गृह मन्त्रालयले शुक्रबार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो । आजको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम श्रेणीका ४९ प्रजिअ, सहायक प्रजिअलगायतका कर्मचारी र राजपत्रांकित द्वितीय श्रेणीका नौ प्रमुख जिल्ला अधिकारी, पाँच सहायक प्रमुख जिल्ला अधिकारी र छ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।