पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरुको माग

नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ। यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ। नेपाल बाहिर धेरै...

सम्बन्धित सामग्री

विदेशी मुद्रा कमाउने पर्यटनमा बेवास्ता : निजीक्षेत्रकै पहलमा चलिरहेछ पर्यटन

केही समय पहिले विश्व पर्यटन दिवस–२०२३ ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि मनाइयो । कार्यक्रममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही र पर्यटन क्षेत्रमा विविध ढंगले योगदान गर्ने संस्थालाई आठ विधा छुट्ट्याई सम्मान गरिएको थियो । बढी विदेशी मुद्रा आर्जन गरेकामा सरकारले एयरलाइन्स कम्पनीमा वायुसेवा निगमलाई सम्मान गर्‍यो । निगमले १ वर्षमा ८ करोड ४५ लाख ९ हजार अमेरिकी डलर आर्जन गरेको थियो । होटेल तथा रिसोर्टअन्तर्गत एभरेस्ट हस्पिटालिटी एन्ड रिसोर्टलाई सम्मान गर्‍यो । उसले ५० लाख ४१ हजार अमेरिकी डलर आर्जन गरेको थियो । पर्वतारोहण र ट्रेकिङतर्फ सेभेन समिट ट्रेकिङ कम्पनीले ४३ लाख २२ हजार अमेरिकी डलर आर्जन गरेको थियो । ट्राभल तथा टुर्सतर्फ सीता वल्र्ड ट्राभल नेपालले ३३ लाख ६१ हजार अमेरिकी डलर आर्जन गरेको हुँदा सम्मान गरिएको थियो । त्यसैतर्फ साहसिक खेलतर्फ पोखरा अल्ट्रा लाइटले सबैभन्दा बढी ४४ हजार अमेरिकी डलर आर्जन गर्न सफल भएको थियो । यसरी विदेशी मुद्रा बढी आर्जन गर्ने पर्यटनका विविध क्षेत्रलाई सम्मान गर्नु राम्रो काम हो । तर, यस्तो पुरस्कारले मात्रै व्यवसायीलाई सहयोग पुग्दैन । विदेशी मुद्रा आर्जन गर्ने अन्य उद्योगले निर्यातबापत अनुदान पाउँदा पर्यटन क्षेत्रलाई चाहिँ किन अनुदान नदिने ? जुन क्षेत्रमा बढी सम्भावना छ त्यही क्षेत्रलाई चाहिँ किन उपेक्षा ?  विश्व बैंकका अनुसार पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६ दशमलव ७ प्रतिशत टेवा पुर्‍याएको छ । कुल रोजगारीको ६ दशमलव ७ प्रतिशत अंश ओगटेको छ । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सृजना गरी गरीबी निवारणमा समेत सहयोग पुर्‍याउँदै आएको छ । तर, यही क्षेत्रका लागि सरकारले कम बजेट छुट्ट्याएको छ । सरकारले आव २०८०/८१ मा ११ अर्ब ९६ करोड रूपैयाँ विनियोजन गरेको छ । सरकारले गत आव २०७९/८० मा ९ अर्ब ३८ करोड रूपैयाँ छुट्ट्याएको थियो । त्यसैले सरकारको नीति पर्यटन व्यवसायीहरूका लागि राम्रो देखिँदैन । त्यसमाथि डलर ल्याउनका लागि सरकारले कुनै सुविधा नै दिएको छैन । जुन क्षेत्रले बढी विदेशी मुद्रा आर्जन गर्छ त्यसलाई बढी सुविधा दिनुपर्ने हो । यसो गर्दा बढी प्रोत्साहन मिल्छ र व्यवसायी उत्साहित हुन्छन् । तर, नेपालमा त्यसको ठीक उल्टो छ । जसले बढी विदेशी मुद्रा ल्याउँछ, उसले नै बढी राजस्व तिर्नुपर्छ । उसैलाई प्रोत्साहन कम दिइन्छ । पर्यटन क्षेत्र रोजगारी सृजना गर्ने, विदेशी मुद्रा आर्जन गराउने र खर्चको वातावरण निर्माण गराउने काम गर्छ । जब पर्यटकीय चहलपहल बढ्छ त्यसबाट सबै क्षेत्र लाभान्वित हुन्छन् । पर्यटनलाई प्रोत्साहन गर्न कर छूट दिनुपर्छ र निर्यात उद्योगले सरह अनुदान पनि पाउनुपर्छ । ट्राभल र टुर क्षेत्रले मूल्यअभिवृद्ध कर छूटको माग गरे पनि सरकारले सुनेको छैन । नेपाली व्यवसायीहरू मारमा परिरहेका बेला सरकारले फेरि राजस्व तिराउन लाग्यो भने व्यवसाय नै बन्द गरेर पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।  