असार १९, झापा । मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन शुरु हुने भएको छ । यसका लागि अस्पतालमा दैनिक ३५ ओटा सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जानकारी दिएको छ ।
अबको दुई दिनभित्र प्लान्ट जडान गर्ने कार्य सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसलगत्तै अक्सिजन उत्पादन शुरु गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।
उनका अनुसार प्रदेश नं. १ सरकारको रू. एक करोडको सहयोगमा सो प्लान्ट निर्माण भएको हो । प्लान्ट खरीदमा रू. ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरीदलगायतमा खर्च गरिने छ ।
झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा रहेपनि त्यसले अक्सिजन प्लान्ट बनाएका छैनन् । अक्सिजन प्लान्ट बनाउनेमा मेची अस्पताल पहिलो स्वास्थ्य संस्था हो ।
अस्पतालले असार मसान्तभित्र सीटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । सीटी स्क्यान सञ्चालनका लागि सरकारले रू. ६ करोड सहयोग गरेको छ । हाल पाँच ओटा मृगौला डाइलासिस मेसिन रहेको अस्पतालले चालू आर्थिक वर्षभित्रै थपेर १५ ओटा पुर्याउने र छुट्टै भवनमा सञ्चालन गर्ने अध्यक्ष पोर्तेलको भनाइ छ ।
साविक मेची अञ्चलको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीलाई उपचार सेवा पुर्याउँदै आएको छ । नयाँ भवनमा सञ्चालन हुन थालेपछि एकैपटकमा ४५ जना मृगौला रोगीलाई डाइलासिस सेवा पुर्याउन सकिने उनको भनाइ छ । रासस