खाडीका देश र मलेसियाको कोराना सङ्क्रमणको पछिल्लो अपडेट, स्वास्थ्य समस्या भए यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाण्डौ - विश्वका अरु देशमाजस्तै नेपाली कार्यरत खाडी र मलेसियामा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार बेलुकीसम्म १९२ देशमा गरी १५ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।  कोरोना सङ्क्रमितको सँख्या बढ्दै जाँदा जोखिम पनि बढ्दो छ । आइतबार बहराइनमा तीन नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण पुष्टि भएको बहराइनमा ...

सम्बन्धित सामग्री

के गाँजालाई ओखतीको रुपमा सेवन गर्दा हुन्छ ? प्रा. डा. धनरत्न शाक्यको विचार

गाँजा अवैध हिसाबले संसारमा सबैभन्दा धेरै सेवन गरिने नशालु लागूपदार्थ हो । विश्व जनसंख्याको करीब ४ प्रतिशत (१९ करोड २० लाख) मानिसहरूले यसको सेवन गर्ने र अमेरिकीहरूमा ४० प्रतिशतले जीवनमा एक न एकपटक सेवन गर्ने आँकडा छ । यसको सेवन अक्सर हुर्किरहेको तरुण उमेर किशोरावस्थामै शुरु गर्नेे र पुरुषले बढी गरे पनि महिलाहरूमा पनि बढ्दै गएको देखिन्छ । यसरी किशोरावस्थामा शुरु गर्ने करीब १५ प्रतिशत र दैनिक सेवन गर्ने ३५–५५ प्रतिशत मानिसहरूमा यसको दुर्व्यसन, लत (Addiction) जस्तो गम्भीर स्वास्थ्य समस्या हुने विश्व स्वास्थ्य संघ (२०१६) को तथ्यांक छ । लेखक संलग्न अवलोकन र अध्ययनमा पनि मानसिक सेवामा आउने १०-२० प्रतिशत मानिसहरूले यसको सेवन गर्ने गरेको देखिएको छ ।  मूलतः क्यानाबिज साटिभा, एन्डिका र रुडरालिस जस्ता बोटमा हुने सयभन्दा धेरै खालका क्यानाबिनोइड्, फ्लाबिनोइड् र टर्नोइड् जस्ता रसायन पदार्थहरूमध्ये डेल्टा-9-टेट्राहाइड्रोक्यानाबिनोल र क्यानाबिनोलमा मात, लत लाग्ने गुण हुन्छ । धुवाँ बाफ तान्ने, खाने लगाउने अनेक स्वरूपहरूमा विभिन्न मात्रामा गाँजाको प्रयोग हुने गर्दछ । गाँजा, भाङमा १ प्रतिशत जति हुन्छ भने सिन्सेमिलामा ५-६ प्रतिशतसम्म हुने गर्दछ । यी बोटहरूबाट मादक पदार्थका अलावा कपडा, डोरीलगायत सामग्रीहरू तथा अचार, पेयपदार्थ जस्ता खाद्य–सामग्रीहरुको पनि उत्पादन हुने गर्दछ । यसको खेती, विक्री, वितरण, प्रयोग (मनोरञ्जन र चिकित्सकीय उपभोग)लाई कानूनी मान्यता दिनुपर्ने मत टड्कारो हिसाबले विश्वभरि नै आएको र नेपालमा पनि यसको लहर देखिएको छ । नेपालले सन् २०२० डिसेम्बरमा गाँजालाई मादक, लागूपदार्थको यस्तो समूह जसलाई उपचारात्मक प्रयोजनका लागि पनि विचार गर्न नसकिने कोटि (schedule IV) बाट पुनःवर्गीकरण र पुनर्विचार गर्नुपर्ने पक्षमा मत दिएको छ । यसलाई कानूनी मान्यता दिँदा देशलाई ठूलो धनराशी (सन् २०२५ मै करीब १ खर्ब ४६ अर्ब रुपैयाँ) फाइदा हुने र देशको विकास भई काँचुली फेरिने तर्क नेपालमा आएको छ । नेता, विद्वत भनिने केही व्यक्तिहरूबाट यसका पक्षमा साह्रै प्रभावकारी र चित्ताकर्षक वाणी, विचार,  अन्तरवार्ता, समाचार, लेख आदिको एकोहोरो अलाप र बाढी आएको स्थिति देखिँदैछ ।  