जुन क्षेत्रले बढी विदेशी मुद्रा आर्जन गर्छ त्यसलाई बढी सुविधा दिनुपर्ने हो । यसो गर्दा बढी प्रोत्साहन मिल्छ र व्यवसायी उत्साहित हुन्छन् । तर, नेपालमा त्यसको ठीक उल्टो छ । जसले बढी विदेशी मुद्रा ल्याउँछ, उसले नै बढी राजस्व तिर्नुपर्छ । उसैलाई प्रोत्साहन कम दिइन्छ ।  सरकारले निजीक्षेत्रसँग नीति निर्माणको क्षेत्रमा दोहोरो सहकार्य नै गर्दैन । अहिले त धेरै डलर आयो कि डराउनुपर्ने अवस्थासमेत छ । के कस्तो नीति लिँदा निजीक्षेत्रले सहज अनुभव गर्छ र काम गर्छ भन्नेमा भन्दा निजीक्षेत्र भनेका ठग हुन् भन्ने मानसिकता सरकारी अधिकारीमा पाइन्छ । निजीक्षेत्रले कतिपय ठाउँमा बदमासी गरेको पनि पाइन्छ । त्यो बदमासी रोक्न र कारबाही गर्न सरकारलाई अधिकार छ । तर, एकाध व्यक्ति खराब देखिए भन्दैमा सबै निजीक्षेत्रलाई नराम्रो दृष्टिले हेर्नु हुँदैन । यदि निजीक्षेत्रप्रति नकारात्मक सोच राख्ने हो भने सबै क्षेत्रमा सरकारले लगानी गरोस् न त, सक्छ ? सरकारसँग त्यो क्षमता र हिम्मत छ ? आफ्नो जिम्मामा रहेका केही सेवाक्षेत्रमा कत्तिको विकृति छ र मनलाग्दी छ अनि जनतालाई कति सास्ती दिएका छन् भन्ने कुराबाट नै सरकारको क्षमता सजिलै आँक्न सकिन्छ । निजीक्षेत्रलाई अर्थतन्त्रको संवाहक पनि भन्ने, करचाहिँ सकेसम्म लिने तर तिनलाई काम गर्न सहज वातावरण बनाउन र प्रोत्साहन गर्नचाहिँ पछि हट्ने ? यो सरासर राज्यको बेइमानी हो । पर्यटन क्षेत्र यही बेइमानीको सिकार भइरहेको छ । निजीक्षेत्रले लगानी गरेर सकी नसकी पर्यटन प्रवर्द्धन गरेर पर्यटक ल्याउँदा उल्टो विमानस्थल कर, विलासिता कर आदि भनेर खुट्टा बाँध्ने काम भइरहेको छ । पर्यटन क्षेत्रले यसलाई उद्योगको मान्यता दिन र सोहीअनुसार सुविधा दिन माग गरेको दशक नाघिसक्यो तर सरकार कानमा तेल हालेर बसेको छ । कोरोनाबाट थलिएको पर्यटन बिस्तारै लयमा फर्कने संकेत देखिएको छ । अक्टोबर महीनामा पर्यटन आगमन निकै उत्साहजनक देखिएको छ । यसले यस वर्ष पर्यटक आगमनको संख्या १० लाख नाघ्ने सम्भावना देखिएको छ । यो भनेको कोरोनाकाल अघिको संख्या हो । तर, यसमा सरकारी पहल भने शून्य छ भन्दा पनि हुन्छ । पर्यटनमा मन्त्री फेरिएपिच्छे नयाँनयाँ कार्यक्रम घोषणा हुने गरेको छ । कहिले आन्तरिक पर्यटन बढाउने भन्दै पर्यटन बिदाको घोषणा भयो त कहिले पर्यटन दशक । तर, ती कुनै पनि कार्यान्वयन भएन भन्दा हुन्छ । अहिले पनि भ्रमण दशकको कार्यक्रम फिर्ता लिइएको छैन तर त्यो कसरी मनाउने, केके लक्ष्य राख्ने, केकस्ता नीति लिने र केकस्तो पूर्वाधार बनाउने भन्ने कुरामा खासै छलफल र गृहकार्य भएको देखिँदैन । नेपालमा हतारमा कार्यक्रमको घोषणा गर्ने, त्यो पत्रपत्रिकामा छापिने तर कार्यान्वयन भने नहुने परिपाटी नै छ भन्दा हुन्छ । यसो गर्दा निजीक्षेत्र अलमलमा पर्छ । सरकारले कुनै नीति लियो भने त्यसैअनुरूप निजीक्षेत्रले लगानी बढाउने हो । पर्यटनमा सम्भावना देखेर नै अहिले होटेल पूर्वाधारमा निकै ठूलो लगानी भएको छ । अहिले पर्यटन क्षेत्र पूर्णरूपमा पुरानै लयमा आएको भान हुन्छ । पदयात्रा मार्ग र होटेलहरू अहिले भरिभराउ देखिएका छन् । यसबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् । तर, अहिले देखिएको पर्यटन आगमनमा सरकारी नीतिले कति काम गरेको छ र निजीक्षेत्रको पहलले कति काम गरेको छ भन्ने स्पष्ट छैन । यद्यपि सरकारको काम खासै देखिएको छैन । त्यसैले यसको जस पनि निजीक्षेत्रले नै पाउँछ ।  