ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा २१ जीर्ण सामुदायिक विद्यालयको पक्की भवन बन्ने भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत उक्त संख्यामा विद्यालयको चार र दुईकोठे पक्की भवन बन्न लागेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत पूर्वाधार संरचना निर्माण तथा आइसिटी ल्याब व्यवस्थापन गर्ने गरी देशभरका विद्यालयलाई छनोट गरेको छ । मन्त्रालयको छनोटमा परेकामध्ये भवन संरचना अभाव रहेका ताप्लेजुङका २१ वटा विद्यालयको पक्की भवन बन्ने भएका हुन् ।
जिल्लाका १२ विद्यालयको चारकोठे र ९ वटा विद्यालयको दुईकोठे भवन बन्ने भएको छ । मेरिङ्देन गाउँपालिकामा सिंहकाली माध्यमिक विद्यालय, सुर्के माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयको चारकोठे पक्की भवन बन्ने भएको छ । यस्तै, मैवाखोला गाउँपालिकामा महेन्द्र माध्यमिक विद्यालय, आठराई त्रिवेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र जलकन्या आधारभूत विद्यालयको चारकोठे भवन बन्ने भएको छ ।
त्यस्तै, फुङ्लिङ नगरपालिकाको युवा वर्ष माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकामा इन्द्रावती आधारभूत विद्यालय साब्लाखु र फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालयको चारकोठे पक्की भवन बन्नेछ ।
पाथीभरा याङ्बरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकामा बाल्देन माध्यमिक विद्यालय र सिरिजंगा गाउँपालिकामा दुर्गा माध्यमिक विद्यालयको चारकोठे भवन बन्ने भएको छ । यसैगरी फुङलिङ नगरपालिकामा शान्ति आधारभूत, बगरबारी आधारभूत, याङ्लिजुङ आधारभूत र फुङलिङ आधारभूत विद्यालयको दुईकोठे पक्की भवन बन्ने भएको छ ।
त्यस्तै, सिदिङ्वामा आँगेपा आधारभूत विद्यालय, मिक्वाखोलामा ओझागाउँ आधारभूत, पाथीभरा याङ्बरकमा त्रिभुवन आधारभूत विद्यालयमा दुईकोठे भवन बन्ने भएको छ । सिरिजंगाको सुदाप आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालयको दुईकोठे भवन बन्ने भएको छ । रासस