दुई दशकभन्दा लामो समयदेखि मनोचिकित्सा कर्ममा रहेको एक मनोचिकित्सकका रुपमा मैले याद गरेदेखि अन्तरंग, बहिरंग, आकस्मिक सेवा सबै खालका सेटअपहरूमा यो गाँजा प्रकरणले धेरै बिरामी, तिनका जीवन र परिवारजनलाई थिल्थिलो, तहसनहस, विक्षिप्त र आजित बनाएको, सताएको देखेको छु । आज यो लेख लेख्न बसेकै दिन पनि हाम्रो साइक्याट्री वार्डका ३३ प्रतिशत बिरामीहरूमा गाँजाको सेवन छ भने २३ प्रतिशतमा यसको डिपेन्डेन्सको क्राइटेरिया पुग्छ । हिस्ट्री लिँदा बिरामी र मानिसहरूमा गाँजाको असरबारे पटक्कै वैज्ञानिक जानकारी भएको भेटिँदैन । कलेज र विज्ञान पढिरहेका बिरामीसमेत गाँजाले राम्रो हुने, यो सरल रूपमा पाइने कुरा गर्छन् । एकातिर गाँजाको पक्षधर मतको ज्वालामुखी ! अर्कोतिर हरपलको आफ्नो फर्स्ट ह्याण्ड अवलोकनको दिग्दारी ! तर अत्यन्त झिनो, नगन्य तथ्यगत गाँजा सेवनको विपक्षी मत । यसबारे निष्पक्षरूपमा यसको चिकित्सकीय प्रयोगबारे समीक्षा अध्ययन गर्ने विचार गरें र यसबारे जर्नल लेखहरू पनि प्रकाशित भए । यहाँ, त्यसै प्रयासको प्रतिबिम्ब तथ्यगत विचार राख्ने दुस्प्रयास गर्दैछु । तथ्यबारे घोटलेर सही कुरा अवलम्बन गर्ने जिम्मा भने विवेकी पाठकहरूकै हातमा सुम्पन्छु ।           गाँजामा हुने विशेषतः क्यानाबिड्योल भनिने एक विशेष रसायनचाहिँ केही स्वास्थ्य समस्याहरूमा औषधीको रूपमा प्रयोग गरेको पाइन्छ । विशेष खालको काम्ने, मुर्छा पर्ने, निकै थोरै सीमित रोग र उल्टी रोक्ने प्रयोजनमा यसको प्रयोगलाई ज्यादै हाइलाइट गरेको पाइन्छ । यी दुई प्रयोजनका लागि अमेरिकामा (एफडीए ) स्वीकृतिसमेत छ । अरु केही स्नायु रोगहरू (मल्टिपल स्क्लेरोसिस, पार्किन्सन्स)मा पनि यसको उपयोगिताको दाबी छ, तथापि प्रमाणको कमी देखिन्छ । उल्टी रोक्न र यस्ता स्नायु समस्याहरूमा प्रयोग गर्ने भनिए पनि गाँजामा हुने यी नै केमिकलले रोक्नै हम्मे पर्ने वान्ता भई यसको सेवन गर्ने धेरै मानिसहरू सिकिस्तै परेको बढी देखियो । स्नायुरेशा र कोषमा प्रतिकूल असर परी अरु धेरै स्नायु समस्याहरू उब्जिएको पाइयो । कोभिडको महामारीको बेलामा पनि गाँजाले फोक्सोको स्वास्थ्यमा फाइदा हुने भनिए पनि यसमा हुने अर्को रसायनले फोक्सोमै गम्भीर असर पर्ने र क्यान्सर समेत गराउनसक्ने तथ्य सामु आयो । गाँजामा सुर्ती चुरोटमा जस्तै बेन्जोपाइरिन लगायत्का थरिथरि क्यान्सरकारक रसायनहरू त्यसमा भन्दा चारगुणा बढी असरदार हुने रिपोर्ट आएको छ । क्यान्सरको दर्द, खानाको अरुचिमा काम लाग्ने भन्दै गर्दा यसले नै विभिन्न खालका क्यान्सर गराउनसक्ने तथ्य झन् ध्यान दिन आवश्यक हुन गयो । खानाको अरुचिमा फाइदा पुग्ने भनिने गाँजाको सेवन गर्ने मानिसहरू अक्सर खाना नखाने, खानपिन अनियमित हुने र कुपोषणको शिकार