पर्यटन व्यवसायलाई गति दिन सबैभन्दा तगारो अहिले सडक बनेको छ । पोखरा पुग्ने सडकको दुर्दशा भनेर साध्य छैन । सडक विस्तार भइरहेको छ तर त्यो निकै सुस्त गतिमा छ । यही कारण पर्यटकले धेरै समय सडकमा बिताउनुपर्ने भएको छ । सडकमा समय बिताउन पर्यटक आउने होइनन् । व्यस्त कार्यतालिका लिएर आउने पर्यटक छिटो आफ्नो गन्तव्यमा पुग्ने र जुन उद्देश्यले आएको हो त्यसमै रमाउने चाहना राख्छन् । पदयात्राका लागि आएको पर्यटकले बाटोमै समय बिताउन पर्‍यो भने उसले आफ्नो साथीलाई यो समस्या पक्कै भन्छ । यस्तो समस्या थाहा पाएपछि पर्यटकले अर्कै गन्तव्य रोज्नु स्वाभाविकै हो । सडक सञ्जालको विस्तारमा नेपाल अन्य देशभन्दा निकै कमजोर देखिन्छ । यसमा सुधार नगरी पर्यटनबाट नेपालले अपेक्षित लाभ लिन सक्दैन । अनौपचारिक क्षेत्रलाई निरुत्साहित गरी औपचारिक व्यवसायलाई प्रोत्साहित गर्ने र बजारमा अझ बढी प्रतिस्पर्धी हुने कुरामा राज्यले सहयोग गर्ने हो भने पर्यटनमार्फत हुने विदेशी मुद्राको आम्दानी बढ्दै जान्छ । नेपालमा पर्यटन पूर्वाधारमा निजीक्षेत्रको लगानी बढेको छ । चारतारे र पाँचतारे होटेलको संख्या बढ्दो छ । यस्ता होटेलको संख्या बढ्नु भनेको खर्चालु पर्यटक आउनु हो । अन्य पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आवश्यक देखिएको छ । खासगरी नेपालको प्राकृतिक बनोट नै पर्यटक आकर्षित गर्ने मुख्य आधार भएकाले यस क्षेत्रमा सुरक्षा र सेवा बढाउन सक्नुपर्छ । पर्यटकले यहाँको पर्यावरणीय क्षतिप्रति असन्तोष व्यक्त गरेका छन् । प्रकृतिको नजिक पुग्न आएका पर्यटकलाई अव्यवस्थित निर्माणले पिरोलेको छ । खासगरी पदमार्गमा बनेका धूले सडकप्रति उनीहरूको निकै ठूलो गुनासो रहेको छ । त्यसो हुँदा यसको मौलिकता संरक्षण गर्ने, वातावरण विनाश हुन नदिने गरी पर्यटकीय गतिविधि अघि बढाउन आवश्यक देखिन्छ ।  पछिल्लो समय बढी भीडभाड हुने स्थानमा पर्यटनका लागि नजाने भन्ने अभियान पनि चलेको छ । त्यो अभियानमा नेपालको सगरमाथाको पनि नाम जोडिएको छ । त्यसैले बढी भीडभाड बढाउनुभन्दा त्यसको कीर्तिमानी महत्त्व कायम राख्ने गरी हिमाल आरोहणको अनुमति दिइनुपर्छ । विभिन्न उचाइका हिमालको सफल आरोहण गर्नेलाई सरकारले केही चिनो दिने र तिनको नाम अभिलेखमा राखी सम्मान गर्ने परिपाटी पनि बसाल्नु जरुरी छ । यसरी नेपालको पर्यटनलाई पर्यावरणमा क्षति नपुग्ने गरी सञ्चालन गर्न सरकारले पर्याप्त अध्ययन र लगानी गर्नु आवश्यक छ । व्यवसायीले नीतिगत निर्णय गर्न सक्दैनन् । ठूला पूर्वाधारमा लगानी गर्न पनि सक्दैनन् । सरकारले यस्ता क्षेत्रमा आफै लगानी गर्ने वा विदेशी लगानीकर्ता ल्याउन पहल गर्ने काम गर्न सक्छ । मुख्य कुरा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न यस क्षेत्रले सृजना गरेको रोजगारी, प्राप्त गरेको वैदेशिक मुद्रा, सरकारलाई तिरेको कर आदि हेरेर पनि सरकारले यसमा छूट, अनुदान दिने र आवश्यक नीतिगत निर्णय गरिदिने नीति लिनुपर्छ । पर्यटन व्यवसायीसँग छलफल गरी खासखास समस्याका गाँठा फुकाउन पहल गर्नुपर्छ । पर्यटक यति बढे भनेर गजक्क पर्नुभन्दा लक्ष्य र नीतिसहित आगामी बाटो तय गर्नुपर्छ । अन्यथा पर्यटन क्षेत्रमा अहिले देखिएको आशा फेरि निराशामा बदलिन सक्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

पर्यटन बढाउन छिमेकीतिर हेरौं

