सार्वजनिक सवारीको भाडादर बढाउन माग

काठमाडौं । यातायात व्यवसायीले इन्धनमा मूल्यवृद्धिको कारण देखाउँदै सार्वजनिक सवारीसाधनको भाडादर बढाउन माग गरेका छन् । यसअघि गत असार अन्तिममा सरकारले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढाएको थियो । त्यसबेला भाडादर बढेपछि अहिलेसम्म सरकारले पटकपटक गरेर डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३८ रुपैयाँ मूल्य बढाएको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीसाधनको भाडादर बढाउन माग गर्दै आएका छन् । व्यवसायीले त्यतिबेला सार्वजनिक सवारीसाधनको भाडादर बढाउन मागसहित  यातायात नै बन्द गरेर आन्दोलन समेत गरेका थिए । असारमा भाडादर बढेपछि इन्धनको मूल्य धेरैपटक बढे तापनि सवारीसाधनको भाडादर नबढेको भन्दै यातायात व्यवसायीले विभिन्न निकाय धाउँदै भाडादर बढाउन माग गर्दै आएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले भाडादर वृद्धिको माग गर्दै शुक्रवार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई भटेको छ । सोही विषयमा महासंघले आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई ज्ञापनपत्र बुझाउने भएको छ । अहिले भइरहेको इन्धनको मूल्यवृद्धिको अनुपातमा सवारीसाधनको भाडादर बढाउनुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष भरत नेपालले बताए । उनका अनुसार यसअघि असारमा समायोजन गरिएको भाडादर पनि बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा लागू हुन सकेको छैन । भाडादर बढाइए सर्वसाधारण बढी मारमा पर्ने अहिले कायम भाडादर बढाइए दैनिक सवारीसाधन चढेर यात्रा गर्नुपर्ने सर्वसाधारण नागरिक सबैभन्दा बढी मारमा पर्नेछन् । त्यसैले सरकारले इन्धनको मूल्य र यातायात व्यवसायीले सवारीसाधनको भाडादर बढाउँदै जाने परिपाटीको अन्त्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले पेट्रोलियम पदार्थमा लिने कर घटाएमा सहुलियत दरमा इन्धन उपलब्ध गराउन सकिने सुझाइएको छ । ‘यसबीचमा पटकपटक इन्धनको मूल्य वृद्धि भयो, भाडादर पनि बढ्यो, तर सर्वसाधारण जनताको आयस्तर नबढेकाले भाडादर बढाइनु उपयुक्त हुँदैन,’ उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । जनताको अधिकारप्रति सरकार जिम्मेवार नहुँदा उपभोक्ताले समस्या बेहोर्नुपर्ने अवस्था आएको उनले बताए । सरकार र व्यवसायी दुवैले नागरिकको क्रयशक्तिलाई पनि ध्यानमा राखेर निर्णय लिनुपर्ने धारणा उनको छ ।