सुर्खेत । कर्णाली प्रदेशको राजधानीको वीरेन्द्रनगरमा आजदेखि माइक्रो बस सेवा सञ्चालन भएको छ । पहिलो पटक वीरेन्द्रनगरमा माइक्रो वस सेवा सुरु भएको हो । वीरेन्द्रनगरको फोरलेन सडकको धुलियाविटबाट मंगलगढी–यरिचोकहुँदै मुलपानी चोकदेखि प्रदेश अस्पताल भएर बाँगेशीमलसम्म पुग्नेगरी माइक्रो गाडी सञ्चालन गरिएको छ । यात्रुहरुलाई सहज सेवा दिन र सहुलियत भाडादर २० रुपैयाँ कायम गरिएको छ । […]
काठमाडौं । यातायात व्यवसायीले इन्धनमा मूल्यवृद्धिको कारण देखाउँदै सार्वजनिक सवारीसाधनको भाडादर बढाउन माग गरेका छन् । यसअघि गत असार अन्तिममा सरकारले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढाएको थियो ।
त्यसबेला भाडादर बढेपछि अहिलेसम्म सरकारले पटकपटक गरेर डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३८ रुपैयाँ मूल्य बढाएको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीसाधनको भाडादर बढाउन माग गर्दै आएका छन् । व्यवसायीले त्यतिबेला सार्वजनिक सवारीसाधनको भाडादर बढाउन मागसहित यातायात नै बन्द गरेर आन्दोलन समेत गरेका थिए ।
असारमा भाडादर बढेपछि इन्धनको मूल्य धेरैपटक बढे तापनि सवारीसाधनको भाडादर नबढेको भन्दै यातायात व्यवसायीले विभिन्न निकाय धाउँदै भाडादर बढाउन माग गर्दै आएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले भाडादर वृद्धिको माग गर्दै शुक्रवार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई भटेको छ । सोही विषयमा महासंघले आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
अहिले भइरहेको इन्धनको मूल्यवृद्धिको अनुपातमा सवारीसाधनको भाडादर बढाउनुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष भरत नेपालले बताए । उनका अनुसार यसअघि असारमा समायोजन गरिएको भाडादर पनि बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा लागू हुन सकेको छैन ।
भाडादर बढाइए सर्वसाधारण बढी मारमा पर्ने
अहिले कायम भाडादर बढाइए दैनिक सवारीसाधन चढेर यात्रा गर्नुपर्ने सर्वसाधारण नागरिक सबैभन्दा बढी मारमा पर्नेछन् । त्यसैले सरकारले इन्धनको मूल्य र यातायात व्यवसायीले सवारीसाधनको भाडादर बढाउँदै जाने परिपाटीको अन्त्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले पेट्रोलियम पदार्थमा लिने कर घटाएमा सहुलियत दरमा इन्धन उपलब्ध गराउन सकिने सुझाइएको छ ।
‘यसबीचमा पटकपटक इन्धनको मूल्य वृद्धि भयो, भाडादर पनि बढ्यो, तर सर्वसाधारण जनताको आयस्तर नबढेकाले भाडादर बढाइनु उपयुक्त हुँदैन,’ उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । जनताको अधिकारप्रति सरकार जिम्मेवार नहुँदा उपभोक्ताले समस्या बेहोर्नुपर्ने अवस्था आएको उनले बताए । सरकार र व्यवसायी दुवैले नागरिकको क्रयशक्तिलाई पनि ध्यानमा राखेर निर्णय लिनुपर्ने धारणा उनको छ ।
काठमाडौं । निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरालाई ‘बेस–हब’ बनाएर प्रदेशस्तरमा उडान गर्ने भएको छ । कम्पनीले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका विमानस्थलबाट चार गन्तव्यमा परीक्षण उडान गर्न लागेको हो ।
कम्पनीले मे १ अर्थात् वैशाख १८ गते शनिवादेखि पोखराबाट प्रदेश २ को सिमरा, पोखराबाटै प्रदेश १ को विराटनगर, पोखरा–नेपालगञ्ज (लुम्बिनी प्रदेश) र बागमती प्रदेशको भरतपुरबाट लुम्बिनीको भैरहवा उडान गर्नेछ । कम्पनीले अहिले काठमाडौं बेस बनाएर यी स्थानमा नियमित उडान गर्दै आएको छ ।
कम्पनीले उक्त गन्तव्यका लागि भाडादर पनि तोकेको छ । यसमध्ये पोखरा–विराटनगरको भाडा न्यूनतम ६ हजारदेखि अधिकतम १० हजार ८०० रुपैयाँसम्म तोकिएको छ ।
यसैगरी पोखरा–नेपालगञ्जका लागि न्यूनतम ४ हजार ५०० देखि अधिकतम ७ हजार २००, पोखरा–सिमराका लागि न्यूनतम ४ हजार ३०० देखि अधिकतम ६ हजार ७०० सम्म, पोखरा–भैरहवाको न्यूनतम ३ हजार १०० देखि अधिकतम ३ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
अन्य गन्तव्य तुम्लिङटार–विराटगनगरको भाडादर न्यूनतम २ हजार ५०० देखि अधिकतम ३ हजार २०० र भैरहवा–भरतपुरको न्यूनतम २ हजार ५०० देखि अधिकतम ४ हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले उल्लेख गरेको छ ।
उक्त भाडादर एटीआर–७२ को सञ्चालन खर्चमा आधारित रहेको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । वैशाख १८ गतेदेखि हुने यी गन्तव्यको उडान भने सानो जहाज ‘बीचक्राफ्ट’बाट गरिने कम्पनीले जानकारी दिएको छ । अन्तरप्रदेशीय उडानमा प्रदेश सरकार र संघीय सरकारले पनि विशेष सहुलियत दिनुपर्ने कम्पनीको माग छ ।
मे १५ सम्म थप एउटा नयाँ जहाज ल्याउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिएका छन् । पोखरा काठमाडौंपछिको ठूलो शहरको रूपमा रहेको र यसलाई बेस–हब बनाउँदै उडान गर्ने रणनीति रहेको भनाइ छ ।
उनका अनुसार हाल दैनिक १२० भन्दा बढी उडान र ६ हजार ५०० भन्दा बढी यात्रुको आउजाउले स–साना होटलदेखि पर्यटकीय गाडीलाई समेत रोजगारी सृजना गरेको छ ।
कम्पनीले नेपालमा कोरोना संक्रमणको शुरुआतदेखि नै ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालीम, पीपीईको व्यवस्था, बीमा र त्यसै अनुरूपको हवाई सेवालाई अहिले पनि जारी राखेको उनले बताए ।