नेपालले छिमेकी मुलुक भारत, चीन र श्रीलंकाबाट पर्यटक ल्याउने कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ भने तुलनात्मक रूपमा पाकिस्तान र बंगलादेशलाई कम प्राथमिकता । यद्यपि त्यहाँ पर्यटन प्रवर्द्धनका कार्यक्रम नै नभएका भने होइनन् । त्यहाँका पर्यटकले नेपाल आउन खासै रुचि नराख्ने सोचाइ रहेकाले यसो भएको हुन सक्छ । तर, पछिल्लो समय बंगलादेशबाट विमान चार्टर गरी ठूलो संख्यामा बंगलादेशीहरू नेपाल आएकाले यसले सम्भावनाको नयाँ ढोका खोलेको छ । अब पर्यटन व्यवसायी, सरकार र पर्यटन बोर्डले नयाँ रणनीतिले काम गर्नुपर्ने देखिएको छ ।  शुक्रवार २०० भन्दा बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आयो । उनीहरूको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे । पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजासहित स्थानीय पहिचान झल्कने नाचगान गरिएको थियो । बंगलादेशबाट पहिलोपटक एकसाथ यति धेरै पर्यटक नेपाल आएको मानिन्छ । शुक्रवार र शनिवार गरेर बंगलादेशबाट करीब ७०० पर्यटक बिदा मनाउन नेपाल आएको बताइन्छ । पछिल्लो ३ वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढिरहेको पाइन्छ ।  बंगलादेशी पर्यटक यसरी आउनु निकै सकारात्मक भए पनि तिनको रुचिअनुसार पर्यटन प्याकेज बन्यो कि बनेन भनेर हेर्नुपर्ने हुन्छ । बंगलादेशीहरूका लागि नेपाल सस्तो गन्तव्य हो । नेपालको प्राकृतिक सौन्दर्य र साहसिक खेलहरूमा भने उनीहरू मजाले रम्न सक्छन् । चीनबाट बौद्ध पर्यटक ल्याउने भने पनि नेपालको प्राकृतिक सौन्दर्यकै कारण उनीहरू नेपाल आइरहेका छन् । तर, उनीहरूले यहाँ आएर गर्ने पर्यटकीय गतिविधि भने निकै कम छन् । साहसिक खेलमा चिनियाँहरूको रुचि छ । तर, त्यसअनुसार प्रडक्ट भने नेपालले ल्याउन सकेको छैन । बंगलादेशी पर्यटकहरू पनि त्यस्तै हुन् । त्यसैले नेपाली पर्यटनलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता यसले देखाएको छ । नेपालको भौगोलिक बनोटका कारण पर्वतीय पदयात्राका लागि धेरै भन्दा धेरै पर्यटक आइरहेका छन् । बंगलादेशी पर्यटकमा त्यस्तो सोख नहुन सक्छ । त्यसो हुँदा उनीहरूको खास रुचि के मा छ भन्ने बुझेर त्यसअनुसार प्रडक्ट बनाउन सक्यौं भने बंगलादेश हाम्रा लागि दिगो पर्यटन बजार बन्न सक्छ ।  बंगलादेशी पर्यटकले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको प्रतिक्रिया दिएको पाइन्छ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृतिप्रति उनीहरूको आकर्षण रहेको देखिन्छ । त्यसो त नेपालीहरूले बंगलादेशमा पर्यटक प्रवर्द्धनका कार्यक्रम गर्दै नगरेको भने होइन । नेपालका १४ वटा टुर अपरेटरले बंगलादेशका ६० भन्दा बढी पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई पर्यटनसँग सम्बद्ध आकर्षक प्याकेजबारे जानकारी गराएका थिए । त्यसै गरी नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्य तथा नेपालमा उपलब्ध पर्यटकीय सुविधाका बारेमा सूचना तथा ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशी पर्यटकका लागि सहजरूपमा प्रवेशाज्ञा उपलब्ध हुने बारेमा जानकारी गराएको थियो । कोभिडबाट प्रभावित पर्यटनलाई पुनर्जीवित गर्ने क्रममा भएका यी कार्यक्रमको परिणति नै हुन सक्छ अहिले भएको बंगलादेशी पर्यटकको आगमन ।  बंगलादेशलाई आर्थिक रूपमा एशियाली टाइगर मानिन्छ । दक्षिण एशियाका मुलुकमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको बंगलादेशमा अन्तरराष्ट्रिय पर्यटनको माग बढ्दै गएको देखिएको छ ।  