बडे नेताका बडा योजना

महाविपत्तिका कारण केही दिनदेखि संसद् चल्न सकेको थिएन । तर देशका तीन ठूला नेता हतार हतार एक आपसमा भेटेर गम्भीर छलफल गरेपछि फ्याट्ट संसद् खुलिहाल्यो, महाविपत्ति त छुमन्तर भइहाल्यो । नेताहरू देश र जनताप्रति कति गम्भीर छन् भन्ने यो एउटा उदाहरण हो । जब जब देशमा कुनै समस्या पर्छ, त्यसबेला ठूला नेताहरू मिलेर त्यस्ता समस्या हल गर्ने गरेका छन् । ठूला नेताका ठूलै चाला ।  नेताहरू लडेकै कारण त देशमा गणतन्त्र आयो, यो भिन्दै कुरा हो कि त्यस क्रममा केही सामान्य मान्छे मरे होलान्, शहीद घोषणा गरिए होलान् । तर नेताहरूको महान् त्यागको अगाडि अरूको के गणना गर्नु र ?  नेताहरूले देशका लागि गर्नुविधि गरिराछन् । तर आँखामा पट्टी बाँधेका जनता त्यो देख्दैनन् । नेताहरूले देशैभरि भ्यू–टावर बनाएका छन् । काठमाडौंमै धरहरा पुन: ठड्याएका छन् । तर मान्छेहरू कुरै नबुझी भ्यु–टावर के काम भन्छन् । धरहरा/भ्यू–टावर किन बनाएको भने देशभरि आएको विकासको लहर हेर्न । त्यहाँ माथि चढेर समृद्धि र विकास कहाँसम्म आइपुग्यो भनेर हेर्न मिल्छ । ग्याँसको पाइप कहाँसम्म लाग्यो, पानी जहाज कहाँ आइपुग्यो हेर्न मिल्छ । अझ भ्यू–टावरबाट चन्द्रमातिर जान सजिलो पर्छ । रावणले गर्न बाँकी राखेको स्वर्ग जाने बाटो झैं । मान्छेहरूलाई थाहै छैन । हाम्रा नेताहरूले त्यही भ्यू–टावरबाट चन्द्रमा जाने बाटो बनाउन कम्मर कसेका छन् । देशभित्र डाँडाकाँडा, कुना कन्दरासम्म बाटो खनिसकेकाले अब देशमा बाटो बनाउने कतै ठामै बाँकी छैन । अनि चन्द्रमा जाने बाटो बनाउन परेन त ? नेताहरूको कति दूरदृष्टि हुन्छ सामान्य मान्छेले भेउ नै पाउँदैनन् भन्या ! नेताहरू अब नेपाली जनताका सुविधाका खातिर सगरमाथा हुँदै चन्द्रमासम्म बाटो पुर्‍याउने योजनामा छन् । त्यसैले उनीहरू समय समयमा गम्भीर छलफलमा जुटेका हुन्छन् । एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बनाउने योजना ल्याएपछि हामी के कम भन्दै ५ वर्षभित्र नेपालबाट चन्द्रमासम्म पुग्ने बाटो बनाउने योजना बनाएको विशेष सूत्रबाट थाहा भएको छ । यो पहिलो विशेष हवाई सडक परियोजना हुनेछ, जसबाट प्रकृतिलाई कुनै नोक्सान पुुग्दैन । किनकि यो बाटोमा कुनै रुख, जंगल हुन्नन् । यसमा लगानी गर्न बीआरआई आउने कि एमसीसी भन्ने विवादले मात्र यो परियोजना अलि ढिलो भएको हो ।  यसको दोस्रो फाइदा यो छ कि रकेट बनाउन धेरै खर्च लाग्छ, अनि प्रत्येक पटक नयाँ मिसनमा नयाँ रकेट बनाएर पठाउनुपर्ने हुन्छ । तर यो सगरमाथा–चन्द्रमा हवाई सडक बन्यो भने नेपालको अन्तरिक्ष पुग्ने मिसन पनि सफल हुन्छ । सबैलाई थाहा छ इन्धन एउटा महत्त्वपूर्ण संसाधन हो । जुन अहिले विश्वमा द्रुत गति र धेरै परिमाणमा खर्च भइरहेको छ । अर्को कुरा यो पनि सबैलाई थाहा छ कि चन्द्रमा माथि हुन्छ र पृथ्वी तल । चन्द्रमाबाट तल झर्दा शून्य गियरमा अर्थात् सित्तैमा झर्न सकिन्छ, जसले गर्दा इन्धनको धेरै बचत हुन्छ । चन्द्रमाबाट बहुमूल्य खनिजको बोझ बोकेर तल सगरमाथामा झर्ने यानको बोझले सगरमाथाबाट चन्द्रमा जाने यान आफै तानिएर माथि चन्द्रमामा पुग्नेछ । ग्राभिटेशन रोपवे देख्नुभएकै होला, नत्र सुन्नु त भएकै होला । हो ठीक त्यस्तै ।  