नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो नहुँदा किसानहरूले खेतीको समयमा मल पाउन नसक्नु सधैंको समस्या हो । एकातिर चाहिएको बेला मल पाउन सकिएको छैन भने अर्कोतर्फ सोही रासायनिक मल आयात गर्दा ठूलो रकम विदेशिने गरेको छ । सरकारले मलमा अनुदान दिए पनि त्यसबाट कृषिक्षेत्रले कति लाभ लिएको छ, स्पष्ट तथ्यांक पाइँदैन । रासायनिक मलको विकल्पमा प्रांगारिक वा जैविक मलको सम्भावना छ तर त्यसतर्फ ठोस र व्यापक कार्यक्रम लागू भएको छैन । जैविक मलमध्ये पनि भर्मी कम्पोष्ट (गँड्यौला मल) को नेपालमा निकै सम्भावना देखिन्छ । प्राध्यापन पेशाबाट निवृत्त डा. आनन्दशोभा ताम्राकारको काम हेर्दा नेपालमा रासायनिक मलको विकल्पमा यसलाई ल्याउन सकिने देखिन्छ ।
सीमित व्यक्तिले उपयोगमा ल्याएको भर्मी कम्पोष्ट मलको प्रयोगले आयातित वस्तु मात्र राम्रा हुन्छन् भन्ने सोचलाई चुनौती दिएको छ तर अहिलेको आवश्यकता यही सोच र कार्यलाई व्यापक बनाउनु हो ।
नेपालमा यस्तो मल बनाउन विभिन्न गैरसरकारी संस्थाहरूले तालीम दिएको पाइन्छ । त्यस्तै सरकारले अनुदान दिएको पनि पाइन्छ । तर पनि यसको व्यापक प्रयोग बढ्न सकेको छैन । खासगरी तरकारी खेती र कौसी खेतीमा गँड्यौला मलको प्रयोग बढ्दो देखिन्छ । पछिल्लो समय स्वास्थ्यप्रति सचेतना बढेसँगै अर्ग्यानिक तरकारीको माग बढ्दो छ भने अर्ग्यानिक खेती पनि बढ्दो छ । अर्थात् बिस्तारै किसानहरू पुर्खाले गरेको खेतीपातीको प्रविधिलाई केही सुधार गरी पछ्याउनेतर्फ लागेका छन् । गँड्यौला मल अर्ग्यानिक खेतीका लागि निकै सहयोगी देखिन्छ । अर्ग्यानिक उत्पादनको माग संसारभरि नै भएकाले यसरी कृषि उत्पादन गर्ने किसानको भविष्य पनि राम्रो देखिन्छ ।
गँड्यौला मल विश्वभरि नै प्रचलनमा रहेको पाइन्छ । भारतमा यसको मल बनाउन सरकारले ५० प्रतिशत अनुदान दिने गरेको छ । त्यसैले नेपालमा पनि यस्तो मल बनाउन किसानहरूलाई प्रशिक्षण दिनुपर्ने देखिन्छ । यो मल बनाउने तरीका सिकाउने मात्र होइन, यसको प्रयोगले हुने फाइदाका बारेमा व्यापक सचेतना छर्ने हो भने सर्वसाधारणले प्रयोगमा ल्याउने सम्भावना देखिएको छ ।
भर्मी कम्पोष्टमा बढी अनुदान दिने र यस्तो अनुदान सबैका लागि सहज बनाउने हो भने मलको समस्या समाधान गर्न सहयोग हुने देखिन्छ । यसले आयातित रासायनिक मललाई पूरै विस्थापित गर्न नसके पनि विकल्प भने बन्न सक्नेमा कुनै द्विविधा छैन । गँड्यौला मलमा बिरूवाका लागि चाहिने नाइट्रोजन, पोटासियम, भिटामिन, क्याल्सियम, जिन्क र आइरन राम्रो परिमाणमा पाइन्छन् । गोठको मलभन्दा यो ५ गुणा बढी लाभदायी रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
भर्मी कम्पोष्ट भनेको गँड्यौलाले कुहिने खालका पदार्थहरूलाई खाएर बनाएको मल हो । यसो गर्दा फोहोर व्यवस्थापनमा पनि ठूलो सहयोग मिल्छ किनभने कुहिने खालका फोहोरबाट मल बनाउन सकिन्छ । गँड्यौला बढी भए माछा, हाँस, कुखुरा आदिलाई दाना बनाउन पनि सकिन्छ । यसरी गँड्यौला मल बढी प्रयोग गर्न थालियो भने रासायनिक मलको माग घटाउँछ र नभई नहुने खेतीमा रासायनिक मल सहज उपलब्ध हुन सक्छ । गँड्यौला मलले माटोको उर्वरा शक्ति र यसको प्राकृतिक गुण कायमै राख्न मद्दत गर्छ । त्यसैले यसको प्रचारका लागि काम गर्नुपर्छ भने बजारको व्यवस्था गरेर गँड्यौला मल बनाउन पनि प्रोत्साहन गर्न सकिन्छ ।
नेपालमा विगतमा अर्ग्यानिक मल मात्रै प्रयोग हुन्थ्यो । तर, उब्जाउ बढाउन रासायनिक मल र विषादीको प्रयोग बढेपछि वातावरणीय लगायतका थुप्रै समस्या सृजना भएको पाइन्छ । रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आइरहेको छ । यी विविध समस्या समाधानका लागि पनि भर्मी कम्पोष्ट मल निकै उपयोगी हुने देखिन्छ ।
आधुनिक खेतीका नाममा रासायनिक मलकै प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य गरी यसका सम्भावित विकल्प खोज्न ढिला गर्नु हुँदैन । यसो गर्दा रासायनिक मल खरीदमा विदेशिने ठूलो रकम स्वदेशमै रहन्छ भने अर्कोतर्फ स्वदेशी शीप र ज्ञानको पनि उपयोग हुन्छ । सीमित व्यक्तिले उपयोगमा ल्याएको भर्मी कम्पोष्ट मलको प्रयोगले आयातित वस्तु मात्र राम्रा हुन्छन् भन्ने सोचलाई चुनौती दिएको छ । अहिलेको आवश्यकता यही सोच र कार्यलाई व्यापक बनाउनु हो । रासायनिक मलको सम्भावित विकल्पमध्ये भर्मी कम्पोष्ट मल पनि एक हो भन्ने बुझाइ आमसर्वसाधारण समक्ष पुग्नु/पुर्याउनु अहिलेको आवश्यकता हो ।