प्रतिवर्ष त्यहाँ औसतमा ७ प्रतिशतभन्दा बढीले विदेश घुम्न जानेको संख्या बढिरहेको छ । गतवर्षमात्रै २० लाखभन्दा बढी पर्यटकले छिमेकी मुलुक भ्रमण गरेको पाइन्छ । बंगलादेशमा हरेक ३ वर्षमा सरकारी र अर्ध सरकारी संस्थाहरूले १ महीनाको तलबसहित २ हप्ता पर्यटन बिदा दिने गरेका छन् । स्रान्ति विनोदोन नाम राखिएको यस कार्यक्रमका लागि विशेष भत्ताको व्यवस्था गरेर सरकारले आफ्ना नागरिकलाई देशभित्र वा बाहिर घुम्न जान प्रोत्साहित गरेको छ । यी पर्यटक भारत, थाइल्यान्ड, मलेशिया र सिंगापुरमा घुम्न जाने गरेको पाइन्छ । त्यता जाने पर्यटकलाई नेपाल ल्याउन सकियो भने बंगलादेश राम्रो पर्यटक बजार बन्न सक्छ ।  नेपाल नजिकको गन्तव्य भएको, नेपाल र नेपालीहरूको छवि बंगलादेशमा अत्यन्त राम्रो रहेकाले नेपाल भ्रमणका लागि बंगलादेशीको गहिरो चासो र उत्सुकता रहेको छ भन्न सकिन्छ । बंगलादेशको कुल गार्हस्थ्य उत्पादन सन् २०२१–२०२२ मा ६.४ प्रतिशतले वृद्धि भएको छ । यो दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा उच्च आर्थिक वृद्धिदर मानिन्छ । आर्थिक वृद्धिसँगै नागरिकको खर्च गर्न सक्ने सामथ्र्य पनि बढेको छ । त्यसैले अहिले उनीहरूबीच घुम्न जाने संस्कृति बढ्न थालेको छ । विदेश भ्रमणका लागि सस्तो र नजिकको गन्तव्य नेपाल नै हो । ढाकाबाट काठमाडौंका लागि सीधा हवाई सेवा उपलब्ध छ । त्यस्तै नेपालमा बेला बेलामा भएका बंगलादेशको उत्पादनको प्रदर्शनीले पनि उनीहरूलाई नेपालप्रति आकर्षण बढाएको छ । अझ पछिल्लो समय विद्युत् व्यापारका लागि बंगलादेश र नेपालबीच वार्ता भइरहेको छ र ४० मेगावाट बिजुली उसले किन्ने तयारी गरिरहेको छ । यो ठूलो तथ्यांक होइन, बंगलादेशसँगको बढ्दो साझेदारी हो । बंगालदेशले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र त्यो बिजुली आफ्नो देशमा लैजाने योजना पनि बनाएको छ । यी सबै कुराले बंगलादेशमा नेपालको चर्चा बढेको छ जसले गर्दा बंगालादेशी पर्यटकका आगमन बढ्दै जाने देखिन्छ ।  बंगलादेशमा थुपै्र नेपाली विद्यार्थी छन्, खासगरी मेडिकल शिक्षामा । तिनका माध्यमबाट उनीहरूले नेपालबारे सकारात्मक धारणा बनाएका छन् । उदीयमान अर्थतन्त्र भएको बंगलादेशसँग नेपालको व्यापारघाटा भने बढ्दो छ । त्यसलाई सन्तुलनमा ल्याउन पनि त्यहाँका पर्यटकलाई नेपाल ल्याउन जरुरी छ ।  नेपालको पर्यटन आगमन तथ्यांकअनुसार सन् २०१८ मा बंगलादेशबाट २६ हजारभन्दा बढी पर्यटकले नेपालको भ्रमण गरेका थिए । तत्पश्चात् विश्व महामारीको कारणले पर्यटन आगमनमा उच्च कमी आयो । अहिले दुवै देशका टुर अपरेटर पर्यटनको आगमन उच्च वृद्धि हुनेमा निकै आशावादी छन् र त्यसैअनुसार काम गरेको पनि पाइन्छ । छिमेकी राष्ट्र बंगलादेशबाट हुनसक्ने पर्यटकको आगमनले नेपालको पर्यटनलाई ठूलो राहत पुग्नसक्ने देखिन्छ । साथै निकट भविष्यमै ढाकादेखि भारतको जलपाइगुडी रेलवे स्टेशनसम्म सीधा रेलसेवाको शुरुआत हुने भएकाले स्थलमार्ग भएर नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ । पाकिस्तानबाट पनि पर्यटकको आगमन बढाउन सकिन्छ । अहिले पाकिस्तान आर्थिक संकटमा परेको छ । त्यसो हुँदा तत्कालै पर्यटक नआउलान् तर पाकिस्तान पनि नेपाली पर्यटनको राम्रो स्रोत हुन सक्छ । नेपाल र बंगलादेशको अत्यन्त सुमधुर सबन्ध रहेको र ढाकाबाट केवल १ घण्टामै काठमाडौं आइपुग्न सकिने र स्थलमार्ग भएर पनि नेपाल सहज रूपमा पुग्न सकिने भएकाले आगामी दिनमा बंगलादेशी पर्यटकको संख्या बढ्ने देखिन्छ ।  