नेताहरूले देशैभरि भ्यू–टावर बनाएका छन् । काठमाडौंमै धरहरा पुन: ठड्याएका छन् । तर मान्छेहरू कुरै नबुझी भ्यू–टावर के काम भन्छन् । धरहरा/भ्यू–टावर विकास र समृद्धि कहाँ आइपुग्यो भन्ने हेर्न बनाइएको हो । त्यसमाथि चढेर ग्याँसको पाइप, पानी जहाज कहाँ आइपुग्यो हेर्न मिल्छ । सगरमाथा–चन्द्रमा सडकको निर्माण सामग्री भण्डारण गर्न यसका दुवैतिर थुप्रै दोकानहरू, थुप्रै पेट्रोल पम्पहरू खुल्नेछन् । यसले लाखौंलाई रोजगारी सृजना हुनेछ । यसले हाम्रो देशको बेरोजगारी समस्या हल हुनेछ । हामी सबै मान्छौं कि पृथ्वी आफ्नै अक्ष वरिपरि अर्थात् आफ्नै मियोमा घुम्छ । तर हाम्रा नेताजीहरू अथक् प्रयासपछि त्यो मियोलाई निकाल्न सफल भएका छन् । पृथ्वी हाम्री माता हुन् । पृथ्वीलाई विनाकारण घुमेको देखेर हाम्रा नेताहरूलाई राम्रो लाग्ने कुरै भएन । त्यसैले नेताहरूले पृथ्वी घुम्ने मियोलाई सफलतापूर्वक निकालेर फ्याँकिदिएका छन् । त्यसैले पहिले पृथ्वीले सूर्यको चक्कर लगाउँथ्यो । तर अब चन्द्रमाजस्तै सूर्य पनि पृथ्वीको चक्कर लगाउन थाल्नेछ ।  यति मात्र कहाँ हो र ? नेताजीहरूको योजना त अझै बृहत् पो छ त । उनीहरूले सूर्यलाई यस्तो ठाउँमा स्थापित गर्न प्रयास गरिरहेका छन्, जस्तै अन्टार्कटिका महादेश र आर्कटिक महासागर, जहाँ अत्यन्त चिसो हुन्छ । त्यहाँका जनताले कहिल्यै राम्रोसँग सूर्यको तातो पाउन सकेका छैनन् । हो, त्यहाँ लगेर सूर्यलाई धेरै समय राख्ने योजना छ नेताजीहरूको । त्यसो भएपछि हाम्रोतिर पनि गर्मी भाग्छ, शितल लाग्छ । त्यसको अर्को फाइदा यो छ कि सूर्य ती ध्रुवहरूमा धेरै बस्न थालेपछि हिउँ पग्लनेछन् र हाम्रा मानिसहरूले पिउने, सिँचाइ गर्ने प्रशस्त पानी पाउन सक्छन् । चन्द्रमामा पनि पानीको धेरै दु:ख छ । हाम्रा नेताहरूको योजना यो पनि छ कि हामीकहाँ अतिवृष्टि गर्ने बादलहरूको संकलन गरेर, भण्डारण गरेर त्यसलाई चन्द्रमामा पठाउने । यसले गर्दा चन्द्रमामा राम्रोसँग वर्षा हुन सक्छ र यहाँ पनि बाढी नियन्त्रण गर्न मद्दत पुग्छ । नेताहरूले नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिकामा आफ्नो प्रभुत्व स्थापना गर्ने प्रयास गरे । ललिता निवासको सिस्नोघारीमा धनाढ्यको बस्ती बसाउन पहल गरे । तर, मानिसहरूले कुरा नबुझेर सरकारी जग्गा हडपेको आरोप लगाए । ए बाबा, सरकारी होस् कि असरकारी विकास भए भएन र भन्या ? ‘आफू ताक्छु मुढा, बन्चरो ताक्छ घुँडा’ भनेजस्तै नेताहरू समस्या समाधान गर्न खोज्छन्, तर कुरा नबुझेर तालीको साटो उल्टो गालीमात्र पाइरहेका छन् । हाम्रा नेताहरूले यति ठूलो योजनामा काम गरिरहेका छन्, यो जनताले देख्दै देख्दैनन् । पाँच पाँच वर्षमा पनि यो गरेन, ऊ गरेन भनेर गुनासा मात्र गरिरहन्छन् । जाबो ५ वर्षमा के हुन्छ एउटा देशको जीवनमा ? फेरि चुनाव जितेको पहिलो वर्ष स्वागत समारोह, जितको र्‍याली र झ्यालीमै बितिहाल्छ । दोस्रो वर्ष राजनीतिको दाउपेच सिक्नमै व्यस्त हुनुपर्छ । अनि सरकारी कर्मचारी, व्यापारीसँग तालमेल मिलाउँदैमा समय जान्छ । तेस्रो वर्ष खाने र खुवाउनेमै जान्छ । चौथो वर्ष त रिसाएका मतदातालाई फकाउन घर दैलो कार्यक्रममा पुग्नैपर्‍यो । पाँचौं वर्ष ठूला अर्थात् टिकट बाँड्ने नेताको सेवामा हाजीर हुन जानैपर्‍यो, नत्र टिकट पाउन असम्भव हुन्छ । ठूला नेताका समस्या पनि ठूलै हुन्छन् नि । आफ्ना कार्यकर्तालाई मात्र हप्काएर र फकाएर पुग्दैन । दिल्लीका सिल्ली र बेइजिङका बेइमानहरूलाई खुशी पार्नैपर्‍यो ।  यसरी मरिहत्ते गरेर जनताका लागि खट्दा पनि नेताहरूले काम गरेन भन्नेहरू त वास्तवमै अबुझ हुन् । ठूला नेताका योजना पनि ठूल्ठूलै हुन्छन् नि । नेताले काम गरेनन् भनेर गनगन गर्नुको सट्टा ठूला योजना कहाँ के के छन्, बत्ती बालेर भए पनि खोज्न शुरू गरे हुन्न ?

