उत्तरी छिमेकी चीनको तिब्बत र नेपालको सीमानामै रहेको विश्वको छैटौं अग्लो हिमाल चोओयु आरोहणको लागि नेपालतर्फबाट आरोहण मार्ग खोल्ने नेपाली आरोहीहरूको सपना यस पटकलाई असफलतामा टुङ्गिएको छ । दुई भिन्न टोलीमा रहेका डेढ दर्जन प्रख्यात आरोहीहरूको ८ हजार १८८ मिटरमा रहेको शिखर चुम्ने अथक प्रयास अनपेक्षित र निरन्तरको हावाहुरीले गर्दा त्याग्नु परेको छ । पहिलो प्रयासमा ७ हजार ६०० मिटर र लगत्तैको दोस्र्रो प्रयासमा ७ हजार ९०० मिटरसम्म उक्लेका उनीहरूले आफ्नो प्रयासलाई निकट भविष्यमै आरोहण सिजनमा पुन: निरन्तरता दिने बताएका छन् ।
चोओयु हिमालमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ । यसबाट साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुनेछ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको पश्चिमतर्फ करीब २६ किलोमिटरको दूरीमा सोलुखुम्बुको गोक्यो उपत्यकाको शिरमा रहेको चोओयु हिमशिखर संसारका १४ वटा ८ हजार मिटर माथिका हिमालमध्ये सगरमाथा पछि आरोहीहरूले सबैभन्दा बढी रुचाएको हिमाल हो । हालसम्म तीन हजारभन्दा बढीले सफल आरोहण गरेको भएता पनि ती सबै आरोहण गतिविधि चीनको तिब्बत तर्फबाट भएका हुन् ।
दुई देशको सिमानामा पर्ने हुँदा चोओयुमा आरोहण अभियान सञ्चालनको लागि नेपालको पनि उत्तिकै हक लाग्छ । तर, पनि तिब्बततर्फ (उत्तरी मोहोडा) को भन्दा नेपाल तर्फको आरोहण मार्ग कठिन रहेको आरोहीहरूको भनाइ छ । यसपटकको आरोहणमा संलग्न आरोही गाइड गेसमान तामाङका अनुसार अन्तिम तेस्रो शिविर समेत तयार गरी त्यहाँबाट शिखरतर्फ जाँदा लामो धार (रिज) पार गर्न अनुमान गरिएको भन्दा लामो समय लाग्ने र त्यति उच्च स्थानमा घण्टौं टेक्निकल आरोहण गर्दा आरोहीको ज्यानमा खतरा हुन सक्ने तथ्य पत्ता लाग्नुले पनि पहिलेदेखि गरिँदै आएको अनुमानलाई सही देखाएको छ । आरोहण मार्ग कठिन नै भए पनि पर्वतारोहण जस्तो साहसिक पर्यटकीय गतिविधिका पारखीहरूको पर्वतारोहण क्षेत्रमा नौलो प्रयोग गर्ने शैली र रहरका कारण पोख्त आरोहीहरूको लागि नेपालतर्फबाट पनि चोओयु आरोहण मार्ग खोलिनु उपयुक्त देखिन्छ । चोओयु हिमाल आरोहणको लागि नेपालतर्फ कठिन मार्ग छ । त्यसमा पनि आरोहणको लागि थप कठिन मानिने हिउँद ऋतुमा आरोहण गर्ने ध्येय लिइएको छ । यस्तो ऐतिहासिक आरोहण अभियानमा विख्यात आरोही निर्मल पुर्जासहित विश्वको दोस्र्रो हिमाल केटुको ऐतिहासिक प्रथम हिउँदे आरोहण (जनवरी १६, २०२१) का सदस्य गेल्जे शेर्पाको नेतृत्वमा पुर्जाकै प्रोजेक्ट पोसिबल अन्तर्गत १४ उच्च शिखर आरोहण अभियानका गाइडहरू गेसमान तामाङ र लाक्पा देण्डी शेर्पा सहितको १० जनाको पहिलो टोली थियो । त्यस्तै अर्का प्रख्यात आरोही मिङमा दोर्ची शेर्पाको नेतृत्वमा ८ जनाको अर्को टोली पनि रहेको थियो । उनीहरू आरोहण अभियानको लागि गत जनवरी अन्तिम हप्ता काठमाडौंबाट त्यसतर्फ लागेका थिए । पहिलो टोलीले दक्षिण—पूर्वी मोहोडा (गोक्यो उपत्यका) र दोस्रो टोलीले दक्षिण पश्चिमी मोहोडा (नाङपाला भञ्ज्याङतर्फ) बाट आरोहण मार्ग खोल्दै शिखर चुम्ने लक्ष्य लिएका थिए ।
