निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ को प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । २०७९ साल मंसिर ४ गते आइतवारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई दल दर्ताको लागि आयोगले आह्वान गरेको हो ।आयोगले संविधानको धारा २७१ सम्वत् २०७९ साल श्रावण २२ गते देखि श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामाआयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरेको छ। आयोगका अनुसार दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ । यसरी दल दर्ताको लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्नेछ ।राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिंदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढांचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरु पूरा गर्ने प्रतिवद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्ने र आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट) भरी प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरी पेश गर्नुपर्ने आयोगले उल्लेख गरेको छ ।