सम्बन्धित सामग्री

कागजमै थन्किए दुई दर्जन सुरुङमार्ग योजना

सरकारले महत्वाकांक्षी सुरुङ मार्ग योजना बनाए पनि कागजमै थन्किएका छन्। दुई दर्जन सुरुङ मार्ग योजना बनाए पनि एक योजना मात्र निर्माणाधीन रहेको छ।...

कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६औँ योजना

काठमाडौँ, ५ पुस । मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६औँ योजनाको तयारी गरिरहेको जनाएको छ । आयोजना कार्यान्वयनका क्रममा के कस्ता समस्या देखिए, समाधानका लागि गरिएका प्रयास प्रभावकारी भए वा भएनन् यी र यस्तै प्रश्नको उत्तर खोज्दै जनअपेक्षा सम्बोधन गर्ने गरी […]

हायरको चाडबाड योजना

चाडबाडको विशेष अवसरमा ‘हायर’ ले आकर्षक योजना ल्याएको छ। योजना अनुसार हायरको रेफ्रिजेरेटर तथा वासिङ मेसिन खरिद गर्दा ‘स्योरसट गिफ्टह्याम्पर’ पाइनेछ।...

आइएमइको नयाँ योजना

आइएमइले नयाँ वर्षको अवसरमा ‘७ मा ७ तपाइको मेहनतमा हाम्रो साथ’ भन्ने नारासहित नयाँ योजना सार्वजनिक गरेको छ ।...

सुदूरपश्चिमको पहिलो पञ्चवर्षीय योजना सार्वजनिक

सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म लागू हुने पञ्चवर्षीय योजना प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष त्रिलोचन भट्टले शुक्रबार सार्वजनिक गरेका हुन् । आयोगले सो योजना सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले पञ्चवर्षीय योजना निर्माण सम्पन्न अहिले भए पनि त्यसको अवधारणा पत्र, […]

सानिमा बैंकको योजना

सानिमा बैंकले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर नेयाँ योजना सार्वजनिक गरेको छ। बैंकले सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना सार्वजनिक गरेको हो।...

सस्तोडिलको छठ पर्व योजना

सस्तोडिलले ‘महा छठ पर्व’ योजना सुरु गरेको छ । जाडो मौसमका लागि मिन्त्राको नयाँ कलेक्सन लन्च गर्दै सस्तो डिलले विभिन्न छुटसहित तीन दिने योजना ल्याएको हो । यस योजनामा ग्राहकहरुले मिन्त्राको आउँदो नयाँ जाडोयामका कलेक्सनमा किनमेल गर्न सक्नेछ कम्पनीले जनाएको छ ।तीन दिने योजना नोभेम्बर १० देखि १२ नोभेम्बरसम्म सञ्चालन हुनेछ । सो योजना अन्तर्गत […]

योजना तर्जुमा दिग्दर्शन बनाउँदै प्रदेश योजना आयोग

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले योजना तर्जुमा दिग्दर्शन तयार गरिरहेको छ ।आयोगका उपाध्यक्ष केशरबहादुर साउदले आयोगले दिग्दर्शन तयार हुने चरणमा पुगेको बताए । प्रदेश योजना अयोगले योजना तर्जुमा किताबलाई केही दिनमै अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । सो क्रममा आयोगले योजना तर्जुमा दिग्दर्शनमा समेट्नका लागि सरोकारवालाहरुको सुझाव संकलन गरेको छ […]