनले भने, ‘त्यसैले अन्य मुलुकमा शाखा खोल्न प्रयास नगरेका हुन् ।’ पूर्वअध्यक्ष चापागाईं कुनै पनि निकायले पोलिसी बनाउँदा कम्पनीका साथै बजारको माग र आवश्यकता अध्ययन गरेर मात्र पोलिसी बनाउनुपर्ने बताउँछन् । तर, अहिले सस्तो लोकप्रियताका लागि विभिन्न निकायले बजारको माग र आवश्यकता अध्ययन नगरी पोलिसी बनाउने गरेको पाइन्छ,’ उनले भने ।

आधुनिक बीमा सेवामा फड्को : राष्ट्रिय बीमा संस्थानको ५६औं वार्षिकोत्सव विशेष

काठमाडौं । मुलुकको बीमा क्षेत्रमा साढे ५ दशकको योगदान रहेको राष्ट्रिय बीमा संस्थान आज (बिहीवार) ५६औं वर्षमा प्रवेश गर्दै छ । २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना एक निजी कम्पनीको रूपमा भएको थियो । स्थापनाकालमा संस्थानको अधिकृत पूँजी १ करोड मात्र रहेको देखिन्छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भइसकेपछि २०२५ पुस १ गतेदेखि यसले संस्थागत रूप लिएको हो । २०२४ फागुन ११ गतदेखि व्यवसाय शुरू गरेकाले संस्थानले फागुन ११ गतेलाई आधार मानेर वार्षिकोत्सव मनाउने गरेको छ । शुरुआतमा निर्जीवन बीमा गर्ने संस्थानले प्रथम बीमितको रूपमा नेपालका तत्कालीन शासक राजा महेन्द्रको बीमा गरेको थियो । संस्थानले २०२९ फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय शुरू गर्‍यो । त्यसपछि बीमा २०७१ सालसम्म निर्जीवन र जीवन दुवै बीमा गर्दै आएकोे थियो । तर दुवै प्रकारका बीमा एउटै कम्पनीबाट गर्न नपाइने निर्देशनपछि २०७१ सालमा निर्जीवन बीमाका लागि राष्ट्रिय बीमा कम्पनीको स्थापना गरियो । संस्थानले अहिले जीवन बीमा मात्र गर्छ । अहिले सबै प्रदेशमा गरी २३ शाखा कार्यालयबाट जीवन बीमाको व्यवसाय भइरहेको छ । बीमा अभिकर्ताका लागि अहिले धेरै सजिलो भएको संस्थानका अधिकारीहरू बताउँछन् । शुरूका दिनमा अभिकर्ताले बीमा गर्न शाखा कार्यालयमा गएर कागजपत्र बुझाइसकेपछि काठमाडौंमा पठाउनुपर्ने र काठमाडौंबाट बीमालेख प्रिन्ट गरेर पठाउनुपर्ने व्यवस्था थियो । तर अहिले कागजपत्र पूरा गरेर ल्याएको आधा घण्टाभित्र बीमालेख जारी गरिसक्ने व्यवस्था रहेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए । ‘गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन शुरू गरेका छौं,’ उनले भने, ‘यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसको माध्यमबाट गर्दै छौं ।’ उनका अनुसार संस्थानले प्रविधिको क्षेत्रमा ठूलो सुधार गरेको छ । बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ ईश्वर पौडेल अध्यक्ष, राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा संस्थानलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ? म यो संस्थामा आएको ५/६ महीना मात्र भएको छ । राष्ट्रिय बीमा संस्थान बीमा क्षेत्रको अग्रणी संस्था हो । यसले बीमालाई व्यवस्थित गर्न, बीमाको बारेमा चेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । संस्थान व्यावसायिक हिसाबले पनि सबल छ । पुरानो संस्था भएकाले पूँजी निर्माणमा संस्थान अग्रणी छ । हामीले बीमालाई अगाडि बढाउन कस्तो रणनीति लिने भनेर गहन छलफल गरेका छौं । लामो समयदेखि संस्थानको लेखापरीक्षण भएको छैन । त्यसलाई पूरा गर्नुपर्ने छ । समग्रमा संस्थानलाई अझै अब्बल बनाउन लागिपरेका छौं । संस्थानका शाखा पनि कम छन् । शाखा सञ्जाल विस्तारका लागि कस्तो योजना छ ? संस्थानका शाखा कम भयो भन्ने छ । तर जनशक्तिको स्थिति हेर्दा यो स्वाभाविक नै हो जस्तो लाग्छ । पहिले जीवन र निर्जीवन दुवै हेर्ने गरेको बीमा संस्थानबाट निर्जीवन बीमा हेर्नेगरी राष्ट्रिय बीमा कम्पनी बनेपछि जनशक्ति घटेका हुन् । पछि संस्थान निजीक्षेत्रका अन्य बीमा कम्पनी जसरी आक्रामक रूपमा विस्तार हुन नसकेको