भइरहेकै देखिन्छ । अझ, यसको सेवनले खानाको अरुचि भई तौल नियन्त्रण रहने भएकोले विशेष गरी आधुनिक र स्लिम हुन चाहने महिला वृत्तमा यसको सेवनको कुरा उठ्ने गरेको र त्यसै हिसाबका आकर्षक विज्ञापनहरू पनि देखिन्छ । दुखाइ, पीडा, सुजन कम गर्न प्रयोग गर्ने सन्दर्भमा आजकल औषधी विज्ञानमा अरु धेरै प्रभावकारी, सुरक्षित र वैज्ञानिक प्रमाण सहितका औषधीहरू विकास भइसकेको परिप्रेक्ष्यमा गाँजाको एनाल्जेसिक गुणको उपयोग गरिहाले पनि अति अति सतर्कताका साथ, अन्तिम उपायका रूपमा मात्र गर्नु ठिक होला ।  यता कतिपय मानसिक रोगहरूमा पनि गाँजाको उपयोगिताबारे मेडिकल लिटरेचरमा उल्लेख गरेको पाइन्छ । एन्जाइटी र निद्राको समस्यामा फाइदा गर्ने भनिए पनि सेवन गरेको वा मातिएको वा लामो समयको सेवन गर्नेहरूमा अक्सर धेरैमा मनोत्रास प्यानिकदेखि लिएर विभिन्न खालका छट्पटी एन्जाइटीसम्मका समस्याहरू देखिन्छन् । उदासीनता, डिप्रेसन वा मेनियामा पनि यदाकदा फाइदाको कुरा भने पनि आम यथार्थ जुन मेरो पनि देखेभेटेको कुरा हो, त्यो के भने गाँजा सेवन गर्ने मानिस यी मानसिक रोगले कडै रुपमा प्रभावित भएपछि अक्सर मनोस्वास्थ्य सेवामा आउँछन् । त्यसकारण यस्ता भावना वा मूड डिसअर्डरमा गाँजा ओखतीको रूपमा प्रयोग गर्ने कुरा मिल्दैन । कतिपय अरु मादक, लागूपदार्थमा लत लागेकाहरू गाँजातिर लाग्ने वा गाँजाबाट नशा सेवन थालेकाहरू अरु पनि सेवन गर्न थाल्ने परिदृश्य यस्ता मानिसहरूमा आमरुपमा भेट्टिने देखिने हुन् । कतिसम्म भने, गाँजाको उपयोगिता केही सीमित खालको साइकोसिसमा हुन्छ पनि भनियो । जबकि, अति धेरै मानिसहरूमा एकचोटी, बारम्बार सेवन वा दीर्घरूपमा यसको लत भएकाहरूमा साइकोसिस भएको देखिन्छ । गाँजाको सेवनले साइकोसिसको अनुवांसिक खतरा भएकाहरूमा एक पटक मात्र सेवन गर्दा पनि सलाईको काटीले जस्तो काम गर्दछ । यसको सेवनले साइकोसिस जस्तो गम्भीर मानसिक समस्याको शुरुवात गर्ने, यसको समग्र परिणति प्रतिकूल बनाउने, लक्षणहरू कडा रूपमा प्रकट गराउने र गाँजाको वैधतापछि यसको सेवन बढ्दा जनसंख्यामै अरु जटिलता र समस्यासहित विशेष गरेर साइकोसिस बढेका तथ्यांकहरू धमाधम आइरहेको देखिन्छ ।  तर्क गर्ने र मत दिनेहरू भन्छन्– गाँजा पनि ओपियड र अरुजस्तै नशा र लत लाग्नसक्ने पदार्थ हो । ठिक मात्रा, तरीका र माध्यमले लिए बिष त ओखती हुन्छ । अरु पदार्थ ओखतीको रूपमा प्रयोग गर्न मिल्ने, गाँजा किन नमिल्ने ! यस मामिलामा केही महत्त्वपूर्ण पक्षहरू गहिरिएर मनन् गर्न जरुरी हुन्छ, जस्तै– के प्रयोजनका लागि प्रयोग गर्ने ? के-कस्ता वाञ्छित र प्रतिकूल असर छन् ? ती असरहरूको पूर्वानुमान लगाउन सकिने नसकिने आदि । गाँजाका सवालमा, प्रमाणको हिसाबले यसका हानीहरूको अति ज्यादा तर, उपयोगिताको भने प्रमाण पुष्टि हुन बाँकी देखियो । यसको प्रयोगले मुटुको चाल गडबड भई मृत्यु समेत र