पाकिस्तानबाट पनि पर्यटकको आगमन बढाउन सकिन्छ । अहिले पाकिस्तान आर्थिक संकटमा परेको छ । त्यसो हुँदा तत्कालै पर्यटक नआउलान् तर पाकिस्तान पनि नेपाली पर्यटनको बजार हुन सक्छ । पाकिस्तानीहरूमा पनि भ्रमणमोह पाइन्छ । उनीहरूका लागि नजिकको गन्तव्य नेपाल नै हुन सक्छ । सार्क मुलुक भएकाले भिसाको झन्झट पनि छैन । अनएराइभल भिसा पाइने भएकाले पाकिस्तानी पर्यटक नेपाल ल्याउन सकिन्छ । पाकिस्तानसँग सीधा हवाई सम्पर्क हुने हो भने ३ घण्टामा पाकिस्तान पुग्न सकिन्छ । त्यसैले नेपाल चेम्बर अफ कमर्सले पाकिस्तानी राजदूतसमक्ष हवाई सेवा सञ्चालन गर्न माग गरेको छ । पाकिस्तानसँग व्यापारिक सम्बन्ध बढाउन पनि हवाई सेवा आवश्यक छ । नेपालका मसलासम्बन्धी कृषि उत्पादन पाकिस्तानमा निर्यात गर्न सकिन्छ भने पाकिस्तानबाट छाला र काठका सामान आयात गर्न सकिन्छ । विगतमा पाकिस्तानी व्यापार मेला हुने गरेको थियो जुन अहिले अलिक शिथिल देखिएको छ ।  नेपालबाट नजिक रहेका बंगलादेश र पाकिस्तान पर्यटनको स्रोत बजार हुन सक्छ । साहसिक खेल, पदयात्रा, प्राकृतिक सौन्दर्य अवलोकन आदिका लागि पर्यटन प्रडक्ट बनाएर राम्ररी प्याकेज बनाउने हो भने सानै भए पनि नेपाली पर्यटनलाई ठूलै टेवा पुग्ने देखिन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

मर्दी पदमार्गमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याइँदै

कास्की । कास्कीको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा मार्गमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याइने भएको छ । मर्दी पदमार्गमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन नपुग्दा बत्ती बाल्नदेखि विद्युतीय उपकरण चलाउन समस्या छ । मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ । बिजुली बत्ती नहुनु मर्दीको प्रमुख समस्या हो । मर्दी क्षेत्रका पर्यटन व्यवसायी, गाउँपालिका लगायतको प्रयासपछि सो पदमार्गमा प्राधिकरणले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पुर्‍याउने तयारी गरेको हो । मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पुर्‍याउन नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान तथा सम्झौताको तयारी गरेको माछापुच्छ«े–८ का वडाध्यक्ष राम गुरुङले बताए । ‘हामीले लामो समयदेखि मर्दीमा विद्युतीकरणका लागि माग गरेका थियौं, अहिले केन्द्रीय प्रसारण लाइनको बिजुली विस्तारका लागि प्राधिकरणबाट ठेक्का आह्वान हुँदै छ,’ उनले भने, ‘विद्युत् सुविधाले मर्दीको पर्यटनमा ठूलो योगदान पुग्नेछ ।’ माछापुच्छ्रेको सिदिङ वा कालीमाटीको ट्रान्सफर्मरबाट बिजुली लैजाने गरी पोखरा वितरण केन्द्रले गतवर्ष अध्ययन गरे पनि काम शुरू भएको थिएन । यस वर्षको शुरुआतमै प्राधिकरणले प्राथमिकतामा राखेर काम अघि बढाएको थियो । रासस

नयाँ पर्यटन प्रडक्टमा सहकार्यको आवश्यकता

कोरोनाबाट बन्दप्रायः पर्यटन उद्योगका लागि पछिल्ला समय केही आशाप्रद खबर आएका छन् । सरकारले त्रिभुवन विमानस्थलमा नै अनअराइभल भिसा दिन थाल्ने निर्णय गरेको छ भने भारतीयहरूलाई आफ्नो गाडी लिएर नेपाल आउन दिन थालेको छ । साथै बा≈य पर्यटकहरूका लागि क्वारेन्टाइनको अनिवार्य व्यवस्था पनि खारेज गरेको छ । कोरोनाविरुद्ध खोप लगाएका र कोरोना नेगेटिभ देखिएका पर्यटक अबै सीधै पर्यटकीय गन्तव्य जान पाउने भएका छन् । यसरी डेढ वर्षदेखि बन्द रहेको पर्यटन खुला गरिएको छ । तर, यसरी खुला