देखिन्छ । यसको एउटा कारण लेखापरीक्षण नहुँदा पूँजी बढ्न नसक्नु पनि हो । अहिले हाम्रा जति शाखा छन्, तिनबाट काम कारबाही अघि बढाउने, पछि पूँजी वृद्धि पनि गर्ने र शाखा बढाउने सोच छ । बीमा संस्थानमा सञ्चालक समिति र व्यवस्थापन समूहबीच कत्तिको समन्वय भइरहेको छ ? हिजो एउटा परिस्थितिमा यसको ऐन आयो । २०२५ सालमा अन्य कुनै बीमा कम्पनी नरहेको अवस्थामा संस्थानले आफ्नै संयन्त्र र स्रोतसाधनमार्फत यो व्यवसाय शुरू गरेको थियो । अहिलेको अवस्थामा व्यवस्थापनमा रहेका साथीहरू लामो समय बीमा क्षेत्रमा काम गरेका हुनुहुन्छ । साथै सर्वसाधारण शेयर धेरै नभएकाले व्यवस्थापनमा समस्या छैन । संस्थानका कर्मचारीले छाड्ने गरेको कुरा पनि आइरहन्छ नि । कारण के होला ? कर्मचारीले छाड्ने कुरा व्यक्तिगत कारण हो । कहाँ जाने, के गर्ने भन्ने भन्ने विषय कर्मचारीको योग्यता र क्षमतामा पनि भर पर्छ । सेवासुविधाको कुरा पनि होला । संस्थानमा सेवा सुविधा अलि अगाडिकै कायम छ । त्यसलाई अद्यावधिक गर्नुपर्ने छ । त्यसमा हामी लागेका छौं । सेवासुविधा बढाउन प्रस्ताव पनि गरिसकेको हो । तर अहिले आर्थिक मन्दीको जस्तो अवस्था भएकाले सबै कुरा समुचित तवरले हेर्नुपर्छ । संस्थानको ५५ वर्षको यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ? नेपालको समग्र बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ । जनसाधारणलाई बीमाका बारेमा जानकारी दिन र चेतना विकास गर्न संस्थानले अग्रणी भूमिका निर्वाह गरेको छ । अहिले निजीक्षेत्रका बीमा कम्पनीका कारण हाम्रो उपस्थिति अलि कमजस्तो देखिएको छ । यद्यपि हामो भूमिका उच्चस्तरको छ । हामी व्यावसायिक रूपमा सबल पनि छौं । चालू आवमै लेखापरीक्षण सम्पन्न गर्ने तयारीमा छौं कविप्रसाद पाठक प्रशासक, राष्ट्रिय बीमा संस्थान विगतको तुलनामा अहिले राष्ट्रिय बीमा संस्थानमा बीमाशुल्क तथा दाबी भुक्तानी सेवामा के कस्तो परिवर्तन आएको छ ? पहिला बीमाशुल्क तिर्न बैंकमै जानुपर्ने वा हाम्रो काउन्टरमै आएर तिर्नुपर्ने अवस्था थियो । गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन कार्य शुरू गरेका छौं । यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसमार्फत गर्दै छौं । क्रमशः अन्य भुक्तानी पनि अनलाइनबाटै गर्ने व्यवस्था गर्नेछौं । संस्थानले आफूलाई कसरी प्रविधिमैत्री बनाइरहेको छ ? संस्थानमा म आइसकेपछि वेबबेस्ड सफ्टवेयर लागू गरेका छौं । यसमार्फत काम गर्दा शाखा कार्यालयको कारोबार र प्रधान कार्यालयको कारोबार एकीकृत भएको छ । साथै बीमा गरिसकेपछि ग्राहकलाई जानकारी दिने हिसाबले एसएमएस सेवा पनि शुरू गरेका छौं । मोबाइल एपको पनि विकास गरेका छौं, जसमार्फत बीमाशुल्क बुझाउन सकिने सुविधा ल्याइएको छ । लामो समयदेखि संस्थानको लेखापरीक्षण हुन सकेको छैन । यो कहिले हुन्छ ? लेखापरीक्षण हुन नसक्नु ठूलो समस्याको रूपमा रहेको छ । सबै तिरबाट राष्ट्रिय बीमा संस्थानले लेखापरीक्षण गरेन, गर्न सकेन भन्ने कुरा आइरहन्छ । हामीले यसलाई मुख्य प्राथमिकतामा राखेर चालू आर्थिक वर्षमै सक्नेगरी कार्ययोजना बनाउन लागिरहेका छौं । त्यसका लागि अहिले चार्टर्ड एकाउन्टेन्ट, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट कन्ट्र्याक्टमा लिन लागेका छौं । चुक्तापूँजी बढाउने सम्बन्धमा तपाईंहरूको योजना के छ ? आउँदो चैतभित्र चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन नेपाल बीमा प्राधिकरणको निर्देशन छ । हाम्रो विशेष ऐन, राष्ट्रिय बीमा ऐन २०२५ अनुसार हाम्रो अधिकृत पूँजी ५० करोड रुपैयाँ मात्र भए पुग्ने व्यवस्था छ । त्यसो हुँदा ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन हामीलाई कानूनी अड्चन थियो । प्राधिकरणको उक्त निर्देशन