साइकोसिससम्म हुने रिपोर्टहरु आए । यी घातक असरहरुको कुनै अनुमान लगाउने भरपर्दो आधार भने देखिँदैन । दीर्घ लती मात्र होइन, अति कम मात्रा र केवल एकपटक मात्र चाख्नेलाई पनि गम्भीर परिणाम हुनसक्ने देखियो । फेरि, यो दबाइभन्दा पनि प्लान्ट बेस्ड भएकोले व्यवहारिकरूपले प्रयोगमा आउने कुरामा यसको मात्रा निश्चित नहुने र वास्तविक धरातलमा अनियन्त्रित भई अति गम्भीर परिस्थिति सिर्जना भएका प्रतिवेदनहरू आइरहेछन् ।  अरु देश वा ठाउँको देखासिकी गरेर वा कुनै रूपमा यसको पक्षमा आमरुपले गाँजा बैध गर्दा नेपाल जस्तो अज्ञानता, गरीबी, कमजोर शासन व्यवस्था भएको र पिछडिएको मुलुकमा अति गम्भीर परिणाम नआओस् भनी सतर्क हुन आवश्यक छ । यसको मतलब, सोलोडोलो रोक तथा कानूनी बन्देज लगाउनु वा अहिलको परिस्थितिले सिर्जना भएको लुपहोल्स, राज्यले अनाहकमा राजस्व गुमाउने, तस्कर बिचौलिया मोटाउने परिस्थितिले निरन्तरता पाओस् अथवा यसको अनुसन्धान प्रक्रियालाई निरुत्साहित गर्नु भनेको भने पक्कै होइन । यसतिर गम्भीररूपमा सोचेर हाम्रो आफ्नो वस्तुस्थिति, यथार्थको मनन् गरेर आम मानिस, विद्यार्थी, शिक्षक, अभिभावकलगायत सबैलाई यसबारे सुशिक्षित बनाउने, यसको वैज्ञानिक अनुसन्धान अध्ययनलाई प्रेरित गर्ने तथा विद्यमान कानूनको वैज्ञानिक ढंगले परिमार्जन गरी निर्दिष्ट उद्देश्य, प्रयोजनपरक र जनस्वास्थ्यप्रति सजग नीतिनियमहरूको निर्माण र गम्भीरतापूर्वक कार्यान्वयन गर्न राज्य सरकार र जनता लाग्न जरुरी भएको छ । अब, यस्तोमा कतै सुनियो, विज्ञापन देखियो वा कसैले भने, ‘गाँजा त गज्जबको ओखती हो’, त पत्याउनु र प्रयोग गर्नुअघि अहिलेसम्म प्राप्त प्रमाणहरू पर्गेल्न र बारम्बार सोचेर ठम्याउन जरुरी हुन्छ ।  (प्रा. डा. शाक्य, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।) #Marijuana #Weed #cancer #depression #Dependence #abhiyandaily #aarthikabhiyan

अब हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने

प्रयोगकर्ताहरूबाट अपार माया पाइरहेको हाम्रो पात्रो एपको “हाम्रो पात्रो हेल्थ” सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन्। स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यो सुविधाहरू थप्न हौसाएको बताइएको छ। देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमूलक मानिसहरूको दैनिक तथा सांस्कृतिक जीवनमा महत्त्वपूर्ण साथी बन्न सफल लोकप्रिय हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसहरूको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको कम्पनीले जनाएको छ।

ओमिक्रोनले पर्यटन थप प्रभावित

