विगत १ दशकयता नेपालमा भान्साका विद्युतीय साधनहरूको आयातमा उल्लेख्य वृद्धि भएको पाइन्छ । आर्थिक वर्ष (आव) सन् २००८/०९ मा करीब रू. १ अर्ब १४ करोड बराबर रहेकामा आव २०२०/२१ मा यस्ता वस्तुहरूको आयात रू. ८ अर्ब १९ करोड जति पुगेको छ । यस अवधिमा यी वस्तुको आयातको वार्षिक औसत वृद्धिदर करीब १९ प्रतिशत रहेको छ भने आव २०१९/२० को तुलनामा आव २०२०/२१ मा यी वस्तुको आयातमा करीब ३९ प्रतिशतको वृद्धि देखिएको छ ।
विद्युत्को सहज आपूर्ति, भविष्यमा आपूर्तिको सुनिश्चितता, एलपी ग्यासको आपूर्तिमा देखिएको अनिश्चितता तथा मूल्य वृद्धि, जग्गाको बढ्दो मूल्य, रेम्यिान्सबाट देखिने समृद्धि तथा भान्साका विद्युतीय उपकरणहरूको प्रयोग तुलनात्मक रूपमा सस्तो पनि पर्ने भएकाले भान्सामा प्रयोग हुने उपकरणमा विद्युतीय उपकरणको उपयोगमा यसप्रकारको वृद्धि देखिएको हो ।
भान्साका विद्युतीय उपकरणको आयातमा भारतको अंश अत्यधिक रहेको छ । त्यसपछि चीन रहेको छ । भान्साका विद्युतीय उपकरणका उपकरणका अन्य स्रोत मुलुकमा इटाली र मलेशिया प्रमुख रूपमा रहेका छन् ।
यसरी आयात हुने भान्साका उपकरणहरूमा फ्रीज, रेफ्रिजेरेटर, भाँडा माझ्ने साधन, इन्डक्शन चूल्हो, माइक्रोओभन, हिटर, टोस्टर चिया र कफी पकाउने उपकरण आदि रहेका छन् ।
यसरी ठूलो परिमाणमा भान्साका विद्युतीय उपकरणहरू आयात भइरहँदा यसबाट स्पष्ट रूपमा यी वस्तुहरूको नेपालमा आकर्षक बजार रहेको तथा भविष्यमा यस्तो उपभोगमा गुणात्मक वृद्धि हुने संकेतहरू प्राप्त भएका छन् । ग्रामीण विद्यतीकरणको चरण पूरा हुँदै गर्दा, दाउरा, गुइँठा भुस आधारित चूल्होको विस्थापान हुँदै गर्दा तथा दाउरामाथिको पहुँच असहज हुँदै गर्दा भविष्यमा एलपी ग्यास हुँदै भान्साका विद्युतीय उपकरणहरूको मागमा व्यापक वृद्धि हुने देखिएको छ । घरायसी खपतलाई प्रोत्साहन हुने गरी विद्युत्का दरहरू निर्धारण हुँदै जाँदा भान्साका विद्युतीय उपकरणहरूको प्रयोग गर्न प्रवृत्तिमा अझ प्रोत्साहन मिल्न जाने र यसले यस्ता वस्तुहरूको मागमा थप आकर्षण पैदा हुने निश्चित छ ।
गत आर्थिक वर्षमा मात्रै भान्साका करीब रू. ८ अर्बभन्दा बढीका विद्युतीय उपकरणहरूको आयात भएको छ । विगत १३ वर्षको आयातको वृद्धिदरलाई भविष्यमा अझ वृद्धि हुने अनुमानमा बीच नेपालमा यस्ता उपकरण उत्पादन गर्ने उद्योगहरूको स्थापना र विकासको प्रचुर सम्भावना रहेको देखिन्छ । यस सम्भावनालाई व्यवहारमा उतार्नमा सर्वप्रथम प्राविधिक रूपमा जटिल खालका उपकरणका जडान उद्योगहरू स्थापना गर्न जरुरी छ । यस्ता जडान उद्योगहरू नेपाली र सम्बद्ध माउ कम्पनीको संयुक्त लगानीमा स्थापना गर्ने नीति अंगीकार गरिनुपर्छ । दोस्रो, यस्ता माऊ कम्पनीहरू भारत र चीनको बजारलक्षित गरी नेपालमा उत्पादन युनिटहरू स्थापना गर्न चाहन्छन् भने यसका लागि पनि बहुराष्ट्रिय कम्पनी मैत्री नीतिगत व्यवस्थाहरू हुन जरुरी छ । तेस्रो, भान्साका विद्युतीय उपकरणहरूका सहायक उद्योगहरू विकास पनि समानान्तर रूपमा हुन आवश्यक देखिन्छ ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष भान्साका विद्युतीय उपकरणहरूको स्वदेशमा उत्पादनको आधार बलियो बनाउन अनुसन्धान, विकास र नवप्रवर्तनका क्षेत्रमा नेपाल सरकार र निजीक्षेत्रको सहकार्यमा बृहत्तर मात्रामा लगानी गर्नु आवश्यक देखिन्छ । विशेष गरी नेपाली भान्सा र पकवान सुहाउँदा उपकरणहरूको विकास गर्न यस्ता गतिविधिहरू केन्द्रित हुनुपर्ने देखिन्छ ।
