काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा १० अर्ब ८० करोड रुपैयाँभन्दा बढीको ३ करोड २८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताको तुलनामा यो साता ९२ करोड २९ लाख रुपैयाँभन्दा बढी धितोपत्र कारोबार भएको हो । कारोबार कित्ता भने २८ लाख ७० हजारभन्दा बढीले घटेको छ ।
गत साता ९ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको ३ करोड २८ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा औसत कारोबार रकम १८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ भने औसत कारोबार कित्ता ५ लाख ७४ हजारले घटेको छ ।
कारोबार रकम बढेको यो साता नेप्से परिसूचक भने २३ दशमलव ७९ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८९ दशमलव ८४ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ६६ दशमलव शून्य ५ विन्दुमा झरेको हो ।
पाँच कारोबार दिनमा यो साता नेप्से परिसूचक पछिल्लो दुई कारोबार दिन निरन्तर बढेको देखिन्छ । पहिलो कारोबार दिन ३८ दशमलव ३७ अंक, दोस्रो दिन ३ दशमलव २१ अंक र तेस्रो दिन २८ दशमलव ४० अंकले नेप्से परिसूचक निरन्तर घटेको थियो । त्यसपछि भने चौथो कारोबार दिन ४१ दशमलव शून्य ६ अंक र पाँचौं दिन ५ दशमलव १३ अंकले नेप्से परिसूचक बढेको हो ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये सामूहिक लगानीकोष योजना (म्युचुअल फण्ड)हरूले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न शुरू गरिसकेका छन् ।
लाभांशको सिजन शुरू हुँदा लगानीकर्ता केही सकारात्मक बन्न थालेको ब्रोकरहरूले जानकारी दिएका छन् । लामो समयदेखि सोचे अनुसार बजारले गति लिन नसकेपछि निरास बनेका लगानीकर्ता अब कम्पनीहरूको लाभांशबाट आफ्नो लगानी बढाउने सोचमा पुगेको हुनसक्ने ब्रोकरहरूले अनुमान लगाएका छन् ।
यो साता कुल बजार पूँजीकरण १० अर्ब ४५ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७१ अर्ब ६४ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ६१ अर्ब १९ करोड रूपैयाँ कायम भएको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
होटल तथा पर्यटन समूहको परिसूचक २.२९ प्रतिशत बढ्यो
यो साताको कारोबारमा चार समूहगत परिसूचकहरू मात्र बढेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव २९ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको १ दशमलव १० प्रतिशत, व्यापारिकको शून्य दशमलव ४९ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको हो ।
गत साता बैंकिङ समूहको परिसूचक सर्वाधिक २ दशमलव ७४ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको १ दशमलव ७० प्रतिशत, वित्तको १ दशमलव ६५ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४७ प्रतिशत, जलविद्युतको शून्य दशमलव ९३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६० प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३२ प्रतिशत र लगानी समूहको शून्य दशमलव १० प्रतिशत परिसूचक घटेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।