हावाहुरीको चुनौती र उनीहरूको आरोहण अनुमतिको अवधि हिउँद ऋतु (फेब्रुअरी अन्तिम) सम्म मात्र मान्य रहेकाले गत २८ फेब्रुअरीमा आरोहण अभियान त्यागिएको हो ।
साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको पर्वतारोहणको लागि नेपाल विश्वमै अग्रणी छ । चोओयु जस्तै अन्य ८ हजार मिटरमाथिका हिमाल आरोहणका लागि नेपाल सरकारले आरोहण अनुमति प्रदान गरेबापत उल्लेख्य राजस्व असुल्ने गर्दछ । कोभिड महामारीकै बीच गत वर्ष सन् २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न आउने स्वदेशी तथा विदेशी आरोहीहरूबाट नेपाल सरकारले ७० करोड भन्दा बढी राजस्व संकलन गरेको तथ्याङ्क रहेको छ । आठ हजार मिटरमाथिका विश्वका १४ मध्ये नेपालमा पर्ने ८ शिखरहरूमध्ये पनि सगरमाथा र चोओयु दुई देशको सिमानामा पर्ने हुँदा चीनतर्फबाट पनि आरोहण अनुमति जारी हुन्छ ।
चोओयु हिमालमा भने अहिलेसम्म नेपाल तर्फबाट आरोहण मार्ग खुल्न र सफल आरोहण हुन नसकेकाले चीनतर्फबाट मात्र आरोहण हुने गरेको छ । हिमाल आरोहण अनुमतिबाट सरकारलाई राजस्वको रुपमा आम्दानी मात्र प्राप्त हुँदैन । आरोही—गाइड, संलग्न अन्य कामदार, स्थानीय समुदाय र ट्रेकिङ तथा पर्वतारोहण कम्पनीहरूलाई रोजगारी र आर्थिक कारोबारको ठूलो अवसर पनि दिने गर्दछ । सगरमाथा आरोहणका लागि प्रतिविदेशी आरोही खर्च कम्तीमा ३५ लाख रहेको छ भने ८ हजार मिटर माथिका अरू हिमालमा आउने आरोहीको खर्च २५ लाखभन्दा बढी हुने गर्दछ । आरोहण सञ्चालक एजेन्सीलाई एकमुष्ट बुझाउने उक्त रकम बाहेक व्यक्तिगत रूपमा पनि आरोहीहरूले थप खर्च गर्दछन् । आरोहणमा संलग्न गाइड तथा अन्य स्टाफले सगरमाथाको लागि ६० दिन र अन्य ८ हजार मिटरमाथिको हिमालको लागि ४० दिन कम्तीमा रोजगारीको अवसर पाउँछन् । हिमाल आरोहणमा आउने पर्यटक भनेका गुणस्तरीय हुन्छन् अर्थात् उनीहरू खर्चालु हुन्छन् । त्यसैले हिमाल आरोहणका नयाँ नयाँ गन्तव्य खुलाउनु उपयुक्त हुन्छ ।
यस्तो नयाँ गन्तव्य मध्ये चोओयु हिमाल पनि एक हो । यसमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा उक्त हिमालमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ । यसबाट सरकारको राजस्वमा वृद्धि हुनुका साथै साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुन्छ । यसले पर्वतारोहणको इतिहासमा नयाँ आयाम पनि थप्नेछ । यसर्थ चोओयु हिमालमा नेपालतर्फबाट बाटो खोल्ने अभियानमा नेपाली आरोहीहरूबाट देखाइएको तदारुकतालाई सरकारले पनि यथेष्ट सहयोग र चासो दिनु जरुरी देखिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।