विश्वभरि नै कोरोनाको त्रास कायमै छ भने यसका विभिन्न भेरियन्ट पनि देखा परेका छन् । डेल्टा भेरियन्टले त्रस्त बनाएको विश्वमानव समुदाय पछिल्लो समयमा आएर ओमिक्रोन भेरियन्टका कारण झनै चिन्तित बन्न पुगेको छ । उसले हालसम्म विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । ओमिक्रोनले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ । पछिल्लो समयमा विश्वका १९ भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टको लक्षण देखा परेको छ । कोभिडको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनले प्रतिरक्षालाई कमजोर बनाउने र हालसम्मको भेरियन्टमा यो सबैभन्दा बढी संक्रामक तर कम खतरनाक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसले विश्वका विभिन्न क्षेत्रमा असर पुर्‍याएको छ । प्रभावित क्षेत्रमध्ये पर्यटन पनि एक हो । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रस्त बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन शुरू गरेका कारण पर्यटन व्यवसाय पुरानै अवस्थामा जाने हो कि भन्ने चिन्ता विश्वव्यापी रूपमा बढिरहेको छ । सन् २०२१ को ११ महीनामा १ लाख २६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३ सय दुई जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९मा भने ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ । सन् २०२० को दोस्रो अन्तिम महीनामा १ हजार ९ सय ५६ जना विदेशी पर्यटक नेपाल आएका थिए । २०२० मा कोरोनाका कारण लामो समय विदेशी पर्यटक नेपाल प्रवेश गर्न पाएनन् । तथ्यांकअनुसार भारतबाट १० हजार ४ सय २१, बंगलादेशबाट १ हजार ३ सय ८२ पर्यटक नेपाल आएका थिए । यो वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा र कम जुन महीनामा नेपाल भित्रिएको देखिन्छ । यस्तै, जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे महीनामा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१, अगस्टमा ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ८ सय ९८ र अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी नेपाल भित्रिएका थिए । केही समयअगाडि सामान्य गति लिएको नेपाली पर्यटन क्षेत्र कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रस्त बन्न पुगेको छ । अब विश्वको पर्यटन पुरानै लयमा कहिले फर्कने होला भन्ने चिन्ता छाएको छ । नेपाल सरकारले विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको आगमनमा कडाइ गरेपछि नेपाली पर्यटन क्षेत्र सुस्ताएको हो । हाल जापान, इजरायल, अस्टेलिया, बेल्जियम, अस्टियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका कारण नेपाली पर्यटन बजार संकुचित बन्न पुगेको छ । हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसेथो, मोजाम्बिक र मलावीबाट ट्रान्जिट बनाएर नेपाल आउनेलाई रोक लगाएसँगै नेपाली पर्यटन क्षेत्रमा बादल मडारिएको देखिन्छ । संक्रमणको जोखिम भएको मुलुकबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने सरकारको निर्णयले पनि