गर्दैमा पर्यटकहरू आइहाल्ने अवस्था छैन । यसका लागि सरकार र व्यवसायीले गर्नुपर्ने काम धेरै छन् । नेपालमा तत्कालै पर्यटकको आगमन ठूलो संख्यामा हुने छैन । तर, अहिले खुला गरिएकाले बिस्तारै थोरै संख्यामा पर्यटक आउने र क्रमशः बढ्दै जाने अपेक्षा गर्न सकिन्छ । यसका लागि नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक कामहरू गर्नुपर्ने हुन्छ । नेपालका पर्यटनकर्मीहरूलाई ठूलो संख्यामा खोप लगाइसकिएको छ र कोरोना फैलन नदिने गरी विश्व स्वास्थ्य संगठनले दिएका निर्देशनहरू पालना गरिएको छ भन्ने सन्देश पर्यटन बजारमा पु¥याउनु आवश्यक छ । नेपालमा आउने धेरैजसो पर्यटक हिमाल आरोहण गर्न, पदयात्रा गर्न, दृश्यहरू अवलोकन गर्न तथा साहसिक क्रियाकलापका लागि आउने गर्छन् । यी सबैजसो क्षेत्रहरू भीडभाड ज्यादै कम हुने क्षेत्र हुन् । त्यसैले कोरोना संक्रमण फैलने सम्भावना कमै छ । यो सन्देश हामीले पर्यटकमाझ पुर्‍याउन आवश्यक छ । अहिले सबैजसो देशले पर्यटकीय गतिविधिहरू खुला गरिसकेको अवस्था छ । ती क्षेत्रमा पर्यटकको चहलपहल पनि राम्रै देखिएको छ । तर, ती क्षेत्रमा बाह्य पर्यटकको संख्या भने निकै कम छ । नेपालको पर्यटन बजार भनेको भारत, चीन, यूरोपेली मुलुकहरू हुन् । भारतमा कोरोनाविरुद्धका खोप अभियान जारी छ । त्यहाँ बिस्तारै कोरोना नियन्त्रणमा आइरहेको छ । त्यस्तै चीनमा पनि कोरोना नियन्त्रणमा नै छ । तर, ती देशबाट पर्यटक आगमन भइरहेको छैन । भारतबाट पर्यटक आगमनको संकेत देखापर्न थालेको छ । उनीहरूले आप्mनो गाडी लिएर सीधै नेपाल आउन पाउने भएकाले उनीहरूको संख्या बढ्ने देखिन्छ । यद्यपि उनीहरूले होटेल रिजर्भ गरेको वा कुनै पर्यटन प्याकेज अर्डर गरिसकेको जानकारी भने प्राप्त भएको छैन । चीनबाट भने पर्यटक आगमत हुने छाँटकाँट देखिएको छैन । उसले पर्यटनमा निक्लन जनतालाई प्रोत्साहन गरिरहेको छैन । यद्यपि उसको आन्तरिक पर्यटन भने अहिले पूर्ववत् अवस्थामा छ । यी सबै परिदृश्यले नेपालको पर्यटनलाई नयाँँ ढंगमा लैजानुपर्ने तथ्यलाई देखाएको छ । विगतमा भएका गल्तीलाई सच्याउन पनि अहिले अवसर प्राप्त भएको छ । यो भनेको झोले पर्यटकलाई विस्तारै कम प्रोत्साहित गर्ने र गुणस्तरीय पर्यटक लक्षित प्याकेज ल्याउने हो । विदेशी झोले पर्यटकका दाँजोमा त नेपाली पर्यटकले नै राम्रो खर्च गर्ने गरेको पाइन्छ । नेपालको मौलिक विशेषतालाई जोगाएर त्यसैको प्याकेज बनाउनेतिर अब लाग्नुपर्छ । साथै ठूलो लगानी गरेर नयाँ खालको प्रडक्ट पनि ल्याउन सकिन्छ । अहिले हस्पिटालिटी क्षेत्रमा ठूलो लगानी भएको छ । ठूला होटलहरू खुल्ने क्रममा छन् । ती होटेल धेरैजसो काठमाडौं वरपर बढी भए पनि राजधानीबाहिर पनि केही होटल खुल्ने क्रममा छन् । यी होटेल सञ्चालन गर्न पनि गुणस्तरीय पर्यटक आवश्यक पर्छ । होटेल एउटा ठूलो पूर्वाधार हो तर यो मात्र पर्याप्त छैन । मुख्य कुरा नेपाली पर्यटनले प्रविधिलाई पछ्याउन सकिरहेको छैन । पदयात्राका एपहरू बनाउन सकिन्छ । पर्यटकलाई एक्लै हिँड्न दिनु हुँदैन भन्ने माग पर्यटन व्यवसायीकै पाइन्छ । तर, उनीहरूसँग पदयात्राका शुल्क राम्रोसँग लिने र खर्च गर्नुपर्ने अन्य वातावरण तयार पारिदिने हो भने यस्ता पदयात्रीबाट पनि ठूलो कमाइ लिन सकिन्छ । तर, सुको खर्च नगर्ने र यहाँको प्राकृतिक सुन्दरताको लाभ लिने पर्यटकहरूलाई पनि निषेध नै गरे पनि फरक पर्दैन । यस्ता पर्यटकले पर्यावरण प्रदूषित पार्न सहयोग गरिररहेका हुन्छन् भने