आइसकेपछि ५ अर्ब चुक्तापूँजी पुर्‍याउने गरी पूँजी वृद्धि योजना सञ्चालक समितिबाट स्वीकृत गरेका छौं । प्राधिकरणलाई पनि यसको जानकारी गराएका छौं । पूँजी थप गर्न हाम्रा तीनओटै संस्थापक नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिसकेका छौं । अहिले पूँजी वृद्धिका लागि बनाइएको मोडालिटी ७० प्रतिशत संस्थापकबाट र ३० प्रतिशत सर्वसाधारणबाट जुटाउने हो । पछिल्लो समय संस्थानको बीमा व्यवसाय कत्तिको प्रतिस्पर्धी छ ? प्रतिस्पर्धा बढेको छ । तर हाम्रो ६०–७० प्रतिशत कर्पोरेट व्यवसाय छ । नेपाल सरकारका सम्पूर्ण कर्मचारी, सरकारी बैंक र सरकारी निकायको सम्पूर्ण व्यवसाय हामीसँग छ । व्यक्तिगत बीमाका लागि मात्र प्रतिस्पर्धा गर्ने हो । त्यसका लागि सेवाको गुणस्तर बढाउनुका साथै नयाँ नयाँ प्रडक्ट ल्याउँछौं । व्यावसायिक सूचकमा अगाडि नै छौं कृष्णकुमार श्रेष्ठ सहायक प्रशासक, राष्ट्रिय बीमा संस्थान अहिले राष्ट्रिय बीमा संस्थानको व्यावसायिक अवस्था कस्तो छ ? संस्थानले गत आर्थिक वर्षमा २०७८/७९ मा बीमाशुल्क करीब ९ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा करीब साढे ५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो वर्ष १२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन हुने अनुमान छ । त्यस्तै गत आर्थिक वर्षमा २०७८/७९ मा करीब साढे ४ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको थियो । चालू आर्थिक वर्षको ६ महीनामा १ अर्ब ८० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । यसमध्ये मृत्यु दाबीतर्फ ३ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । मृत्यु दाबी एकदम कम पर्नुको अर्थ हाम्रो कार्यसम्पादन राम्रो भएर पनि हो । संस्थानमा लगानीयोग्य रकम कति छ ? अहिलेको स्थितिमा संस्थानको लगानीयोग्य रकम ४५ अर्ब रुपैयाँ छ । हरेक वर्ष यसमा करीब ५ अर्ब रुपैयाँ बढिरहेको छ । अहिले बैंकले ब्याज पनि धेरै दिइरहेको छ । यसले गर्दा संस्थानको राम्रै आम्दानी भइरहेको छ । बीमितलाई शेयरको व्यवस्था गर्नुपर्छ भन्ने तपाईंको मान्यता देखिन्छ । त्यो किन हो ? जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउनैपर्ने बीमा प्राधिकरणको निर्णय कार्यान्वयन गर्न हामीले संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत गर्ने व्यवस्था गरेका छौं । सर्वसाधारण शेयरमध्ये ५ प्रतिशत कम्पनीका कर्मचारीलाई र केही प्रतिशत बीमितलाई दिनु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो । यसबाट हाम्रो बीमालेखप्रति मानिसको आकर्षण बढ्छ । बीमितलाई शेयर दिँदा व्यवसाय तथा सरकारको राजस्व बढ्ने र बीमाको दायरा फराकिलो हुने देखिन्छ । संस्थानले आफ्नो व्यवसायका अतिरिक्त के कस्ता कार्य गरिरहेको छ ? बीमा संस्थानले व्यवसायका अतिरिक्त परोपकारी संस्थाका लागि सहयोग गर्दै आएको छ । हामीले अनाथ बालबालिकाका लागि खाद्यान्न वितरण गर्‍यौं । हामीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएका छौं । यस प्रकारका परोपकारी कार्यक्रम निरन्तर चलिरहेका हुन्छन् ।

बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

बीमा कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ।...

राष्ट्रिय बीमा कम्पनीद्धारा कर्मचारीको माग (सुचनासहित)

काठमाडौं, २ पुस । राष्ट्रिय बीमा कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदको लागि २४ जना कर्मचारी माग गरेको हो । शुक्रबार एक सुचना प्रकाशित गर्दै कम्पनीले राष्ट्रिय बीमा कम्पनी र उक्त कम्पनीअन्तर्गत निकायमा रहेका पदहरुमा कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ अनुसार पदपुर्ति गर्न लागेको जनाएको छ । कम्पनीले व्यवस्थापक, सह […]