भान्साका विद्युतीय उपकरणहरूको उत्पादन,, अनुसन्धान, विकास र नवप्रवर्तनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा पनि विशेष जोड दिनुपर्ने देखिन्छ । यसका लागि विदेशका नेपाली विद्यार्थीहरूलाई प्राप्त हुने छात्रवृत्ति, स्वदेशका प्राविधिक कलेज र शीपविकास तालीम केन्द्रहरूका गतिविधिहरूलाई भान्साका विद्युतीय उपकरणहरूको उत्पादन, सुधार तथा मर्मत सम्भारका प्रयोजनका समेत उपयुक्त हुने गरी व्यवस्थाहरू हुन जरुरी छ । यी गतिविधिले भान्साका विद्युतीय उपकरणहरू उत्पादन उद्योगलाई चाहिने सबै प्रकारका जनशक्तिहरूको आपूर्ति सुनिश्चित गर्ने देखिन्छ ।
यसैगरी भान्साका विद्युतीय उपकरणहरूको स्थापना, सञ्चालन र विकासलाई प्रोत्साहन हुने गरी प्रोत्साहनात्मक, उत्प्रेरणात्मक र संरक्षणात्मक नीतिहरू तर्जुमा गरी लागू गर्न पनि त्यत्तिकै जरुरी छ । भान्साका विद्युतीय उपकरणहरूको स्वदेशमै उत्पादनमार्फत देशभित्र व्यापक मात्रामा रोजगारी सृजना गर्ने र जडान उद्योगको मूल्ययोगमा वृद्धि गर्दै जाने नीतिहरू अंगीकार गरिनुपर्छ । यी प्रोत्साहन, उत्प्रेरणा र संरक्षणको परिमाण, परिणाम र आवृत्तिलाई नेपालको भूपरिवेष्टित अवस्थिति, समूद्रसम्मको असहज पहुँच, यातायातका विधिहरू तुलनात्मक रूपमा महँगा मोडहरूको प्रयोग तथा नेपालको औद्योगिक गतिविधिको स्तरसमेतलाई दृष्टिगत गरी निर्धारण गरिनु आवश्यक देखिन्छ ।
नेपालको विद्युत् आपूर्तिको स्रोत हरित ऊर्जाका रूपमा परिचित जलविद्युत् रहेको र वर्तमान जलवायु परिवर्तनलाई नियन्त्रण गर्न यस्तो विद्युत् सहायकसिद्ध हुन जाने देखिन्छ । यसले प्रत्यक्ष र परोक्ष दुवै रूपबाट वैश्विक तापमान वृद्धि नियन्त्रणमा निश्चय नै नेपालको आकारअनुसारको योगदान दिने देखिन्छ । यस अवस्थामा नेपालमा उत्पादित यस्ता उपकरणहरूलाई कावर्न फ्री ऊर्जाबाट उत्पादित वस्तुहरूको ब्रान्डमा विदेशमा निर्यात गर्न सक्ने सम्भावना अधिक रहेको छ । यस पक्षलाई उजागर गर्दै भान्साका विद्युतीय उपकरणहरूको निर्यातमा नेपालले आफ्नो संयन्त्र परिचालन गर्नुपर्ने देखिन्छ । जलविद्युत्बाट उत्पादित कार्बन उत्सर्जन मुक्त उत्पादनका रूपमा यस्ता वस्तुहरूको बजार प्रवद्र्धन हुन जरुरी छ । यसभन्दा पनि महत्त्वपूर्ण पक्ष भनेको यस उद्योगको उत्पादन लागत न्यूनीकरण र छिमेकी मुलुकका उत्पादनसँग प्रतिस्पर्धी बनाउनु नै हो । यसका लागि भान्साका विद्युतीय उपकरणहरूको पार्टपुर्जा आयात, भान्साका विद्युतीय उपकरणहरूको उद्योगहरू स्थापना गर्दा तिर्नुपर्ने शुल्कहरू एवम् यस व्यवसायको कारोबारलाई अनन्तकालीन करमुक्त क्षेत्रका रूपमा घोषणा गर्न जरुरी छ । यस व्यवसायलाई करमुक्त क्षेत्र घोषणा गर्दा यसले भारत र चीन दुवैतर्फका ठूला लगानीकर्ता आकर्षित हुने, स्वदेशी लगानीकर्ताहरू पनि ढुक्कका साथ लगानी गर्न उत्साहित हुने तथा नेपाली उद्योगका उत्पादनहरू विदेशी उत्पादनसँग प्रतिस्पर्धी भई नेपाल भान्साका विद्युतीय उपकरण उद्योगहरूको क्षेत्रीय केन्द्र बन्ने निश्चित छ ।
उपरोक्त तथ्य, तथ्यांक र परिवेशलाई दृष्टिगत गर्दै नेपाललाई भान्साका विद्युतीय उपकरण उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकार र निजीक्षेत्रबाट विशेष पहल हुन आवश्यक देखिन्छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।