बाह्य पर्यटन क्षेत्र प्रभावित भएको छ । आन्तरिक उडान प्रभावित भएका कारण विदेशी पर्यटक नेपालमा प्रवेश गर्ने क्रम शून्य भएको छ भने सरकारले अत्यावश्यक कामबाहेक नेपालीलाई पनि विदेश भ्रमणमा नजान आग्रह गरेको छ । हालसम्म ओमिक्रोनबाट दक्षिण अफ्रिका, यूरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन् । दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलोपटक देखिएको यो भेरियन्ट तीव्र गतिमा फैलिएपछि विभिन्न देशले उक्त देशमा आवतजावतमा रोक लगाउन थालेका हुन् । ओमिक्रोन भेरियन्टका ५० भन्दा बढी म्युटेशन पाइएका छन् । यसमध्ये ३० ओटा स्पाइक प्रोटिनमा म्युटेशन भएको देखिन्छ । यसका कारण यो तीव्र संक्रामक बनेको हो । शुरूमा डेल्टा भेरियन्टमा पनि भ्याक्सिन प्रभावकारी नहुने बताइएको थियो । नयाँ भेरियन्ट धेरै म्युटेशन र संक्रामक रहे पनि संक्रमण देखिएका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या भएको देखिएन । तर संक्रमण बढ्ने भएकाले सीमा र एयरपोर्टमा निगरानी बढाउनु जरुरी देखिन्छ । यस कारण बन्दाबन्दीको अवस्था सृजना भएको छ र त्यसले मानिसको आवागमनमा समेत बाधा पुर्‍याएको छ । यसको गम्भीर असर नेपाली पर्यटन क्षेत्रमा पनि परेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्य्रएचओ) को पछिल्लो जानकारीअनुसार नेपाल, भारतसहित विश्वका ९० भन्दा बढी मुलुकमा ओमिक्रोनको संक्रमण देखापरेको छ । ओमिक्रोन प्रत्येक डेढदेखि ३ दिनको अवधिमा दोब्बर विस्तार हुँदै जाने हुँदा यो तीव्ररूपमा फैलिएको देखिन्छ । कोभिड संक्रमणको यस्तो महामारीबाट बच्नका लागि हरसम्भव प्रयास गर्नु अहिलेको विश्वव्यापी चिन्ता हो । कोभिडबाट युवा, बालबालिका, वृद्ध सबै उमेरका मानिसहरू प्रभावित भएका छन् । लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्यापन गर्छन् ।

धार्मिक सम्प्रदायलाई देश सुम्पिँदा लेबनान कसरी बर्बाद भयो ?

लेबनान ! मध्यपूर्वको सुन्दर देश ! इजरायल र सिरियाको बीचमा रहेको र भूमध्य सागरसँग जोडिएको आकर्षक पर्यटकीय गन्तव्य ! तर, सुन्दर देश लेबनान अहिले आर्थिक–राजनीतिक कुरुपतामा जेलिएको छ । बितेका कयौँ दशकदेखि संकटको छायाँमा छोपिएको छ र लेबनानको सुन्दरता धुमिल हुँदै गइरहेको छ । लेबनान विश्वमै सबैभन्दा खराब आर्थिक संकटको गर्तमा भासिएको छ ।आर्थिक संकटमात्रै होइन, स्वास्थ्य समस्या र फोहोरबाट सृजित खराब समस्या लेबनानमा विकराल बनिसकेको छ । मानिसहरूले अकल्पनीय ढंगले रोजगारी गुमाएका छन् । त्यहाँको मुद्राल

फोहरमा सम्भावनै सम्भावना