नेपालको पर्यटनबारे नकारात्मक सन्देश प्रवाह गर्ने सम्भावना पनि उत्तिकै हुन्छ । आशय के हो भने गुणस्तरीय पर्यटनका लागि अब पर्यटन व्यवसायी र सरकारले विशेष रणनीति बनाउन अहिले अवसर मिलेको छ । पर्यटन व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धाकै कारण नेपालको पर्यटन सस्तो हुँदै गएको हो । मुख्य कारण यही मात्र होइन तर एउटा कारण यो पनि भएकाले यस्तो अस्वस्थ प्रतिस्पर्धा रोक्न व्यवसायीहरूले आचार संहिता बनाउनु आवश्यक छ । पर्यटकले जहाँ दुई पैसा सस्तो हुन्छ त्यही सेवा लिने हो । प्रतिस्पर्धाको लाभ सेवाग्राहीले पाउनु अन्यथा पनि होइन । तर, सस्तो सेवा दिने बहानामा पर्यटक तानातान गर्दा नेपालले पर्यटनबाट पाउने लाभ भने घटेको छ । पर्यटनको लागत बढ्ने र मुनाफा घट्ने अवस्था आउँछ । खासगरी पर्यटन व्यवसायमा दीर्घकालीन सोचविना लगानी गर्नेहरूका कारण यस्तो भएको पाइन्छ । यस्तो सोचमा परिवर्तन आवश्यक छ । अब पर्यटनलाई कस्तो बनाउने र कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी निजीक्षेत्रमाथि आइपरेको छ । यसको नेतृत्व नेपाल पर्यटन बोर्डले लिनु उपयुक्त हुन्छ । पर्यटन व्यवसायीहरू विभिन्न संगठनमा विभक्त छन् । त्यस्तै फरकफरक सेवाका संस्थाहरूको फकरफरक विचार पाइन्छन् । व्यावसायिकभन्दा राजनीतिक आस्थाका आधारमा संगठित संस्था र तिनको नेतृत्वले समग्र पर्यटन रणनीतिका लागि आवाज उठाउने सम्भावना कमै देखिन्छ । पर्यटन व्यवसाय विभिन्न खालका सेवाका एकत्रित सेवा र नीतिबाट चल्न आवश्यक छ । पर्यटन व्यवसायी महासंघ बनेको भए यसमा समग्र पर्यटनबारे आधिकारिक धारणा ल्याउन सक्थ्यो त्यो नभएको अवस्थामा अबको पर्यटनलाई नयाँ दिशा र गति दिन सबै व्यवसायी मिलेर साझा नीति ल्याउन ढिला गर्नु हुँदैन । पर्यटन व्यवसायीको क्षेत्रगत संगठनहरूले आआफ्नो क्षेत्रका बारेमा मात्रै सोच्ने हुँदा समग्र पर्यटनलाई एकत्रित रूपमा कस्तो मोडालिटी र प्रडक्ट ल्याउनुपर्छ र सकिन्छ भन्नेमा गृहकार्य गर्न ढिला गर्नु हुँदैन । यसमा बोर्डले सहजीकरण गर्नु आवश्यक छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

कहिले उठ्ला पोखराको पर्यटन ?

साउन २७, कास्की । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौंपछि उल्लेख्य संख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ ।  पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक देखिन्छन् न त नेपाली नागरिकहरुको हुल भेटिन्छ । कोभिड १९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करीब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदूरको रोजगारी जोखिममा परेको छ ।  बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवर्द्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्द्धनका कार्यक्रम गरिएको थियो ।  कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसंकेतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । पर्यटनका लागि खोपको सुनिश्चितता पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै संघीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान शुरु गरिएको छ ।  परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए । पर्यटन व्यवसायी, मजदूर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए । पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,’ बोर्ड सदस्य पौडेलले भने । रासस