कास्की । कास्कीको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा मार्गमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याइने भएको छ । मर्दी पदमार्गमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन नपुग्दा बत्ती बाल्नदेखि विद्युतीय उपकरण चलाउन समस्या छ । मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ । बिजुली बत्ती नहुनु मर्दीको प्रमुख समस्या हो । मर्दी क्षेत्रका पर्यटन व्यवसायी, गाउँपालिका लगायतको प्रयासपछि सो पदमार्गमा प्राधिकरणले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पुर्याउने तयारी गरेको हो ।
मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पुर्याउन नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान तथा सम्झौताको तयारी गरेको माछापुच्छ«े–८ का वडाध्यक्ष राम गुरुङले बताए । ‘हामीले लामो समयदेखि मर्दीमा विद्युतीकरणका लागि माग गरेका थियौं, अहिले केन्द्रीय प्रसारण लाइनको बिजुली विस्तारका लागि प्राधिकरणबाट ठेक्का आह्वान हुँदै छ,’ उनले भने, ‘विद्युत् सुविधाले मर्दीको पर्यटनमा ठूलो योगदान पुग्नेछ ।’
माछापुच्छ्रेको सिदिङ वा कालीमाटीको ट्रान्सफर्मरबाट बिजुली लैजाने गरी पोखरा वितरण केन्द्रले गतवर्ष अध्ययन गरे पनि काम शुरू भएको थिएन । यस वर्षको शुरुआतमै प्राधिकरणले प्राथमिकतामा राखेर काम अघि बढाएको थियो । रासस