अहिले देशको खाशगरी केन्द्रीय राजधानीको कुना कुनासम्म फोहर थुप्रेका छन् । आफूलाई सुकिला मुकिला ठान्ने कतिपय मानिसहरू नाक थुनेर हिँडिरहेका छन् । तर नाक थुन्नु पर्दैन । किनकि फोहरबाट मोहर बनाउने सरकारको योजना जो छ । यदि कोरोना नामको कीरा नफैलिद्या भए हाम्रा महानगरका पिता कुन शहरले कसरी फोहर व्यवस्थापन गरेछ भनेर स्थलगत अध्ययन गर्न दलबलसहित विदेश शयरमा निस्किसक्या हुन्थे । डलरमा भत्ता आउने भएपछि मोगादिशुदेखि मिसिसिपीसम्म पनि भ्याउँथे । सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि । तर कुरा नबुझ्नेहरूले ङ्यारङ्यार गर्न थालेकाले सरकारले सडकका फोहर उठाउन थालेको छ र ढिलोचाँडो केही उठ्ला पनि । तर देशबाट सबै फोहर सजिलै हट्नेवाला छैन है ! किनकि फोहरमा सरकारले धेरै सम्भावनाहरू पो देखेको छ त । त्यसमा पनि कथंकदाचित् अरू क्षेत्रका फोहर हटेछन् भने पनि राजनीतिभित्र भएको फोहर हटाउने त कुरै छैन । किनकि राजनीतिक व्यवस्था नै अन्तिम सत्य हो, अर्थव्यवस्था मिथ्या हो । फेरि तपाईंले साँच्चै खोजेजस्तो सफा त कहाँ छ र ? कुन क्षेत्र फोहोरबाट अछुतो छ र ? विकसित देशहरूबाट कन्टेनर भरिभरीकन हाम्रोे देशमा भित्रिरहेको अनेकखाले कवाडी फोहर त झन् कतिकति । राजनीतिमा नै हेरौं न । जहाँ राजनीति छ, त्यहाँ फोहर छ । फोहर छ र त त्यहाँ मोहर पनि छ । अर्थात् त्यहाँ गोबर पनि छ, गौरव पनि छ । जब गोबर र गौरव उछालिन्छ, तब राजनीतिमा गतिशीलताको दर्शन हुन्छ । नत्र राजनीति फोहरले भरिएको नालीजस्तै प्रवाहहीन हुन्छ । त्यसैले फोहर राजनीतिको स्थायी भाव हो । त्यसैले ‘मेरो वा हाम्रो चरित्रमा फोहर फ्याँक्ने काम भइरहेछ,’ राजनीतिमा प्रायः यस्ता कुरा खुब सुनिन्छन् । सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि । हैन र ? अर्थात् फाइदा फोहर हटाउनुमा भन्दा फोहर गर्नुमै छ भने किन हट्छ फोहर ? निजीक्षेत्रले फोहर व्यवस्थापन गर्छु भनेर सरकारको योजनामा भाँजो नहालेको कहाँ हो र ? तर, सरकार त सरकारै हो, कुकुर भुक्दै गर्छ, सरकारको सवारी चल्दै गर्छ । वास्तवमा अहिले खाली सिसी, पुराना कागजवाला वा कवाडीवालाका लागि एउटा नयाँ दुनियाँको प्रादुर्भाव भएको छ । अब कवाडीवालाहरू ठेला र थोत्रा ट्र्याक्टर धकेलेर घर घर धाउन पनि नपर्ने भएको छ । किनकि शहरमा जहाँ उभियो, त्यहीँ हरेक प्रकारका फोहर पाइने भएको छ । यसले कत्तिलाई रोजगारीको नयाँ अवसर पनि दिलाएको छ । रोजगारी बढाउने चिन्तामा सरकार अब दुब्लाइरहनु नपर्ने भएको छ । तर सँगसँगै कवाडी व्यवसाय पनि अब कर्पोरेट पञ्जामा जाने सम्भावना पनि बढेर गएको छ । साँच्चै भन्ने हो भने देश अहिले फोहरमा मात्र भने पनि आत्मनिर्भर भइसकेको छ । अब पैसा कमाउन पानीबाट बिजुली बनाएर बेचिरहनुपर्ने झन्झट लिइरहनुपर्दैन । वस्तु उत्पादन गरेर निर्यात गर्ने झन्झट पनि गरिरहनु पर्दैन । देशैभरि यत्ति फोहर थुप्रिएका छन् कि, व्यावसायिक सम्भावना खोज्न अरू क्यै गरिरहनै नपर्ने भएको छ । फोहरमा मात्र फोकस गरे पुग्छ । जलस्रोतमा धनी भनेर मात्र कति चिनाउनु नेपाललाई भनेर सरकार फोहरबाट पनि विश्व कीर्तिमान बनाउन लागिरहेछ । जलविद्युत्मा अपार सम्भावना भन्दा भन्दा थाकिसकेकाले अब फोहरबाट बिजुली निकालेर बेच्नेसम्मको योजना सरकारले बनाइरहेको छ । सरकारले सम्भावना दोहनको जग हालिरहेको छ । जनता कुरै बुझ्दैनन् अनि फोहर उठाएन मात्र भन्छन् । मुलुकमा फेयर व्यापारभन्दा फोहरी व्यापार बढी फस्टाएको छ । फेयर ट्रेडमा १० ओटा सिद्धान्त छन् । यो फोहर ट्रेडको त एउटै सिद्धान्त छ । जति बढी फोहर, उत्ति बढी मोहर । फोहरमा मोहर हुने भएकाले त इधरउधरवालाहरू मालामाल हुने तर उद्यमीहरू रसातल पुग्ने स्थिति बनेको हो देशमा । हुन पनि के मात्रै पाइन्न फोहर कवाडीमा ? बियर र मदिराका बोतल, एन्टिबायोटिक लगायत महँगा टनिक र औषधिका बोतल । थोत्रा किताबका साथै भर्खरै छापिएका साहित्यिक नयाँ किताबहरूदेखि कतिपय पुरस्कारप्राप्त किताबहरू सबै पाइन्छन् कवाडीमा । देशको स्थिति बुझ्न, व्यापार बुझ्न अन्त कतै जानै पर्दैन, कवाडीवालाकहाँ गए पुग्छ । समाजका मान्छेहरूको स्वास्थ्य समस्या बुझ्न ढल र फोहरका टोकरीको अध्ययन गर्ने चलन त पुरानो भैसक्यो । त्यसैले कवाडी व्यवसाय पनि अब कुशल व्यवस्थापनको विषय बनिसकेको छ । म्यानेजमेन्ट कलेजहरूका लागि ‘फोहर व्यवस्थापन’ पढाइको एउटा नयाँ विषय हुन सक्छ । कवाडीमा पनि थुप्रै किमती चीजहरू पो फेला पर्छन् त । के थाहा यो फोहरभित्र देशमा हराएका लाउडा, धमिजा, चेज एयरहरू पो भेटिइहाल्छन् कि ! बूढीगण्डकी लगायत थुप्रै राष्ट्रिय गौरवका आयोजनाहरू नै फेला पर्छन् कि ⁄ विकासे योजनाका ठूला ठूला फाइल नै फेला पर्छन् कि ? त्यसैले फोहरमा सम्भावना अनन्त छन् । बरु आउनोस् हामी सबै मिलेर कार्पेट उल्टाएर फोहर उधिन्नतिर लागौं । त्यहाँभित्र केही पुराना केही नयाँ खजाना पक्कै भेटिन सकिन्छ । नभए दशकौंदेखि थुप्रिएर बसेका फोहरहरूलाई सिनित्त पार्न पो सकिन्छ कि ? फेरि, फोहर उठाउने ठेक्का सरकारले मात्र लिएको छ र ? त्यसैले, फोहर लगेर महानगर र सिंहदरबारको गेटमा नराखौं । बरु त्यहाँभित्र गजधम्म परेर बसेका राजनीतिक फोहरहरूलाई चैं इतिहासको डम्पिङसाइटबाटै निकालेर अन्त कतै लगेर विसर्जन गर्नतिर चैं लाग्ने कि ?

कोभिड दोश्रो लहर नियन्त्रणका लागि सरकार र उद्योगीलाई निजी क्षेत्रको अपील

कोभिड १९ को भिन्न भेरियन्ट सहित महामारीको दोस्रो लहरबाट सम्पूर्ण देश आक्रान्त भइ पूनः लकडाउनको स्थितिको सामना गरिरहेको छ । यो पटक विगतभन्दा तीव्र गतिमा संक्रमण बढ्नुका साथै बालबालीका तथा यवुाहरूमा समेत गम्भीर स्वास्थ्य समस्या सिर्जना हुने गरी मृत्यु नागरिकहरुको संख्या ह्वात्तै बढ्न गएकाले त्रासदिपूर्ण अवस्थाको सिर्जना भएको निजी क्षेत्रले जनाएको छ ।  देशभर स्वाथ्य सामाग्री, औषधोपचार, स्वाथ्यकर्मीहरुको अभाव खट्कदै गईरहेको छ भने लकडाउनसँगै आम नागरीकको जीवनयापन कठिन बन्दै जानुका साथै उद्योग व्यवसाय ताला लाग्ने प्रत्यक्ष अप्रत्यक्षरुप...